शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

मृगौलापीडित हिम बोहोरा बचाउन एक रुपैयाँ अभियान

दैनिक नेपाल २०७४ फागुन १० गते १४:४३

मृगौलापीडित हिमबहादुर बोहोरा । तस्विर : सुरेन्द्र बोहोराको फेसबुकबाट

काठमाडौँ, १० फागुन । कैलालीको घोडाघोडी नगरपालिका १३ का मृगौलापीडित हिम बहादुर बोहोराको जीवन रक्षाका लागि एक रुपैयाँ अभियान शुरु गरिएको छ । विगत ६ महिनादेखि काठमाडौँमा उपचार गराइरहेका बोहोराको उपचारमा सहयोग गर्न सुदूरपश्चिम युवा समाजले अभियानको थालनी गरेको हो ।

२१ वर्षका बोहोराका दुवै मृगौला काम गर्न सक्ने अवस्थामा छैनन् । उनको अहिले शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । आर्थिक रुपमा निकै कमजोर बोहोराको परिवार यतिबेला मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव झेलिरहेको छ । बिरामी बोहाराकी आमाको समेत पाठेघरको अप्रेसन गरेको हुँदा दौडधुप गर्न सक्ने अवस्था छैनन् भने बुवा ज्याला मजदुरी गर्ने गर्छन् ।

उनीहरुको आर्थिक अवस्था निकै दयनीय भएको र उपचार खर्चमा समस्या परेको भन्दै काठमाडौँमा सुरेन्द्र बोहोरा, धनगढीमा कृष्ण बोहोरा र टीकापुरमा यज्ञराज उपाध्यायले अभियान चलाइरहेका छन् । सामाजिक सेवा समाज काठमाडौँले झण्डै ४ लाख रुपैयाँ पीडित परिवालाई हस्तान्तरण गरिसकेको छ । नेपाली सुदूरपश्चिमेली समाज भारतले बुधबार मात्र ४ हजार सहयोग गरेको छ ।

पीडित परिवार तथा सहयोग जुटाउन लागिपरेका अभियन्ताहरुले विभिन्न राजीनितिक दल, सांसद र मन्त्रीहरुलाई भेटेर सहयोगका लागि याचना गरेपनि सुनुवाई नभएको बताएका छन् । ‘मान्छे जीवन मरणको दोसाँधमा छ, सहयोग माग्दा वास्ता गर्दैनन्’ पीडितका आफन्त सुरेन्द्र बोहोराले भने, ‘नेताहरुलाई भोट मात्र चाहिदो रहेछ, जनता चाहिदो रहेनछ ।’

एक रुपैयाँ अभियानबाट संकलित रकम बचेमा आउँदा दिनमा विभिन्नखाले दीर्घ रोगका बिरामीलाई सहयोग गर्ने बोहोराले बताए । अहिले पहिलो प्राथमिकता हिम बोहोराको उपचारमा हुने उनको भनाइ छ । देश तथा विदेशमा रहने सबै नेपालीलाई बोहोराले सहयोग गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित