
– सिद्धिचरण भटराई
मनोज पुन ०६७ सालमा माओवादीबाट सालिकराम चापागाईसहित एमाले प्रवेश गरेका हुन । एमालेमा प्रवेश गराउन एमालेभित्रका केही ठेक्का पट्टा र घडेरी कारोबारमा संलग्नहरुको भूमिका थियो ।
कुख्यात अपराध गर्दै आएका मनोज पुन र सोम आले प्रहरी भिडन्तमा मारिए भन्ने खबर पाएँ । प्रहरीले अपराधीलाई कानुनका दायरामा ल्याओस र कानुन सम्मत सजायँ पाओस भन्ने आम जनताको माग रहँदै आएको थियो । उनले युवा नेताहरु दुर्गा तिवारी र बसन्त पौडेलको एक बर्षको अन्तरालमा हत्या गरेपछि यसले अत्यन्त सम्बेदनसिलताका साथ प्रहरीले प्राथमिकताको सूचीमा राखेर काम गरेको कारण यो सफलता प्राप्त गर्यो, मैले पीडित परिवारलाई सहानुभुति र प्रहरीलाई यो सफलताका लागि धन्यवाद दिएँ ।
निर्माण व्यवसायीमाथि र उद्यमशिल व्यक्तिहरुलाई धम्काएर पैसा असुल्ने काम गर्दै आएका पुन सामाजिक घृणाका पात्र थिए । उनको अवसानको सन्देश सिँगो रुपन्देहीवासीको लागि शान्तिको ध्वनी जस्तो महसुस भएको छ । मनोज पुन अब त्रास रहेन, तर यहाँको बुद्धिजीवी, राजनीतिकर्मी, सामाजिक अगुवाहरुका लागि एउटा बहस अवश्य छेडिएको छ । त्यो हो: मनोज जस्ता अपराधीहरुलाई जन्मने, हुर्कने र डन बन्ने वातावरण कसरी उत्पादन भईरहेको छ ? यसको उचित छलपल र मार्गदर्शन भएन भने अरु मनोजहरुका लागि देवदह उर्वराभुमि नै हुनेछ ।
मनोजको राजनीति !
मनोज पुन ०६७ सालमा माओवादीबाट सालिकराम चापागाईसहित एमाले प्रवेश गरेका हुन । एमालेमा प्रवेश गराउन एमालेभित्रका केही ठेक्का पट्टा र घडेरी कारोबारमा संलग्नहरुको भूमिका थियो । ठेक्का लिनका लागि साहसी, लडाकु खालका युवा प्रयोग गर्नुपर्ने भएकोले मनोजहरुलाई भित्राउँदा व्यवसाय चलाउन सजिलो हुने हुनाले मनोजहरु एमालेमा प्रवेश गराइएको हुनुपर्छ ।
मनोज पुन अब त्रास रहेन, तर यहाँको बुद्धिजीवी, राजनीतिकर्मी, सामाजिक अगुवाहरुका लागि एउटा बहस अवश्य छेडिएको छ । त्यो हो: मनोज जस्ता अपराधीहरुलाई जन्मने, हुर्कने र डन बन्ने वातावरण कसरी उत्पादन भईरहेको छ ?
बुटवलमा प्रचण्ड थैवको हत्यापछि युथफोर्सले एन्टी वाईसिएल सशक्त समूह खडा गरेको थियो । माओवादी अराजकता कमजोर पार्न एमालेले तयार गरेको युथफोर्सको प्रभाव देशव्यापी बढेको थियो । यसै क्रममा काठमाडौमा दिनेश अधिकारी (चरी), पर्शुराम बस्नेत लगायत एमालेमा प्रवेश गरेका थिए । डनहरुलाई युवा संघमा प्रवेश दिनु हुन्न र हुन्छ भन्नेमा एमालेमा बहस नै थियो । तर त्यतिखेरका प्रभावशाली नेता कहलिएका हालका प्रधानमन्त्री केपी ओलीबाट टिका लगाएर एमालेमा दर्जन बढी डनहरु प्रवेश गरेको सबैलाई स्मरणीय हुनै पर्छ । यसै क्रममा रुपन्देही क्षेत्र नं १ को एक भव्य सभामा पूर्व माओवादी निकट वाईसीएलमा क्रियाशिल शालिकराम चापागाई र मनोज पुन एमालेमा प्रवेश गरे । प्रवेश लगत्तै युवा संघ क्षेत्र नं १ को सम्मेलनबाट कृष्णराज पौडेल युवा संघको अध्यक्ष हुँदा मनोज पुन कोषाध्यक्ष र शालिकराम चापागाई सदस्य थिए । पछि उनकै कार्यकालमा दर्जनौँ अपराध र संलग्न भएको पाएपछि ठूलो दबाबका कारण उनी युवा संघबाट निष्काशित भए ।
मनोजका अपराधहरु
प्रवेशसँगै उनीहरु कुनै सांगठनिक काममा सक्रिय भएनन् तर उनीहरुले काठतस्करी, गिट्टी बालुवाको चोरी गर्ने ट्याक्टरबाट हप्ता उठाउने र जग्गा व्यापारीसंगको मिलेमतोमा विभिन्न मानिसलाई धम्काउने र रकम असुल्ने काम गर्न थाले ।
पुनले माओवादी ब्यारेकबाट फर्केका सालिक चापागाई र रमेश चौधरी (मक्रहर) सँग मिलेर धेरै घटना घटाए । २०६८ सालमा देवदह ३ सेमरानामा रमेश सुनारलाई खुकुरी प्रहार गरी युवा संघ नगर तत्कालिन देवदह अध्यक्ष चन्द्रकान्त खरेलको मोटरसाइकलमा ठूलो क्षति गरे । यो घटनापछि प्रहरीलाई सूचना दिँदा समेत आलटाल भएपछि युवा संघका देवदहका कार्यकर्ताको नेतृत्वमै उनीहरुलाई छोपेर प्रहरीलाई बुझाइएको थियो, मलाई पार्टी आफै प्रहरी बनेर पक्राउने काम गलत भएको भनेर आलोचित गर्ने साथीहरु आज मेरा सहकर्मी छन्, तर अचम्म उनीहरुमा कुनै ग्लानी छैन ।
त्यतिखेर मनोज पुनहरुलाई लखेट्दा खेतमा फालिएको पिस्तोल अर्को दिन भेटिएको थियो । उता पक्राउ परेका मनोज पुन र सालिक चापागाईलाई छुटाउन यो पिस्तोल प्रमाणको रुपमा प्रहरीलाई नबुझाएर बचाएको कुरा एमालेभित्र अहिले पनि चर्चाको बिषय छ । त्यतिखेर पुन र चापागाईको संरक्षणको अगुवाइ एमालेकै जिम्मेवार हौं भन्नेहरुबाटै नभएको भए यो अपराधले यतिठूलो रुप लिने थिएन सायद । यस्तो लज्जाजनक कुरा हामी सबैले भोगेको बिषय हो ।
त्यसको केही समयपछि नवलपरासी सुनवल निवासी युवा गोपी पुनमाथि दिउँसै खैरेनी चोकमा खुकुरी प्रहार गरे । ०७१ सालमा बुद्ध सामुदायिक बनको काठचोरीगरी अवैध रुपमा बेच्न खोजेकोमा सेमरानामा पक्राउ पर्यो । जुन अहिले पनि सडकमै फालिएको अवस्थामा छ । तर यसबाहेक देवदह आदर्श बहुमुखी क्याम्पसले महायज्ञमा लिएको जग्गामा खरिद गरेको घडेरीका बिद्युत पोल ढाले । सार्वजनिक जग्गा बेचेर आफूहरुलाई हप्ता नबुझाएको बिरोधमा उक्त कूकार्य गरे । यसैगरी २०७२ वैशाख १२ गते बुटवलका व्यापारी मिलन थापाले हाल तिलोत्तमा र साविक मक्रहरमा रहेका आफनो दुई विघा जमिनको घडेरीमा रहेका बिद्युत पोल समेत माग गरेको रकम नदिए वापत मनोजको निर्देशनमा उसका केटाहरुले तोडफोड गरी ढलाई दिए ।
यतिमात्र होइन्, मनोजकै निर्देशनमा देवदह ७ बस्ने नारायण बस्नेतमाथि गोली प्रहार गरियो । गोली साप्रामा लागेकोले उनी बच्न सफल भए । यसैगरी खैरनीमा एक रेष्टुरेण्ट अगाडि राती खुकुरी प्रहार गर्ने काममा पनि मनोजकै निर्देशनमा यस्ता कुकृत्यहरु हुँदै आएको पाइन्छ ।
सार्वजनिक जग्गा ठगी घटनामा पनि उनीहरुको संलग्नता पाइन्छ । हाल देवदह ३ टटेरामा रहेको गंगालक्ष्मी मल्लको नाममा रहेको हदबन्दी बढीको ९ विगाह बढीको जग्गा मनोज पुन र सालिकराम चापागाईले सो ठाउँमा कमाई गर्ने मुसहरहरुका झुप्रामा आगो लगाउने र अँधिया लिने निकट स्कुलका अध्यक्ष सोमनाथ घिमिरेलाई शंकरनगर बनबाटिकामा पिस्तोल देखाएर सहमत गराई जबरजस्ती खाली गराएर गैरकानुनी रुपमा बेची खाए ।
यसअघि माओवादीले जमिन्दारको जग्गा भन्दै झण्डा गाडेको यो जग्गामा १० बर्षसम्म विभिन्न व्यक्तिले अधिँया गरी खाएका थिए । उनको जग्गा मनोज र सालिकराम चापागाईको योजना केही स्थानिय व्यक्तिको सहयोगमा प्रतिकठ्ठा ४० हजारका दरले बेची खाए । यो कुराको सुर्इँको पाएपछि नेपाल भूमिहीन सुकुम्वासी संगठनको म आफै जिल्ला अध्यक्ष भएको बेलामा तथ्यसत्य सार्वजनिक गर्दै पत्रकार सम्मेलन गरी बिरोध र भण्डाफोर गरिएको थियो ।
प्रसासनमा उजुरी पर्यो । अपराधीहरु भागे । यसपछि यिनीहरु ठगी मुद्धामा रुपन्देही सिडिओ कार्यलयमा उजुरी परेपछि पहिले घरसारको तमसुक बनाएर जग्गा बेचेका पुन, चापागाईले रकम फिर्ता गर्ने कबुल गरेको कागज जग्गा किन्नेहरुसँग गरेर उन्मुक्ति लिने काम गरे तर अहिलेसम्म जग्गा खरिदकर्ताहरुलाई कबुल रकम फिर्ता गरेका छैनन् । उक्त जग्गा नगरपालिकाले लुम्बिनी बिश्व बिद्यालयलाई दिएको छ तर जग्गा आवाद गर्नेबाट खाली गराउन सकेको छैन ।
दुर्गा – मनोजको दुश्मनी किन ?
शुरुमा देवदह ६ निवासी भरत बोहरा र देवदह ८ का विक्की गुरुङसँग ग्याङफाइट हुँदै शुरु भएको मनोज पुन सँगको समेत इगो झांगिदै यो शत्रुता बढदै गएको स्थानीय युवाहरु बताउँछन । मनोजहरुले डन बनेर सबैलाई तह लगाउने सपना पाल्दै सबै आफ्ना बिरोधीहरुलाई विभिन्न पटक आक्रमण गरे । आक्रमणको मुल कारण तस्करी संरक्षण र रवाफ देखाउनु नै हुन्थ्यो । यी सबै गलत कार्यको एमालेभित्रको एउटा गुटले समर्थन गथ्र्यो भने अर्कोले बिरोध । यो चलिरहेकै थियो । स्वर्गीय दुर्गा तिवारीले गलत धन्दाबिरुद्ध युवाहरुलाई गोलबन्द गर्दै युवा संघमा आफ्नो वर्चश्व स्थापित गर्दै लगे । वडा तहसम्म युवा संघका क्रियाशिल संगठन बन्न थाले । लागुऔषध, तस्करी, हतियार बिक्री जस्ता धन्दा नगर्न र उत्पादनशील बन्न हरेक युवा संघका कार्यक्रममा छलफल चलाइयो ।

एमालेमा डन र अपराधलाई संरक्षण गर्न हुन्न भन्ने पक्ष र यस्ता व्यक्तिहरुलाईं संगठनमा प्रशय दिनु हुन्न भन्ने प्रसंगमा म लगायत निलकण्ठ पौडेल र दुर्गा तिवारी जस्ता व्यक्तिहरुले संगठनभित्र आवाज उठाएपछि उनीहरु युवा संघबाट २०६९ सालमै कारबाही स्वरुप निकालिएका हुन् । डन बन्ने र पैसा कमाएर मन्त्री बन्नेसम्मको फिल्म शैलीको सपना बोकेका पुनले म मसहित दुर्गा, निलकण्ठ पौडेलसँग समेत दुश्मनी राखे । यस घटनाबाट दुश्मनी साँध्न थाले । पुनको तस्करीलाई युवाहरुको प्रतिरोधबाट नियन्त्रण गर्ने कार्यशैली दुर्गा तिवारीको थियो । दुर्गा तिवारी ०७० सालपछि क्रमशः युवा संघ जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्ष बने । केविआई इटा उद्योग खोलेर सफल व्यवसायी समेत बने । उनले युवाहरुलाई समेटदै रचनात्मक काममा समेत अगाडि बढाएको दुश्मनी साँधी रहेका मनोज पुनलाई चित्त बुझेको थिएन । यसैकारण देवदह क्षेत्रमा दुर्गाको लोकप्रियता अपराधिक मनोबृतिमा रहनेहरुलाई तगारो नै थियो । यसैले दुर्गाको सफायापछि अरु उद्यमीलाई धम्काएर पैसा असुल्न सफल पनि भइने आफनो राज चलाउन पाइने उद्देश्यले दुर्गाको हत्या गरिएको अनुमान लगाउन सहजै सकिन्छ ।
केही मिडियाहरुले नियोजित रुपमा दुर्गा तिवारी र मनोज पुनको ठेक्का पट्टामा संगै काम गरेको विवाद भएको अफवाह र भ्रम सिर्जना गरेका छन । गत बर्ष जिल्ला प्रहरीले पत्रकार सम्मेलन गरी जारी गरेको प्रतिवेदनमा हत्याको कारण व्यक्तिगत प्रतिशोध भनेर उल्लेख गरेर यो भ्रमलाई साथ दिएको छ । यो एमाले प्रदेश नं ५को आन्दोलन चलिरहँदा मारिएका दुर्गा तिवारीको अचानक हत्या भएको बिषयलाई व्यक्तिगत बनाइएकोमा एमाले पंक्ति प्रहरी प्रशासनसंग आक्रोशित पनि पारेको थियो । तथ्य के हो भने दुर्गा तिवारी र मनोज पुन कहिल्यै पनि ठेक्का पट्टामा संलग्न भएका छैनन । पुन तिवारी र बलु पौडेलको लामो बसाउठी हुने कुनै बिषय नै छैन । दुर्गाले व्यक्तिगत फाइदाका लागि कुनै प्रतिशोध पाल्नुपर्ने कुनै घटना समेत भएको भेटिँदैन । आखिर किन दुर्गा र बलु निशानामा परे ? यसको कारण राजनीतिक प्रतिषोध नभए के हो ? यो कुराको छिनोफानो सायद प्रहरीको अनुसन्धानले गर्दैन ।
बसन्त पौडेल किन मारिए ?
क्षेत्रको राजनीतिमा एमालेभित्र प्रभावशाली नेता निलकण्ठ पौडेलका एकमात्र सन्तान बसन्त पौडेल बलुलाई तिवारी हत्याकाण्डको ठीक एक बर्ष पूरा भएकै महिनामा मारियो । पुनले तत्कालै त्यसको जिम्मेवारी लिए । कुरा यतिमा मात्र सीमित छैन । किन दुर्गा र बसन्त पौडेलनै मारिए ? अरु एमालेका नेताहरु उसको निशाना किन बनेनन् ? फेरि म समेत निशानामा परेँ ? किन ?
स्थानीय चुनाव अघि बसन्त पौडेलले मनोज पुनसँग भएको २० मिनेट लामो टेलिफोन सुनाएका थिए । जसमा मलाई लक्षित गरेको कुरो उल्लेख थियो । बसन्तसँग पैसा समेत मागिएको थियो । निर्वाचनमा बसन्तका बुवा निलकण्ठ पौडेलले टिकट पाउने करिब करिब पक्का जस्तो भएको परिवेश थियो, त्यो बेलामा दिनको २ देखि ३ पटक बसन्त पौडेलसँग रकम माग गरिन्थ्यो । उनको टोलीले काठ तस्करी गर्दा बाटोमा छाडिएको काठ उठाएर असुल गर्न बसन्तलाई अनुरोध समेत गरेका थिए । तर पौडेलले त्यसलाई अस्वीकार गर्दै टालेका थिए । तर पछि अचानक निलकण्ठ पौडेलको ठाउँमा अर्कैले टिकट पाएपछि बसन्त पौडेललाई फोन आएन, बरु निलकण्ठ पौडेलले निकट खोसिएपछि म र मेरो परिवारमाथि हमला हुने कुरा बिष्णु पौडेललाई उनकै निवासमा सुनाएका थिए । स्थानीय चुनावमा एमालेका तर्फबाट मेयरका उम्मेदवारले देवदह नगरपालिकामा चुनाव हारे । बसन्त पौडेल, निलकण्ठ पौडेल र मलाई समेत चुनाव अन्तरघात गरेको कपोलकल्पित आरोप लाग्यो । पार्टीको समिक्षा बैठकमै आक्रमण गरियो, नाराबाजी समेत गरियो । बसन्त पौडेल हालका बिजयी मेयर हिरा केसीका मित भएकोले उनीमाथि आवश्यक/अनावश्यक आशंका गरिन्थ्यो । समिक्षा कार्यक्रममै प्रदेश र केन्द्रको चुनावपछि समिक्षा गरौँला भनेर हामी समेतलाई धम्काइएको थियो । यही सिलसिलामा बसन्त पौडेलको अचानक हत्या भयो । यी सब कुरा सम्योग मात्र हुन या प्रतिशोध ? एउटा प्रश्न हाम्रा मनमा गढिरहेको छ ।
पवित्र देवदहमा अपराधीकरण किन फस्टायो ?
देवदह क्षेत्र प्राचिन कोलिय गणराज्यको राजधानी हो, बुद्ध भगवानको मावली क्षेत्रको रुपमा चिनिन्छ । यस्तो पवित्र ठाउँमा भइरहेको अपराधिकरणको सञ्जालले ठाउँको गरिमानै धुमिल बनाएको छ । दुर्गा तिवारीलाई अन्तिम श्रद्धान्जली दिन आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्तो पवित्र ठाउँमा कुन आमाबाट यस्ता कुपुत्र जन्मिए ? म दंग पर्छु भनेका त्यसै होइनन । ओलीलाई मात्र होइन्, मलाई पनि लाग्छ, बुद्धलाई जन्माउने मायादेवी र पालनपोषण गर्ने प्रजापति र जीवन संगिनी यशोधरा जस्ता सुसंस्कृत माता जन्माउने देवदहले मनोज पुन, सालिकराम चापागाई जस्ता कुपात्र किन जन्माएको छ ? हामी देवदहवासीका लागि अपमानबोध भइरहेको छ ।
बुद्धले अंगुलीमाललाई भने जस्तै मनोज पुन पनि सुध्रिन्छन् कि भन्ने मैले आशा राखेँको थिएँ र एकपटक उनलाई काठ तस्करी, ठेक्कापट्टा र गुण्डागर्दीमा उपयोग नहुन भनेको पनि थिएँ तर उनले कहिल्यै हामीले भनेको बाटो रोजेनन ।
यस क्षेत्रमा अपराध फस्टाउनुको मुल कारण यहाँ प्रचुर मात्रामा वन जंगल हुनु, र काठतस्करी बढनु, रोहिणी, घोडाहा र कजरार खोलाको ढुंगा गिट्टी बालुवाको अवैध निकासी र लागुऔषध कारोबारमा युवाहरु संलग्न हुनु हो । युवाहरुमा बेरोजगारी र सजिलो गरी पैसा कमाएकाहरुको तडकभडक देखाउने मनोविज्ञानले बढी काम गरेको छ ।
यहाँ एक मात्र प्रहरी चौकी छ । सिमित श्रोत साधनको उक्त चौकीले नगरपालिकाभित्र तीब्र जनसंख्या बृद्धिलाई थेग्न सकेको छैन । इलाका प्रहरी कार्यलयको स्थापना नभई यहाँ राज्यको सुरक्षा प्रणालीले राम्रोसँग काम गर्न सक्दैन भन्ने निश्चित छ ।
मेरो पार्टीप्रति मेरा प्रश्न
म एमालेको बफादार कार्यकर्ता हुँ, माओवादी र एमाले एकीकृत भएर नेकपा बनेको छ । एमालेलाई विचार र सिद्धान्त जस्तै पवित्र उद्देश्यमा हिँडाउन प्रयत्न गरिरहनु पर्छ भनेर विगतमा अपराधविरुद्ध, वर्गिय पक्षधरता र वर्ग संघर्ष लागि मैले लागि रहेँ । तर यो अभियानमा मेरो बिरोधीलाई कहिले प्रतिपक्षीय मानसिकता, कहिले गुटगत समूहको संरक्षणका नाममा पार्टी नेतृत्वबाट नजरअन्दाज गरियो । क्षेत्र नं १ मा त देवेन्द्र घिमिरेको नेतृत्वमा एक कार्यदल बनाएर शुद्धिकरण गर्न खोजियो तर त्यो समेत नाकाम भयो । पार्टीको टिकट वितरणमा समेत पार्टीभित्र लगानी भएका लोकप्रियलाई भन्दा धन्दावाल र पैसावाल, डनवालाहरुलाई रोजियो, राजनीतिक बरिष्ठतालाई माटोमा मिलाइयो । त्यसको अन्तरपार्टी प्रतिरोध पनि गर्यौं तर हामीप्रति झन बढी पुर्वाग्रह राखियो केन्द्रिय नेतृत्वबाट । युवा संघले दुर्गा हत्याकाण्ड छानविन गर्न आयोग बनायो तर उसले प्रहरीलाई बुझ्ने बाहेक अपराधसँग जोडिएको अन्तरनिहित पाटोको अध्ययन नगरी त्यो प्रतिवेदन नै नबनाई सकियो । मैले पटकपटक प्रश्न गरेँ तर कसैले सुनेन । निलकण्ठ र दुर्गा तिवारी जस्ता कार्यकर्ताको संरक्षण गर्नुपर्छ भन्ने मान्यता राखेबापत मप्रति बारम्बार प्रतिषोध समेत राखियो । पुर्वाग्रह र प्रतिशोधको पृष्ठभूमिसँग यो दुर्गा र बलु हत्याको साइनो छ कि छैन ? मेरो मनमा खड्किएको प्रश्न छ । हैन भने मैले संगठन र पार्टीका अगुवाईमा जग्गा ठगी प्रकरण, युवाहरुलाई आक्रमण हुँदा किन नेतृत्वबाट साथ दिनुको सट्टा तिरस्कार गरियो ? कुनै आर्थिक लेनदेन भन्दामाथि उठेर आन्दोलनलाई उर्जा थप्नु र अगुवाई गरेर मैले के अपराध गरेको छु र ? मलाई सम्झना छ, दुखु अहिर काण्ड र देवदह ८ टटेराको जग्गा काण्ड, क्याम्पस काण्ड आदि इत्यादि । यी सवालमा मेरो उर्जामाथि निरन्तर पानी खन्याइयो नेतृत्वबाट । पछि दुईजना होनहार युवा मारिएपछि पनि तपाईँले उठाएको आवाज ठीक रहेछ भनेर एउटा पृष्ठभूमिमा रहेका नेताहरुले कहिल्यै पनि भनेनन किन ? अपराध कर्मको पनि राजनीतिक गुट हुन्छ र ? मलाई भन्न मन लाग्छ ।
पुनश्चः म कसैलाई पनि मनोजका संरक्षणकर्ता भनेर आरोपित गर्न खोजेको हैन । किन हामीले निरन्तर उठाएको आवाजलाई घैटोमा घाम लाग्दा पनि समर्थन नगरेको ? बुझाई नफेरिएको ? किन तर्सिएको ? किन छलफल र शुद्धिकरण अभियानबाट भागेको ? मेरा मनको प्रश्न माथि प्रश्नको उत्तर खोजेको मात्र हो । अन्यथा नहोस । मलाई बिश्वास छ ः प्रश्नहरुको सामना नगर्नेको राजनीति धेरै लामो हुँदैन । समयका युगका प्रश्नहरुको हल नै राजनीति हो । अपराधीकरणको समस्यासँग पनि राजनीति यसैगरी गाँसिएको छ । सुन्दर र शान्त समाज नबन्नुका पछाडि अपराधीहरु अपराधका संरक्षकहरुको मात्र कारण हुँदैन, असल मानिसहरुले खराबीहरु बिरुद्ध गतिशिल भुमिका नखेल्नु पनि अर्को महत्वपूर्ण सामाजिक कारण हो । सबैलाई चेतना होस ।
लेखक रुपन्देहीका एमाले नेता हुन् ।















प्रतिक्रिया