– विनोद ढकाल
१० वर्ष निरन्तर अध्यापन गराएपछि जुम्लाको चन्दनाथ गाउँपालिका घट्टेकुलोका प्रेमबहादुर महतको मनमा व्यावसाय गर्नैपर्ने कौतुहलताले कुतकुत्यायो । पढाएर मात्र नहुने बरु कुनै उद्योग स्थापना गर्नैपर्छ भन्ने सोचले डेरा जमायो, उनको मतिष्कमा । लामो सोचपछि उनी निर्णयमा पुगे, ‘गाउँमा आधुनिक मदिरा उद्योग खोल्ने ।’ त्यसअघि साथीभाईले हौसाए, कसरी उद्योग स्थापना गर्न सकिन्छ भनेर उनले लिएको तालिम र परामर्शले पनि बल पुरायो । भन्छन्,‘त्यसपछि म गाउँमा एउटा ब्रान्डी र वाइन उत्पादन गर्ने उद्योग खोल्नका लागि कस्सिएँ ।’
०७१ सालदेखि जुम्लाको चन्दनाथ गाउँपालिका–७ मा उनको वाइन उद्योगले गति पायो । प्रेमबहादुर अमृत साइन्स क्याम्पस हुँदै भारतका विश्वविद्यालयमा पनि अध्ययन गरेका विद्यार्थी हुन् । अध्यापन गरेर जीवन गुजारा चलाइरहेका उनमा कर्णाली प्रदेशको विकट जिल्लामा उद्योग स्थापना गर्ने रहर त पूरा भयो । तर, रहरले मात्र काम गर्दो रहेनछ । यसको निरन्तरताको ‘कर’ उनका लागि बाध्यता बनिदियो । तर, यो बाध्यतामा उनी त्यति दुखी छैनन् । ठान्छन्, धेरैले रोजगारी पाएका छन् । गाउँले उद्योग पाएर गति लिएको छ । तर यसलाई सञ्चालन गर्ने सामाजिक र प्राविधिक कठिनाईलाई कतै गुनासो गर्ने मौका नै पाएनन्, प्रेमले । भन्छन्, ‘०६८ सालमा एपी ब्रान्डी उद्योग दर्ता गराएँ । तर जब सञ्चालनमा आयो अनि धेरै चुनौतिको पहाड थपियो ।’
मेसीनरी चिज भएकाले जुम्लामा मेन्टेनेन्श गर्ने खर्चालु मानवस्रोत, वर्षे फलको उत्पादन भएकाले त्यसको भण्डारणदेखि परिचालन उनका निम्ति चुनौति बन्यो । तर, गुणस्तरीयतामा कहिले पनि कमजोरी नराख्ने प्रण गरे । कहिलेकाहीँ कतै गल्ती त गरिएन भन्ने पनि लाग्छ उनमा । तर, चाहनाको काउछोले रोपेको उद्योग अघि बढाउन हस्ते माथि हैंसे गरिरहेका छन् ।
‘कलेज र स्कुलमा अध्यापन गराएर महिनामा राम्रो गुजारा चलाउन सकिन्थ्यो, अहिले खोलेको उद्योगका कारण समाजको सोचलाई चिर्दै अघि बढ्नु परेको छ’, उनी भन्छन्, ‘यसलाई स्थापित गराउनका लागि निक्कै चुनौति थपिएका छन् । गाउँमा पढेलेखेको केटोले उद्योग सञ्चालन गरेको छ भन्दा पनि रक्सीभट्टी खोलेर बिग्रियो भन्ने धेरै भए’, उनी भन्छन्, ‘यसले गाउँका सय भन्दा बढी मानिसलाई रोजगारी दिएको, रोजगारी पाएको भन्ने विषयमा कहिल्यै बहस भएन ।’
सम्पत्तिका नाममा भएको जग्गाजमिनलाई धरौटी राखेर बैंकसँग ऋण लिए । उद्योग चलाउनु असमान्य काम रहेको ठहर गरेका उनी भन्छन्, ‘यो स्थापना भन्दा पनि यसलाई निरन्तर चलाउनका लागि निक्कै चुनौति देखेँ । २ करोडमा उद्योग स्थापित त भयो तर निरन्तर सञ्चालनका लागि कम्तीमा २० करोड चाहिने रहेछ ।’
स्याउको मात्र प्रयोगमा उनले खोलेको मदिरा उद्योग त्यति सहज चलिरहेको छैन । वर्षमा खपत हुने सय मेट्रिकटन स्याउ खरिदका लागि मौसममा ठूलो संख्यामा मजदुर र ठूलो रकम चाहिन्छ । उनी भन्छन्,‘ ती सबै काम लाग्दैनन् । ४० मेट्रिकटन त खेर जान्छ । त्यहाँमाथि नगदे बाली नै भएका कारण एकैपटक सबै स्याउको रकम तिर्नुपर्दा अलि चुनौति नै छ ।’
उनको चुनौति यतिमात्र होइन । विद्युतको नियमित आपूर्तिमा हुने समस्या, कोल्ड स्टोरेज स्थापनाका लागि चाहिने रकम नहुँदा धेरै स्याउ खेर जाने गरेका छन् । उनले स्पाइनी ब्याब्लरका नाममा ब्रान्डी र एपी वाइन उत्पादन गर्ने गरेका छन् । त्यसले स्वदेशी स्याउको स्वाद दिने गरेको छ । स्पाइनी ब्याब्लर भनी दुर्लभ नाम राख्ने उनको भित्रि चाहनाको कारण खोल्दै भने, ‘नेपालमा मात्र पाइने चरा काँडे भ्याकुरको परिचयका लागि पनि यो नाम राखेको हुँ ।’
प्रेम अहिले यही उद्योगको प्रोत्साहनका लागि बजारमा उत्पादन ठूलो परिमाणमा पुराउने ध्येय राख्छन् । तर, विद्युत आपूर्ति, कोल्डस्टोरेजको कमी र उनको उत्पादनलाई ढुवानीका लागि आवश्यक सडकको समस्याले छेकिरहेको ठान्छन् । ‘सबै कुराको सहजता भए यो उत्पादनलाई विश्वव्यापी बनाउने योजना छ’, उनी भन्छन् । नियमित र देशभरका सबै उद्योगमा उत्पादन पुराउनका लागि देशभर रहेका कम्तिमा ४० हजार शोरूपमा नियमित पुराउने लक्ष्य उनले राखेका छन् । यही लक्ष्यलाई छुनका लागि उनी चुनौति छचोल्दै उपल्लो तहसम्म कुराकानीमा व्यस्त छन् ।















प्रतिक्रिया