काठमाडौं, १० फागुन । चरी उपनामले कुख्याती कमाएका धादिङका दिनेश अधिकारी काठमाडौंको नयाँ बजारलाई आधार क्षेत्र बनाएर अपराधमा संलग्न थिए । थप उचाइ चढ्न एमाले प्रवेश गरेका उनी धादिङ–१ क्षेत्रीय कमिटीको उपाध्यक्षसमेत बने ।
राजनीतिक संरक्षणमा शक्ति बढेपछि उनले आफ्ना प्रतिस्पर्धीलाई दिउँसै गोली हान्न पनि थाले । कांग्रेस ललितपुरका नेतासमेत रहेका मीनकृष्ण महर्जनलाई गोली हानेको पुष्टि भए पनि उनी पक्राउ परेनन् । नयाँ पत्रिका दैनिकले समाचार
छापेको छ ।
शक्ति बढेको आत्मविश्वासमा चरीले पार्टीकै नेताहरूलाई समेत धम्क्याउन थालेका थिए । पछि एमालेकै नेता वामदेव गौतम गृहमन्त्री रहेका वेला २१ साउन ०७१ मा प्रहरीले उनलाई ‘इन्काउन्टर’मा मार्यो । प्रहरीका अनुसार मोटरसाइकल चढेर धादिङतर्फ जाँदै गरेको अवस्थामा भीमढुंगामा उनीसँग मुठभेड भएको थियो ।
काठमाडौं नयाँ बजारका स्थानीय कुमार घैँटे कांग्रेसी नेताहरूको छत्रछायामा हुर्किएका डन थिए । निर्माण व्यवसायीका अनुसार कांग्रेसका जगदीश्वरनरसिंह केसीको परिवार र कुमार घैँटे व्यावसायिक साझेदार नै थिए । घैँटे तरुण दलमा प्रवेश गरेर समाजसेवी पनि बनेका थिए । तर, उनले अपराध कर्म छाडेनन् । राजनीतिक आवरणमा उनले अपराध गतिविधि अझ मजबुत तुल्याए ।
अन्ततः घैँटे सामाखुसीस्थित निवासमै भएको प्रहरी इन्काउन्टरमा ३ भदौ ०७३ मा मारिए । प्रहरीका अनुसार सर्चमा गएको टोलीलाई उनले फायर खोलेका थिए । फेक इन्काउन्टर भएको भन्दै जगदीश्वरनरसिंह केसीले शिक्षण अस्पताल र संसद्मा समेत उत्तेजक भाषण गरेका थिए । तर, घैँटेलाई बचाउन ढिलो भइसकेको थियो । यसरी, राजनीतिक संरक्षणको विश्वासमा अपराध बढाउनु घैँटेका लागि आत्मघाती साबित भयो ।
रुपन्देही देवदह–६ का हुन् मनोज बुढामगर । बालुवाको कारोबार गर्ने क्रममा उनी माओवादीको भ्रातृ संस्था वाइसिएलसँग नजिकिए । व्यवसाय अझ बढाउन एमाले प्रवेश गरेका उनी एमालेसम्बद्ध युवा संघ रुपन्देहीको कोषाध्यक्षसमेत बने । एमाले नेता विष्णु पौडेलको नाम लिएर उनले अपराध कर्म अझ बढाए । युवा संघ रुपन्देहीले कारबाही गरेपछि प्रतिशोध साँध्न ४ पुस ०७३ मा गोली हानी आफ्नै पूर्वअध्यक्ष दुर्गा तिवारीको हत्या गरे ।
तर, प्रहरीको पहुँचबाट टाढा भारतमा बसेर गिरोह चलाउन थालेका उनले २३ असोज ०७४ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गराए । यसबाट पनि सुरक्षित उनले लगत्तै २१ पुस ०७४ मा बुटवल देवदहकै फर्निचर व्यवसायी बलु भनिने वसन्त पौडेलकोे हत्या गरे ।
चितवन कारागारमा एमालेनिकट चमेरे ग्याङसँग झडप हुँदा कांग्रेसनिकट कमिला ग्याङका शिवराज पौडेल मारिए । राजनीति र अपराधमा सँगसँगै हुर्किएका पौडेल नेपाल तरुण दलका तत्कालीन जिल्ला अध्यक्षसमेत थिए ।
मुख्य धन्दा ठेक्कापट्टाको थियो, तर चितवन केराबारीमा मारिएका सञ्जय लामाको हत्या अभियोगमा जेलमा थिए ।
तर, अदालती फैसला हुनुअघि नै २ पुस ०६८ मा उनी मारिए । उनको हत्याको विरोधमा कांग्रेस कार्यकर्ता सडकमा उत्रिए । नेपाल बन्दसमेत भयो । अन्ततः उनलाई कांग्रेसको बैठकले सहिद घोषणा नै गर्यो ।












प्रतिक्रिया