– शिवजी श्रेष्ठ
प्रधानमन्त्री खड्गप्रसाद ओली जब नेकपा एमालेका अध्यक्ष निर्वाचित हुँदै थिए, उनले भनेका थिए ‘अब मलाई पछि गरुँला भन्ने समय छैन’, अर्थात उनको संकेत आफ्नो स्वास्थ्य अवस्थाप्रति थियो । अहिले दोस्रोपटक प्रधानमन्त्री भएपछि मन्त्री सचिव अनि सुरक्षा निकायका प्रमुखहरुलाई राखेर निर्देशन दिएछन् – ‘यो सरकारलाई असफल हुने छुट छैन, मरेर जाँदा केही लान पाइदैँन ।’
बहुदलीय ब्यवस्थाको पुनर्स्थापना पश्चात दुईवटा पार्टीका दुई शीर्षस्थ संघर्षबाट खारिएर आएका नेताहरुले देश बनाउने र आफू राजनेता हुने अवसर पाए, तर गुमाए । जो एउटा युगलाई हाँकेर अगाडि बढेका थिए ।
नेपाली काँग्रेसको पूर्ण बहुमतका साथ निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र संसारलाई चकित पार्दै नेपालमा जनयुद्धको नेतृत्व गरेर प्रधानमन्त्रीमा निर्वाचित नेकपा माओवादीका पुष्पकमल दाहाल प्रचण्ड–यी दुवै प्रधानमन्त्रीसँग संघर्षको कथा र भावना त थिए, तर सरकारमा पुगेपछि के गर्नेछु ? भन्ने आफ्नो न त नीति थिए, न कार्ययोजना ।
गिरिजाप्रसाद कोइराला र प्रचण्ड–यी दुवै प्रधानमन्त्रीसँग संघर्षको कथा र भावना त थिए, तर सरकारमा पुगेपछि के गर्नेछु ? भन्ने आफ्नो न त नीति थिए, न कार्ययोजना ।
गिरिजाबाबुले जीवनको अन्त्यमा लिपिबद्ध गराएका आफ्नै कुुरामा, ‘त्यत्रो आन्दोलनको नेता अन्तरिम प्रधानमन्त्री चुनावमा हार्नुहुन्छ भन्ने चिताउने कुुरै थिएन, चुनावपछि पनि उहाँ नै प्रधानमन्त्री बन्नुहोला भन्ने लागेको थियो । तर अचानक प्रधानमन्त्री बन्नुपर्यो, प्रधानमन्त्री हुँदा मलाई अलिकति घडवडाहट पनि भयो । के गर्ने कसो गर्ने ? भनेर । सरकारलाई कसरी अगाडि बढाउने ? भन्ने नीति केही थिएन । कसरी अघि बढ्ने ? समाजवादको व्याख्या मात्र गरेको छ तर त्यसको रुपरेखा केही थाहा छैन’ भन्ने स्वीकारोक्ति व्यक्त गर्नुभएको छ ।

सशस्त्र संघर्ष अनि शान्तिपूर्ण संघर्ष दुवै किसिमको संघर्षमा नेतृत्वदायी भूमिका निभाएर आएका, ३० वर्ष लगातार लडेका, पारिवारिक उत्तरदायित्वबाट मुक्ति पाइसकेका, जीवनको उत्तराद्र्धमा पुगिसकेका व्यक्तित्व जसले देशलाई एउटा गतिलो बाटो दिनसक्थ्यो । तर विपक्षीसँगको संघर्ष, पार्टीभित्रकै कलहमा अल्मलिएर सरकारले बाटो बिराउन पुग्दा जुन अभियान अगाडि बढ्न सक्थ्यो त्यो हुन सकेन । सरकार र पार्टीभित्र पकड गर्ने बाटोमा अल्मलिनु पर्दा न त सरकार, न त कर्मचारीतन्त्र नियन्त्रणमा रहन सक्यो । यही बीचमा मध्यावधिमा पुगेर त्यो सरकार पनि टुंगियो । अन्य कुरामा नअल्मलिई ‘म त ३० वर्ष संघर्षको नेतृत्व गरेर आएको नेतालाई कसैको लागि केही गर्नुपर्ने छैन, देश बनाउने दायित्व मात्रै हो’ भन्दै दुई चार जना भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्दै अगाडि बढिदिएको भए खुमबहादुर खड्का, चिरन्जिवी वाग्ले, जयप्रकाश गुप्ता जस्ता नेताहरु आख्तियार धाउने थिएनन् । कमल थापा, सूर्यबहादर थापाहरुको पुनरोदय हुने थिएन ।
दुई चार जना भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्दै अगाडि बढिदिएको भए खुमबहादुर खड्का, चिरन्जिवी वाग्ले, जयप्रकाश गुप्ता जस्ता नेताहरु आख्तियार धाउने थिएनन् । कमल थापा, सूर्यबहादर थापाहरुको पुनरोदय हुने थिएन ।
मध्यावधिपछि बनेको कम्युनिष्ट सरकारका प्रधानमन्त्री मनमोहन अधिकारी स्वच्छ त थिए तर बलिया थिएनन् । डाडु पन्यू सबै माधव नेपालका हातमा थिए । तसर्थ त्यो सरकार प्रचारमुखी अभियानमा लाग्दा लाग्दै अवसान भयो । यसबीचका सरकारहरु हिसाबकिताबमा नै आउने जाने भए । जब जनयुद्धको शन्तिपूर्ण अवतरणपछिको चुनावमा माओवादी सबैभन्दा ठूलो भएर उदायो अनि पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भए, तब जनतामा यो सरकारले छलाङ मार्न खोज्छ कि भन्ने आशा देखा परेको थियो । तर, २०६३ सालमा बालुवाटारमा प्रथमपटक प्रकट हुँदा नै नेपाली सेनाप्रति दुर्वाच्य बोलेर अगाडि आएका प्रचण्डले नेपाली सेनासँग सम्बन्ध सामान्यीकरण गर्न सकेनन् र ३ पति (राष्ट्रपति, पशुपति र सेनापति)को विवादमा अल्मलिएर बीचमा भाँचिए ।
दुई दशक भूमिगत, एक दशक जनयुद्धको नेतृत्व गरेको, छोराको पढाई बीचमै टुटाएर सँगसँगै बन्दुक बोकाएर हिँडेको एउटा संघर्षबाट देशको बाटो परिवर्तन गर्छु भनेर हिँडेको व्यक्ति सरकारमा आउने वित्तिकै ‘म त जनयुद्ध हाँकेर देश बनाउन युद्धमा होमिएको व्यक्ति हुँ कसैले तलमाथि नगरोस्’ भन्दै कडाईका साथ अगाडि बढेको भए ? सबैले स्वीकार्थे । किनकी त्यसबेलासम्म उनको परिक्षण बाँकी नै थियो । तर तीनले पनि अवसर गुमाए । सायद यी नेताहरुले समकालिन राजनीतिका होनहार नेल्सन मण्डेला र ली क्वान यु पढेनन् वा सुनेनन् । यी नेताहरुले लड्दा र संघर्ष गर्दा देशलाई कसरी नेतृत्व गर्छु भन्ने सोचेका रहेनछन् वा तयारी गरेनछन् । अहिले यी नेताहरुले नेल्सन मण्डेलाको त्यो अन्तर्वार्ता पढिदिएको भए ? जुन अन्तर्वार्तामा मण्डेलालाई सोधिएको थियो – ‘तपाईंले २७ वर्ष जेलमा कसरी बिताउनु भयो ?’ मण्डेलाको जवाफ थियो – ‘जेलबाट रिहा भएपछि देश कसरी हाँक्छु भनेर योजना बनाएर बिताएँ ।’
अहिले बाम गठबन्धनबाट प्रधानमन्त्रीमा निर्वाचित खड्गप्रसाद (केपी) ओलीले एउटा अवसर पाएका छन्, जसको सुविधाजनक प्रचण्ड बहुमत छ, उर्जाशिल पंक्ति साथमा छ, आन्तरिक र बाह्य परिस्थिति उनी अनुकुल छ । सबैभन्दा सहज उनको पारिवारिक दायित्वमुक्त अवस्थामा सकैलाई बनाउनुपर्ने, कसैको लागि केही गरिदिनुपर्ने वा कसैको लागि सम्झौता गरिदिनुपर्ने बाध्यात्मक परिस्थितिबाट उनी मुक्त छन् । जसलाई उनले एउटा अवसरको रुपमा प्रयोग गर्न सक्छन् । उनले अब पाउनुपर्ने र गुमाउनुपर्ने कुराहरु पनि केही भए जस्तो लाग्दैन । राम्रो पक्ष उनको आफ्नो उत्तराद्र्धमा जाँदै गरेको स्वास्थ्य स्थिति, इतिहासमा हिजो बनेका प्रधानमन्त्रीहरु, राजनेताहरु जसको शारिरीक अवसानपछि देशले, जनताले कति स्मरण गरिरहेका छन्, त्यति मनन गरिदिए उनलाई बाटो मिल्नेछ । आफ्ना उखान–टुक्के चिनारीलाई सकारात्मकतामा बदल्दै प्रतिपक्षको सकारात्मक आलोचनालाई सुनिदिने, अनि उनीहरुसँग बसेर ‘ल भन्नोस् के के गर्न सकिन्छ ? कसरी गरौँ ?’ भन्ने मानसिकताका साथ बस्ने प्रयास गरे सकारात्मक वातावरणको विकास हुन सक्दछ ।
प्रधानमन्त्री ओलीले सोच्नु पर्ने सबैभन्दा सकारात्मक पाटो भनेको भोलिको पिढीँले आफूलाई कसरी सम्झिउन भन्ने चाहन्छन् त्यही अनुसार आफूलाई अगाडि बढाउनु पर्ने हुन्छ । दक्षिण अफ्रिकाका राष्ट्रपति नेल्सन मण्डेला वा भर्खर निवर्तमान भएका ज्याकोव जुमा, कसरी सम्झिउन देशले ? सिंगापुरका लि क्यान यु ? अथवा मलेशियाको महावीर मोहम्मद ?
तपाईं केपी ओलीले गिरिजाप्रसाद कोइरालाको ‘आफ्नै कुरा’ पढ्नुहोस्, लि क्वान यु, अनि नेल्सन मण्डेला पढ्नुहोस् । अहिले नेपाललाई आक्रामक ओली हैन्, अग्रसर ओलीको खाँचो छ, जसले नेपालको भावी नक्सा बदल्न सकोस् । तपाईंको परिचय आक्रामक अनि विरोधीको कुरा भुईंमा खस्नै नदिने ‘उखान टुक्के’ ओलीको छ, जसलाई समयानुसार परिवर्तन गर्नु जरुरी छ । गिरिजाबाबुले जीवनको उत्तरार्धमा लिपिबद्ध गराउनु भएको ‘आफ्नै कुरा’मा कट्टर कम्युनिष्ट विरोधीका रुपमा चिनिएका कारण मैले राजनीतिक रुपमा निकै संघर्ष गर्नुप¥यो, र अवरोधको सामना गर्नुप¥यो तर कम्युनिष्ट पनि त परिवर्तन हुँदारहेछन् ।
सिंगापुुरका निर्माता लि क्वान यु पहिलोपटक प्रधानमन्त्री हुँदा ३५ वर्षका मात्रै थिए, उनी सक्दो चाँडो राजनीतिक आर्थिक र सामाजिक समस्या समाधान गर्न चाहन्थे, देशको आर्थिक अवस्थालाई सुदृढ बनाउनु महत्वपूर्ण कुरा थियो । तसर्थ अर्थ मन्त्रालय र गृह मन्त्रालयलाई दह्रो बनाउनतिर लागे । यी दुई मन्त्रालय सबल भए भने मात्र सर्वसाधारणले चैनको श्वास फेर्न सक्छन् भन्ने सोँच राख्ने उनले देशको तत्कालिन परिस्थितिलाई नियन्त्रणमा लिन जासुसी संयन्त्र दरिलो बनाउनतिर लागे । प्रधानमन्त्री ओलीले यी कुरालाई मनन गर्नु जरुरी छ । अरु जे जस्तो भएपनि हिजो १४ वर्ष जेल जीवन बस्दा देखेका सपनालाई पुनःस्मरण गर्नु सान्दर्भिक छ ।
आफ्नो उपस्थितिलाई ओलीले कसरी स्थापना गर्न खोज्छन् ? वा सक्छन् ? त्यो समयकै हातमा छाड्दै इतिहासको एउटा कालखण्डले अवसर पाएर गुमाएको पात्रको रुपमा वा अवसरलाई सदुपयोग गरेर देशलाई मार्गदर्शन दिन सक्ने युगपुरुषको रुपमा सम्झिउन ?
इतिहास साह्रै निर्मम हुन्छ, वर्तमान सान्दर्भिक हुन नसकेर आफूलाई शक्तिशाली बनाउन खोज्नेहरुलाई रछ्यानमा लगेर थुपार्ने वा सान्दर्भिक रुपमा अगाडि बढ्न खोज्नेहरुलाई इतिहासले राम्ररी नै स्थापित गरेको देखिन्छ । तसर्थ आफ्नो उपस्थितिलाई ओलीले कसरी स्थापना गर्न खोज्छन् ? वा सक्छन् ? त्यो समयकै हातमा छाड्दै इतिहासको एउटा कालखण्डले अवसर पाएर गुमाएको पात्रको रुपमा वा अवसरलाई सदुपयोग गरेर देशलाई मार्गदर्शन दिन सक्ने युगपुरुषको रुपमा सम्झिउन ? उनकै हातमा छ ।
गिरिजाबाबुले जीवनको उत्तरार्धमा अनुभुति गरेको स्वीकारोक्ति जसरी आफ्नो कतै अन्तिम कार्यकाल परिणामदायी बनाउने प्रयास गर्ने वा एउटै पुस्तामा देशको कायापलट गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गर्ने लि क्वान युबाट प्रेरणा लिने ? त्यो आफ्नै हातमा छ ।
अवसर पाएर गुमाएका नेताहरुमा गनिने वा अवसर पाएर सदुपयोग गर्न सक्ने सफल राजनेताको रुपमा कालान्तरसम्म स्थापित हुने ? वा सिंहदरवारको ग्यालरीमा एउटा फोटो टाँसेर फर्किने त्यो आफ्नै हातमा छ ।
दैनिक नेपालका नियमित लेखक श्रेष्ठ नेपाल प्रहरीका पूर्वडिएसपी हुन् ।















प्रतिक्रिया