आइतबार, २३ मंसिर २०७५
DainikNepal.com
आइतबार, २३ मंसिर २०७५

ओलीसँग आधा घण्टा वार्ता, त्यसपछि तीन बुँदा, के भयो सहमति ?

दैनिक नेपाल २०७४ फागुन १० गते ७:३५

काठमाडौं, १० फागुन । झापामा सञ्चालित बी एण्ड सी मेडिकल कलेजका निर्देशक दुर्गा प्रसाइँले आफूले दवाव दिएका कारण एमाले–माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको दाबी गरेका छन् ।

उनले पार्टी एकीकरण गराउन आफूले एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई आफ्नो घरमा बसेको बैठकका बेला आधा घण्टासम्म सम्झाएको बताए ।

नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रसाइँले भने, ‘पार्टी एकीकरणका लागि दवाव दिन मेरो घरमा केपी ओली र प्रचण्डज्यूको बैठक राखेको हुँ । मैले नै पार्टी एकीकरणका लागि कुरा मिलाइँ दिएको हुँ ।’

निर्देशक प्रसाइँले पार्टी एकीकरणमा आफ्नो ९९ प्रतिशत संलग्नता रहेको बताए । ‘भक्तपुरको मेरो घर बास्तुशास्त्र हेरे बनाइएको छ’, उनले भने, ‘यो घरमा बसेर वार्ता गर्ने हो भने जस्तो सुकै कुरा पनि मिल्छ ।’

निर्देशक प्रसाइँले भने, ‘मेरो घरमा ओली–प्रचण्डबीच तीन बुँदे सहमति भएको थियो । त्यो सहमतिपछि बल्ल बालुवाटारमा सात बुँदे सहमति भएको हो । पार्टी एकीकरणमा मेरो भूमिका ठूलो छ ।’

तपाईको घरमा भएको तीन बुँदामा के थियो भनेर सोधिएको जिज्ञासामा प्रसाइँले भने, ‘जनयुद्ध र जबज, पार्टी महाधिवेशनसम्म मिलेर जाने, वीन–वीनको सिच्युएसन बनाउन कुरामा सहमति भएको थियो । उहाँहरूका बीच मेरै घरमा ठोस सहमति भयो । मेरो घरमा यसअघि पनि ३ पटक वार्ता भएको थियो ।’

खाना खाँदै गरेको तस्बिरका विषयमा सोधिएको प्रश्नमा प्रसाइँले भने, ‘मेरो घरमा उहाँहरूले दाल र भात मात्रै खानु भएको हो । रक्सी खानु भएको होइन । मेरो ड्राइभरले फोटो खिचेर फेसबुकमा राखेछ । मिडियोले के–के अपराध गरेको भनेर लेखे ।’

मेडिकल कलेजका सञ्चालक प्रसाइँको भक्तपुरस्थित घरमा ओली–दाहालबीच भएको दिवाभोजसहितको वार्ताले एमाले–माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सहमति बनेको थियो ।

प्रतिक्रिया
सम्बन्धित