२८ आश्विन २०८३, बुधबार

किरण गुरुङ अहिलेसम्मकै ‘हाई प्रोफाइल’ प्रदेश मन्त्री (अन्तर्वार्तासहित)

16.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ चैत । नेकपा एमाले स्थायी समितिका सदस्य किरण गुरुङ प्रदेश सरकारको मन्त्री बन्ने अहिलेसम्मकै ‘हाइप्रोफाइल’ नेता बनेका छन् ।

एमाले स्थायी समिति सदस्यमा रहेका कोही पनि नेता अहिले प्रदेश सरकारको मन्त्री छैनन् । मुख्यमन्त्रीको आकांक्षी रहेका गुरुङ यसअघि नै केन्द्रीय मन्त्री भइसकेका हुन् । उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहिलो सरकारमा बन मन्त्री बनेका थिए ।

स्रोतका अनुसार, प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आग्रहमा उनी मन्त्री बन्न राजी भएका हुन् । पार्टीका सचिव समेत रहेका पृथ्वीसुब्बालाई यसअघि किरणले सर्वसम्मत मुख्यमन्त्री बन्ने बाटो खोलिदिएका थिए । किरण एमालेको प्रदेश नम्बर ४ का प्रमुख समेत हुन् । देशको मर्यादाक्रममा प्रदेशको मुख्यमन्त्री केन्द्रीय मन्त्री सरह र मन्त्री राज्यमन्त्री सरह हुन्छ । उनीभन्दा जुनियर नेताहरु केन्द्रीय मन्त्री भइरहँदा किरणले मन्त्री पद स्वीकार्नुलाई प्रदेश नम्बर ४ का एमाले नेताहरुले प्रशंसा गरेका छन् ।

मन्त्री भएपछि दैनिक नेपालसँग कुरा गर्दै नवनियुक्त अर्थ तथा योजना मन्त्री गुरुङले ६ महिनाभित्र देखिने गरी काम गर्ने बताए । यस्तो छ दैनिक नेपालको ५ प्रश्न :

मन्त्री बन्नुभयो, के योजना बनाउनुभएको छ ?

प्रदेश सरकार अहिलेको नयाँ संरचना हो । त्यसैले धेरै संरचनाहरु बनाउनुपर्ने छ । संरचनाका साथसाथै बिभिन्न ऐन, कानुन र नियमावली पनि बनाउनुपर्छ । सोही अनुसार दीर्घकालिन योजना बनाएर प्रदेशको समृद्धि र विकासलाई अगाडि बढाउँछु ।

त्यसो भए ऐन, नियम र योजना बनाउन कति समय लाग्छ ?

करिब ६ महिना लाग्ला । ६ महिनाभित्र गुरुयोजना तयार गरेर समृद्धिको खाका अगाडि बढाउनुपर्छ । अन्य कुराहरु हुँदै जान्छ ।

अहिले त प्रदेशले के गर्ने भन्ने नै अन्यौल देखिन्छ नि ?

धेरै समय रहन्न । ६ महिनामा हट्छ । हामी गति लिन्छौँ ।

तपाईं त केन्द्रीय मन्त्री भइसक्नुभएको, प्रदेश मन्त्री बन्दा कस्तो अनुभव गर्नुभएको छ ?

हिजोको व्यवस्था र अहिलेको व्यवस्था फरक छ । त्यसैले भूमिका पनि फरक हुन्छ । हिजो केन्द्रीय मन्त्री हुँदा केन्द्रमा मात्र रहिन्थ्यो ।

अब चाँहि ?

अब स्थानीय तहलाई बलियो बनाउने हो । विकासको ढाँचा बनाएर स्थानीयस्तरमा संरचना बनाउनेछु । त्यस हिसाबले हेर्दा मेरो दयित्व पनि फरक भएको छ ।