१ कार्तिक २०८३, आइतबार

रसुवागढी भन्सारबाट फागुन २३ देखि सामान आयात हुने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, ९ फागुन । सामान आयात क्रमशः बढ्न थालेपछि रसुवागढी भन्सारको राजश्व लक्ष्यभन्दा बढी असुली भएको छ ।

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार माघ महिनाको राजश्व असुली रु २९ करोडको लक्ष्य राखिएकामा सामान आयात बढ्दै जाँदा रु ३१ करोड असुली भएको छ ।

चीनबाट नेपाल भित्रने सामग्रीमा जुत्ता, चप्पल, थर्मस, कपडा, शिशुका खेलौना, विद्युतीय उपकरणलगायत विविध सामग्री आयात हुने गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म मूल्य अभिवृद्धि करसमेत रु एक अर्ब ९२ करोड राजश्व असुली भएको बताइएको छ ।

चिनियाँ नयाँ वर्ष र ल्होछार पर्व परेका कारण गत माघको अन्तिम सातादेखि रसुवागढी नाकाबाट सामान आउन बन्द भएको बताउँदै प्रमुख भन्सार अधिकृत कोइरालाले अब यही फागुनको २३ गतेदेखि केरुङमा रहेका नेपाली ट्रक तथा कन्टेनर सामान लिई नेपाल फर्कने बताउनुभयो ।

सामान आयातको काम ल्होछार पर्वले बन्द भए पनि दैनिक रुपमा २५–३० चिनियाँ पर्यटक भने ओहोरदोहोर गरिरहेको सीमा प्रहरी चौकीका प्रहरी निरीक्षक रञ्जन दाहालले जानकारी दिनुभयो ।

चिनियाँ नयाँ वर्ष र ल्होछार पर्वका बन्द ढुवानी सेवा अबको १० दिनपछि सञ्चालन हुने केरुङस्थित ढुवानीकर्ता मुसा ट्रान्सपोर्टले जनाएको छ । – रासस