लण्डन । पछिल्लो समयमा साउदी अरबले आफ्नो देशका परम्परागत शासन प्रणालीमा अनेकौँ सुधार गरिरहेको छ ।
अहिले आएर उसले आफ्नो देशमा जारी सुधार कार्यलाई थप अघि बढाउँदै महिलाका लागि अब सैनिक सेवामा प्रवेशको ढोका खुला गरेको छ ।
तर, महिलाको सैनिक सेवामा प्रवेश स्वेच्छिक हुनेछ । महिला सैनिक सेवामा जाने या नजाने भन्ने विषयमा कुनै अनिवार्य व्यवस्था हुनेछैन र यो उनीहरूको स्वेच्छामा निर्भर हुनेछ ।
साउदी प्रेस एजेन्सी (एसपिए) का अनुसार जनसुरक्षा निर्देशनालयले आइतबार सैनिक सेवाका रिक्त पदमा महिला भर्तीको बाटो खुला गरिदिएको छ । यसरी भर्ती हुने महिला सैनिकलाई रियाद, मक्का, मदिना, कासिम, असिर, अलबहा र सरकियाहमा नियुक्त गरिनेछ ।
सैनिक सेवामा प्रवेश पाउन केही आवश्यक योग्यता निर्धारण गरिएका छन् । जसअनुसार यसका लागि इच्छुक महिला साउदी मूलकी हुनु जरुरी छ ।
यसका साथै शैक्षिक योग्यतामा भने हाईस्कुल डिप्लोमा भन्दा कम हुनु हुँदैन । २५ वर्षभन्दा कम र ३५ वर्षभन्दा बढी उमेरका महिलाले यस सेवाका कुनै पनि पदमा आवेदन दिन पाउनेछैनन् ।
साउदी अरबमा भएको यो पछिल्लो सुधार ती तमाम सुधारका प्रयासमध्ये एक हो, जुन युवराज मोहम्मद सलमानको नेतृत्वमा गरिँदै छन् ।
साउदी सुरा काउन्सिलका एक सदस्यका तर्फबाट साउदी महिलालाई वर्षमा तीन महिना सेनामा काम गर्नैपर्ने गरी अनिवार्य व्यवस्था गरियोस् भन्ने प्रस्ताव ल्याइएको थियो । तर, यस प्रस्तावमाथि काउन्सिलभित्र र सामाजिक सञ्जालमा निकै कडा मतभेद सार्वजनिक भएका थिए । – एजेन्सी













प्रतिक्रिया