– सरगम भट्टराई
गगन थापाले केपी ओलीलाई कटाक्ष गर्दा कांग्रेस बचाएको भनेर सन्तोषको सास फेर्ने देउवाले गगन थापालाई मनले उत्तराधिकारी ठान्दैनन्। बरु सदाबहार सत्ताचाट गर्ने बिजय गच्छदार हाबी छन्। कठै, कांग्रेस ! कठै बिपीको सपना !
कांग्रेसी नेताहरुले परिवर्तन पचाउन सक्दैनन् भन्ने पछिल्लो प्रमाण राजनैतिक रुपमा असक्षम शेरबहादुर देउवा पुनः संसदीय दलको नेता बन्नु हो। त्यसो त प्रकाशमान सिंह असाध्यै गतिला हुन् भन्ने होइन। यिनले पनि लौह पुरुष गणेशमानको बिरासत भजाएर श्वास थामेका छन्। तर चार चार पटक प्रधानमन्त्री भइसकेको मान्छे यति साह्रो पदलोलुप भइरहने र आफूलाई परिवर्तनका संवाहक भन्ने नेता तथा सांसदहरुले फेरि पनि उनै देउवालाई मरिमेटेर निर्वाचित गराउने दृश्य देख्दा कांग्रेस अब कहिल्यै नउठ्ने गरी सुत्ने ठोकुवा जो कोहीले पनि गरे हुन्छ । तर तीन तहको चुनाव सफलतापूर्वक सम्पन्न गराएकोमा यिनलाई धन्यवाद भने दिनै पर्छ।
बिपीको नाम जप्दैमा कांग्रेस सँधैभरि हराभरा हुन सक्दैन, पुष्ट हुन त पार्टीमा युवारुपी नयाँ नयाँ रुखहरु रोप्नुपर्छ। चुनाव चिन्ह रुख राख्दैमा फल बर्सने कुरा पनि भएन। पुराना बूढा रुख प्रति यति साह्रो आशक्ति देखाउने कांग्रेसी नेता कार्यकर्ताहरुले अब पार्टीमा आन्तरिक लोकतन्त्र छ भनेर त्यसैमा ऐजेरु भएर नबसे हुने हो तर कोही नेतृत्व दावी गर्न समेत हिच्किचाउँछ । पटकपटक शक्ति हस्तान्तरणका हल्ला पानीको फोका जस्तै उठ्दै प्याट्ट फुट्दै किन गर्छन् ? २०४६ सालपछि सबैभन्दा बढी समय सत्ता सोपान गरेको कांग्रेसले राजनीतिमा आएको बिसंगतिको जिम्मेवारी लिनुपर्छ, पर्दैन ?
२०४६ सालपछि सबैभन्दा बढी समय सत्ता सोपान गरेको कांग्रेसले राजनीतिमा आएको बिसंगतिको जिम्मेवारी लिनुपर्छ, पर्दैन ?
सत्तामा हुँदा इमान्दार न्यायमूर्तिलाई महाभियोग लगाउने कांग्रेस, पटकपटक देशका नदी नाला बेच्ने कांग्रेस, भ्रष्टाचारका नायकहरुलाई चोख्याएर एकाउन्न किलोको माल्यार्पण गर्ने कांग्रेस, तिनैलाई टिकट बिक्री समितिको हाकिम बनाउने कांग्रेस अनि ब्यक्तिगत रिसइबीमा जो कोहीलाई जता पनि लट्पटाउन, फसाउन खोज्ने कांग्रेस र हेर्दा हेर्दै यति साह्रो बदनाम भएको कांग्रेस यिनै देउवाकै कारण हो, देश राष्ट्रिय अन्तरराष्ट्रिय रुपमा कमजोर हुनु पनि यिनकै कारणले हो। अहिले बनेको बाम गठबन्धनले भर्खरै सत्ता सम्हालेर बिश्वासको मत लिदै गर्दा सरकारको काउन्ट डाउन शुरु भयो भन्ने कांग्रेसको बारेमा जनताले काउन्ट डाउन गर्दा कानमा तेल हाल्ने को हो ?
हिजो पञ्चायती ब्यवस्थामा डामिएको यिनको जिब्रोले आज लोकतन्त्रमा दोभाषे पाएको छैन, सयौँ नेता कार्यकर्ता भएर एक्लै तीर्थाटनमा हिँडे जस्तै गरी पार्टी र सरकारी कर्मकाण्ड यिनले कसैलाई छुनै दिँदैनन्।
हे पशुपतिनाथ, यी देउवाका ऐजेरु कांग्रेस नेताहरुलाई जरा देऊ । देउवालाई असल प्रतिपक्ष बन्ने सद्बुद्दि र प्रचण्ड बहुमत पाएका ओलीलाई भोलिको सुन्दर नेपाल बनाउने सत्कर्म देऊ । देशलाई प्रयोगशाला बनिरहनबाट बचाइदेऊ ।
हुन त कसै कसैले लेखिसके । कांग्रेसका दुई तिहाई सांसदले देउवालाई मन पराए, लोकतान्त्रिक बिधिबाट चुनाव भयो, उनले जितेपछि उनै नेता हुन्, हामीले मानेपछि अरुलाई टाउको किन दुख्नु ? तर हरेक राजनीतिक पार्टीमा हुने गतिविधिले जनतामा प्रत्यक्ष असर गर्छ भन्ने ती देउवाभक्तलाई सायद थाहा छैन होला ? पार्टीमा तिनको लगानी र चम्चागिरी होला तर कांग्रेस पार्टीले चन्द्रमामा हैन हामी सबैको साझा देश नेपालमै हो नि राजनीति गर्ने त !
पार्टीभित्र दोश्रो तेश्रो पुस्ताहरु जन्मन नपाउँदै भ्यासेक्टोमी गरेर बसेको छ देउवा नेतृत्व। हिजो कोइराला परिवारबाट बल्ल बल्ल उम्केको कांग्रेसमा गगन थापा, धनराज गिरी र चन्द्र भण्डारीहरु केवल काठको घोडा बनेर पार्टीमा अस्तित्वमा छन्। गगन थापाले केपी ओलीलाई कटाक्ष गर्दा कांग्रेस बचाएको भनेर सन्तोषको सास फेर्ने देउवाले गगन थापालाई मनले उत्तराधिकारी ठान्दैनन्। बरु सदाबहार सत्ताचाट गर्ने बिजय गच्छदार हाबी छन्। कठै, कांग्रेस ! कठै बिपीको सपना ! यिनलाई भाषण गर्ने बेला बिपीको बडो याद आउँछ, तर काम गर्दा बिजेपीको सल्लाह बिना डेग चल्दैनन्। कांग्रेसको यो रोगबाट अन्य पार्टीले नसिके उनीहरुको पनि यस्तै हाल हुनेछ।
त्यत्रो इतिहास र जनादेश भएको कांग्रेस यिनै देउवाकै कार्यकालमा चोइटिएर समाप्त प्रायः हुँदा नैतिकताको आधारमा राजिनामा दिनु त कता हो कता झन् पदमा टाँसिइरहन खोज्नु भन्दा राजनैतिक बेइमानी अरु के हुन सक्ला ? पार्टीभित्र भ्रष्टाचारीको दबदबा त्यस्तै छ, भारतको त्यत्रो क्रुर नाकाबन्दीलाई अन्तरराष्ट्रिय मञ्चमा नाकाबन्दीसम्म भन्न नसक्ने दास मनोवृत्ति पनि त्यतै छ। गन्हाएका भ्रष्टाचारीलाई हर्ताकर्ता बनाउने चलन त्यतै हाबी छ, सबैभन्दा बढी लोकतन्त्रको ब्याख्या पनि त्यहीँ हुन्छ, अनि केन्द्रदेखि टोलसम्मका गुटे कार्यकर्ता पनि त्यतै छन्। अझ प्रवासमा समेत गुटैपिच्छेका अघोषित प्रवक्ताहरु छ्यास्छ्यास्ती छन्। हुन त कांग्रेस बाहेक अरु सबै पार्टी ठीक छन् भनेको होइन तर यो स्तम्भ कांग्रेस र देउवाकै सेरोफेरोमा भएको हुनाले अरु बारे पछि कुरा गरौँला।
हाम्रै पालामा लोकतन्त्र र प्रजातन्त्रका लागि लडेको अभिभावक पार्टी कांग्रेस यिनै हठी देउवाका कारणले सकिएको देख्नु पर्ने भो, अरु कांग्रेसी नेताहरु देउवाको यो हर्कत हेरेरै मर्ने भए। कहिल्यै दिन नजान्ने सधै लिन मात्र जान्ने ‘लेउवा’ का कारण सक्किने भो । हुन त जनतालाई के दोष दिनु र ? जब नेताहरुले नै यस्तै नेता चुन्छन् भने देउवाको के दोष ? बिजयकुमारले भने जस्तै फेरि पनि देशले हैसियत अनुसारकै नेता पायो भन्नु बाहेक अरु के नै भन्न सकियो र ?
हे पशुपतिनाथ, यी देउवाका ऐजेरु कांग्रेस नेताहरुलाई जरा देऊ । देउवालाई असल प्रतिपक्ष बन्ने सद्बुद्दि र प्रचण्ड बहुमत पाएका ओलीलाई भोलिको सुन्दर नेपाल बनाउने सत्कर्म देऊ । देशलाई प्रयोगशाला बनिरहनबाट बचाइदेऊ ।















प्रतिक्रिया