रुपन्देही, १० फागुन । हत्या, जवर्जस्ती असुली र फिरौतीमा कहलिदै आएका गुण्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आलेको प्रहरी इन्काउन्टरमा मृत्यु भएसँगै पुनको समूह तितरवितर भएको छ ।
तर, पुनका पार्टनर जेल भित्र रहेका समिरमानसिंह बस्नेतको समूह भने सलबलाउने खतरा बढेको छ । पुनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले भारतको गोवाबाट पक्राउ गरेको समाचारले केही दिनअघि सनसनी मच्चिएको थियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
पुन पक्राउ परेको र प्रहरी इन्काउन्टरबाट जोगिएको भन्ने समाचार बाहिरिएपछि सिआईबी टोली नै इन्काउन्टरबाट पछि हट्न लागेको चर्चा चल्यो । तर, सिआईवी प्रमुख डिआईजी पुष्कर कार्कीले भने पुनलाई सिआईवीको टोलीले भारतबाट पक्राउ गरेको नभई रुपन्देहिमा प्रहरीले खोजी गरिरहँदा मुठभेडमा परी मृत्यु भएको बताएका छन् ।
रुपन्देहीका एसपी श्याम ज्ञवालीले पनि प्रहरीसँगको मुठभेडमा पुनको मृत्यु भएको बताएका छन् । बुधबार बिहान पुन सहयोगी सोम आलेसहित प्रहरी इन्काउन्टरमा मारिए । प्रहरीले पुनको समूह नेपाल आएको र कुनै ठूलो घटना घटाउन लागेको सूचनाका आधारमा खोजी अभियान चलाउँदा लुकिछिपी बसेको पुनको समूहले प्रहरी टोलीमाथि गोली प्रहार गरेपछि जवाफी फायरिङमा पुन सहित आलेको मृत्यु भएको दाबी गरेको छ ।
गत पुसमा पुनले फर्निचर व्यवसायी बसन्त पौडेलको हत्याको जिम्मेवारी लिएका थिए । २०७२ पुसमै युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मा समेत उनैले लिएका थिए । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि उनले समिरिमानसिंह बस्नेतसँग मिलेर सहयोगीको भूमिका निभाएको खुलेको थियो । गौचन हत्या पश्चात सिआईबी र डिआईजी गणेश केसीको छानविन समितीले हत्याको मुख्य योजनाकार बस्नेत रहेको निश्कर्श निकालेको थियो ।
तर, यतिखेर पुन मारिनु र बस्नेत जेल भित्र रमाउनुलाई गुण्डामाथिको भेदभावका रुपमा लिइएको छ । प्रहरीबाट भेदभाव भएपछि बस्नेत समूह अझै सक्रिय हुने खतरा पनि देखिएको छ । किनकी गौचन हत्यामा संलग्न लोप्साङ राई, सुटर अम्वरबहादुर राना र बस्नेतका नातेदार रोशन बुढाथोकी अझै फरार छन् ।
स्रोतका अनुसार गुण्डा नाइके बस्नेतका दाई नाता पर्ने डिएसपी कुमोद ढुंगेलले मनोज पुनको इन्काउन्टरमा समन्वयकारी भूमिका खेलेका थिए । ढुंगेललाई केही दिन अघि मात्रै रामेछापबाट रुपन्देही सरुवा गरिएको थियो । ढुंगेलकै सेटिङमा बस्नेतलाई इन्काउन्टरबाट जोगाएर सिआइबीको टोलीले अचानक सार्वजनिक गरेपछि गौचन हत्याको छानविन समिती नै चकित परेको थियो । बस्नेतकै सूचनाको आधारमा पुनलाई भारतको गोवाबाट प्रहरीले नेपाल ल्याएको स्रोतको दावी छ ।
प्रहरीले सुरु देखि नै बस्नेत र पुन एउटै समूहमा रहेर असुली देखि हत्यासम्मका घटनामा संलग्न रहेको दावी गर्दै आएको छ । फिरौती असुलीका लागि बस्नेत र पुनले प्रयोग गर्ने व्यक्तिहरु एउटै थिए । ति मध्ये अधिकांश पक्राउ परेपनि राई, राना र बुढाथोकी भने जेल भित्र रहेका बस्नेतको निर्देशनमा अझै पनि असुलिमा सक्रिय रहेको बुझाई प्रहरीको छ ।
बस्नेतले काठमाडौंलाई आधार क्षेत्र बनाई निर्माण व्यवसायी र व्यापारीलाई धम्क्याएर करोडौं असुल्दै आइरहेका थिए भने पुनले बुटवल, भैरहवालगायत पश्चिमी क्षेत्रलाई आधार बनाई असुली धन्दा चलाउँदै आएका थिए । गुण्डा नाइके दावा लामामाथिको गोली काण्ड पश्चात दुबै समूहमा आवद्ध राईले घटनाको जिम्मेवारी लिएका थिए ।
सिआईवीले पक्राउ गरेका बस्नेतले प्रहरीसँगको बयानमा दावा लामामाथिको गोली प्रहार र गौचन हत्या आफ्नै निर्देशनमा भएको दावी गरेका थिए । जसको अडियो रेकर्ड पनि सिआईवीले सार्वजनिक गरेको थियो ।
अहिले गौचन हत्यामा मृत्यु भइसकेका पुनलाई मुख्य अभियुक्त बनाई बस्नेतलाई सहयोगी बनाएर जोगाउन खोजिएको त होइन ? भन्ने गम्भिर प्रश्न उठेको छ । बस्नेत पक्राउ परेदेखि जेल जाँदा सम्म उनलाई प्रहरीलाई सहज बाटो बनाएको थियो । सिआईवीमा रहँदा उनी घाम तापेर श्रीमतीसँग गफ गरिरहेको समाचार समेत बाहिर आयो भने सिआईवीले छानविन समितिलाई हस्तान्तरण गर्दा ठूलो विवाद भएको थियो । जबकी गौचन हत्यामा पक्राउ परेका आधा दर्जन अभियुक्तलाई छानविन समितिले मुद्दा चलाएको थियो ।
त्यसो त बस्नेतसहित ९ जनालाई माघ ९ गते जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि केन्द्रिय कारागार सुन्धारा पठाएको थियो । तर, सुन्धारा पठाएको एक साता पछि बस्नेतलाई मात्र ललितपुरस्थित नख्खु कारागार सारियो ।
स्रोतका अनुसार बस्नेतकी श्रीमती र नातेदार डिएसपी ढुंगेलको सेटिङमा जेलरलाई मिलाएर बस्नेतलाई केन्द्रिय कारागार भन्दा सुविधाजनक मानिने नख्खु कारागारमा सारिएको हो । अहिले दिनहुँ जसो बस्नेतका सहयोगीहरु समेत सहजै रुपमा जेल पुगेर बस्नेतलाई भेट्न थालेको नख्खु कारागार स्रोतले बतायो ।
गौचन हत्या प्रकरणमा हतियार मिलाउने देखि आर्थिक व्यवस्थापन गर्ने बस्नेतका नातेदार बुढाथोकी, सुटर राना र राईसँग बस्नेतले श्रीमतीमार्फत सम्पर्क बढाई केही ठेकेदारहरुसँग अझै पनि रकम असुल्दै आएको स्रोत बताउँछ । ‘डिएसपीको संरक्षणमा रहेका बुढाथोकी, राना र राईले कुनै पनि बेला अर्को घटना घटाउने त्रास कायमै छ । उनीहरुले प्रहरीमाथि पनि आक्रमणको योजना बनाएको हुनसक्छ ।’ कारागार स्रोत बताउँछ ।












प्रतिक्रिया