बेइजिङ, २४ फागुन । चीनको संसद् मानिने एनपिसीले केही सात्राभित्रै संविधानमा हुने महत्वपूर्ण परिवर्तनलाई लाहाछाप लगाइदिने अनुमान गरिएको छ, जसलले राष्ट्रपति सीलाई अझै सशक्त बनाउनेछ ।
एनपिसीले चिनियाँ राष्ट्रपतिको विद्यमान दुई कार्यकाललाई अन्त्य गरिदिने प्रायः निश्चित छ । यसको अर्थ राष्ट्रपति सी ‘अनन्तकाल’सम्म शक्तिमा रहनेछन् र संविधानमा सी जिनपिङ चिन्तनलाई समावेश गरिनेछ ।
नेसनल पिपुल्स कंग्रेस (एनपिसी) चीनको संसद् हो । बेलायतको संसद् हाउस अफ कमन्स र अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभजस्तै चीनको संसद् एनपिसी हो । संविधानअनुसार एनपिसी राज्यको महत्वपूर्ण र शक्तिशाली निकाय हो तर अन्तर्राष्ट्रिय समुदायले भने यसलाई बारम्बार ‘रबर स्ट्याम्प’को बिल्ला भिराउँदै आएको छ, जसले जे पारित गर्न निर्देशन दिइन्छ त्यसलाई आँखा चिम्लिएर समर्थन गर्छ ।
यो वर्ष एनपिसीमा चीनका विभिन्न प्रान्त, स्वायत्त क्षेत्र, केन्द्रद्वारा प्रशासित नगरपालिका, हङकङ र मकाउको विशेष प्रशासित क्षेत्र र सशस्त्र फौजका गरी २९ सय ८० प्रतिनिधि छन् । यसमध्ये २५ प्रतिशत अर्थात् सात सय ४२ महिला छन् भने चार सय ३८ जना जातीय अल्पसंख्यक समुदायका छन्।
चीनको पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी) चीनकै सर्वाधिक शक्तिशाली राजनीतिक सल्लाहकार निकाय हो । यो बेलायतको माथिल्लो सदन हाउस अफ लर्ड वा अमेरिकी सिनेटजस्तै हो । स्वभावतः सिपिपिसिसी कठोर सल्लाहकार निकाय हो तर यसको कुनै पनि विधायिक शक्ति हुँदैन । वर्तमान सिपिपिसिसीमा मनोरञ्जन, खेलकुद, विज्ञान, व्यापार र गैरकम्युनिस्ट पार्टीका समेत गरी २१ सय ५८ सदस्य छन् ।
पार्टीको महाधिवेशन सम्पन्न भएको पृष्ठभूमिमा सुरु भएका यी दुवै बैठकले विशेष महत्व राख्छन् । चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन गत वर्षको अक्टोबरमा सम्पन्न भएको थियो । महाधिवेशनले राष्ट्रपति सी जिनपिङलाई माओत्सेतुङपछिकै शक्तिशाली नेताको मान्यता दिँदै संविधानमा सीको आदर्श नै समावेश गर्ने निर्णय गरेको थियो ।
जारी एनपिसी बैठकले राष्ट्रपति सी जिनपिङको चिन्तनलाई संविधानमा समावेश गर्ने विषयलाई पारित गर्नेछ । त्यस्तै, राष्ट्रपति जिनपिङको दोस्रो कार्यकाल औपचारिक रूपमा सुरु भएको घोषणा गर्नेछ । त्यस्तै, बैठकले राष्ट्रपतिको दुईवर्षे कार्यकाललाई सीमित गर्ने विद्यमान प्रणालीलाई अन्त्य गर्दै राष्ट्रपति सीलाई अनन्तकालसम्म शक्तिमा रहने बाटो खुला गर्नेछ ।
बैठकले भ्रष्टाचारविरोधी दुई नयाँ शक्तिशाली निकाय स्थापना गर्ने कानुन पारित गर्नेछ । दुई बैठकले आर्थिक सुधारबारे विशेष योजना ल्याउनेछ । राष्ट्रपति सीका दुई मुख्य योजना भ्रष्टाचार नियन्त्रण र वातावरण संरक्षणबारे केन्द्रित हुनेछ । यसैबीच, सिपिपिसिसीले केन्द्रीय र स्थानीय सरकारका विगतका योजना समीक्षा गर्नुका साथै भविष्यका योजना तय गर्नेछ । – एजेन्सी















प्रतिक्रिया