काठमाडौँ, ३० फागुन । वैज्ञानिक तथा फिजिसिष्ट स्टिफेन हकिङ्सको ७६ वर्षको उमेरमा बुधबार निधन भएको छ ।
हकिङ्स ब्ल्याक होल (कालो छिद्र) सम्बन्धी खोजबाट चर्चित भएको थिए । उनको ७ वटा विज्ञानको खोजसँग सम्बन्धीत पुस्तकहरु प्रकाशित भएका छन् जसमा ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पनि एक हो ।
हकिङ्सका छोराछोरी लुसी, रोबर्ट र टिमले यसको पुष्टि गरेका छन् । उनीहरुले बीबीसीसँग भनेका छन्, ‘पिताको निधनले हामी निकै नै मर्माहित छौँ । उहाँ महान वैज्ञानिक तथा असाधारण व्यक्तित्व हुनुहुन्थ्यो ।’ उनीहरुले हकिङ्सको साहस र हिम्मतले संसारका करोडौँ मानिसहरुलाई प्रेरणा दिएको बताए ।
भौतिक शास्त्री स्टिफेन हकिङ्सको जन्म १९४२ जनवरी ८ मा इङ्ल्याण्डको अक्सफोर्डमा भएको थियो । उनले १९५९ मा अक्सफोर्ड विश्वविद्यालयमा प्राकृतिक विज्ञानको बारेमा अध्ययन गर्ने अवसर पाएका थिए । पछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट पिएचडी गरे ।
१९६३ मा उनमा मोटोर न्युरोन नामक रोग लागेपछि डाक्टरले उनी २ वर्ष मात्रै बाच्ने बताएका थिए । तर उनी हालसम्म जीवित रहेर विश्वका लागि निकै महत्वपूर्ण खोज गरेका थिए । उनले विशेष गरी ब्ल्याक होल अर्थात आकाशमा हुने कालो छिद्र सम्बन्धी खोज गरेका थिए । उनले ब्ल्याक होलबाट एक प्रकारको विकिरण निस्कन्छ भन्ने पत्ता लगाएका थिए । जसलाई पछि हसिङ्स रेडियसन नामाकरण गरियो ।
उनले लेखेको पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ १९८८ मा प्रकाशित भएको थियो । जसको करोडभन्दा बढि प्रति विक्रि भएको थियो । उनको जीवनमा आधारित रहेर २०१४ मा फिल्म पनि बनेको छ । जसमा एडी रेडमेनले उनको भुमिका निभाएका छन् । –बीबीसी















प्रतिक्रिया