आइतबार, २३ मंसिर २०७५
DainikNepal.com
आइतबार, २३ मंसिर २०७५

कैलालीमा मेयरलाई गोली प्रहार, रुपन्देहीमा व्यापारीलाई गोली हान्दाहान्दै पक्राउ

दैनिक नेपाल २०७४ फागुन २८ गते २२:३७


काठमाडौँ, २८ फागुन । रुपन्देही र कैलालीमा सोमबार बेलुकी गोली चलेको छ ।

रुपन्देहीको सिद्दार्थनगर ५ भैरहवास्थित रभी सपिङका मालिक हरिश सेठियामाथि सोमबार राति गोली प्रहार भएको भैरहवाबाट दैनिक नेपालका सहकर्मी नरेश केसीले जानकारी दिएका छन् ।

ब्यापारी सेठिया सकुशल रहेका छन् । उनलाई गोली हान्ने १ जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतीय नागरिक ४६ बर्षिय रमजान मुस्लिम मोटरसाइकलसहित पक्राउ परेको रुपन्देहीका एसपी श्याम ज्ञवालीले जानकारी दिए ।

आइतबार सकिएको सिद्धार्थ उद्योग बाणिज्य संघको चुनावमा सेठियाले सबैभन्दा बढी मत ल्याएर सदस्य जितेका थिए । १५ दिन अघि पनि उनीमाथि प्रहार भएको थियो ।

यता, कैलालीमा अज्ञात समूहको आक्रमणबाट घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी घाइते भएका छन् ।

नगरपालिकाको सुख्खड बजारस्थित मेयर चौधरीको निवासमा गएको अज्ञात समूहले सोमबार साँझ खुकुरी प्रहार गर्नाका साथै गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

मेयर चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिए पनि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिए । उनको खुट्टा र कम्मरमा गोली लागेको छ । त्यस्तै टाउकामा खुकुरी प्रहार भएको छ ।

घोडाघोडी नगरपालिकाको देउकलिया गाउँमा गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटनालाई गाउँमै मिलाउन खोजी प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप प्रमुख चौधरीलाई लागेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित