
-निर्मल भट्टराई
आधा शताब्दीदेखि विभिन्न चिरामा विभाजित नेपालको कम्युनिष्ट आन्दोलन प्रजातन्त्र दिवसको मध्यरातमा एकीकृत भएको छ । २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी गठन भए लगत्तै जारी गरिएको पर्चामा प्रथम नारा ‘पूर्ण नागरिक स्वतन्त्रताको लडाईं–जिन्दावाद’ भन्ने उल्लेख गरिएको थियो । पूर्ण नागरिक स्वतन्त्रता प्राप्तिको अठसठ्ठी बर्षको लडाईपछि विभाजन पछि थपिदै आएको पुच्छर हटाएर नेपालको कम्युनिष्ट आन्दोलनले पुनः आफूलाई नेकपाको रुपमा अभिव्यक्त गर्न सफल भएको छ । नेपाली जनताको पूर्ण स्वतन्त्रताको लडाईंमा विभिन्न चिरामा विभक्त नै सही नेपालका कम्युनिष्टहरुले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।
एमाले र माओवादी केन्द्रको एकता सम्बन्धी ७ बुँदे सहमतिले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि विवादमा रहेका केही विषयको निष्कर्ष समेत दिएको छ ।
२०४६ सालको जनआन्दोलन, दशबर्षे शसस्त्र विद्रोह र ०६२/६३ सालको जनक्रान्तिको सशक्त नेतृत्व नेपाली कम्युनिष्टहरुले गरेकै कारण आज उनीहरुलाई नेपाली जनताले करीब दुई तिहाई बहुमत दिएर शासन सत्तामा पु््याएका छन् । एमाले र माओवादी केन्द्रको एकता सम्बन्धी ७ बुँदे सहमतिले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि विवादमा रहेका केही विषयको निष्कर्ष समेत दिएको छ ।
क) चुनावलाई हेर्ने दृष्टिकोण
नेपाल कम्युनिष्ट पार्टी एकीकृत रहुन्जेल चुनाबबाट श्रेष्ठता हासिल गरेर शासन गर्ने कुरालाई नै मुल विषय बनाएको देखिन्छ । नेकपाको पहिलो घोषणा पत्रको जनवादी कार्यक्रमको ३ नं बुँदामा भनिएको छ–‘वालिग मताधिकारमा आधारित संविधान जसले सर्वसाधारणलाई पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र र आधारभूत आर्थिक अधिकारसहित ग्यारेण्टी गर्दछ । विशेषाधिकारहरु र जातपात, नश्ल र जातिको आधारमा गरिने भेदभाव कानूनद्वारा खतम पारिने छ र यसको उलंघनलाई कानुनद्वारा दण्डनीय पारिनेछ ।’ नेपालको संविधानसभाको जननी नेकपाले संविधानसभामार्फत् नै संविधान जारी गराउन सफल भयो ।
शान्तिपूर्ण चुनावी प्रतिस्पर्धाको बाटो कि शसस्त्र विद्रोह वा दीर्घकालीन जनयुद्धको बाटो भन्ने विवादले लामो समयसम्म विभक्त नेपालको कम्युनिष्ट आन्दोलनले एकीकृत हुँदा शान्तिपूर्ण चुनावी प्रतिस्पर्धाको बाटो नै नेपाली कम्युनिष्टहरुको बाटो हो भन्ने किटान गरेको छ । एकतामा सामेल एमालेले मदन भण्डारीको नेतृत्वमा जबजलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएर शान्तिपूर्ण चुनाबी प्रतिस्पर्धाको बाटो अगाँल्दै आएको थियो भने दीर्घकालीन जनयुद्धको बाटो हिड्दै आएको माओवादी केन्द्र बाह्रबुँदे सहमति, विस्तृत शान्ति सम्झौता हुँदै त्यहीँ आइपुग्यो । विगतदेखिको प्रमुख विवादको विषयको समाधान भएपछि अरु सैद्धान्तिक विषय यसैको वरिपरि घुम्दै समाधान हुने समेत पक्का भएको छ ।
कार्यकर्तामा लोकप्रियता र बैचारिक उचाईका लागि हुने प्रतिस्पर्धा कुण्ठित भएको र अन्तरपार्टी सही लोकतान्त्रिक अभ्यास शुरु नहुँदा माओवादीको विभाजन हुन गई लोकप्रियतामा व्यापक गिरावट भएको तीतो अनुभव छ । यी तीता मीठा अनुभव अब नेपाल कम्युनिष्ट पार्टीका सम्पत्ति बनेका छन् ।
ख) कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण
हरेक बस्तु, घटना र प्रक्रियाको अस्तित्व र विकास त्यसमा अन्तरनिहित दुई विरोधी तत्वको संघर्षमा आधारित हुन्छ । स्वभाविक रुपमा समाज पनि विरोधी तत्वहरुको संघर्षको समुच्चय हो । जसरी पदार्थको एक विरोधी तत्वले अर्को समकक्षी तत्वलाई निषेध गर्दैन, गर्न सक्दैन, त्यसरी नै फरक विचार बोकेको राजनीतिक व्यक्ति वा समूहलाई जबरजस्ती निषेध गर्न हुदैन, सकिदैन । यो सार्वभौम सच्चाई हो । जब कम्युनिष्ट पार्टी बहुदलीय प्रतिस्पर्धामा आफूलाई श्रेष्ठ बनाउन प्रयत्न गर्दछ, त्यतिबेला उसको आन्तरिक जीवन अलोकतान्त्रिक बन्न सक्दैन । पार्टी जीवनमा गरिने स्वस्थ चुनाबी प्रतिस्पर्धाले बाह्य प्रतिस्पर्धामा समेत बहुत सकारात्मक प्रभाव पारेको एमाले अनुभव छ ।
शान्ति प्रक्रियामा आइ दुई–दुई पटक चुनावमा भाग लिइसक्दा पनि माओवादी पार्टी विगत जनयुद्धताकाको कमाण्डरसीपबाट लिडरसीपमा परिणत हुन नसकेको, बिगतको जस्तै पार्टीभित्र कमाण्डरसीप कायम रहदाँ कार्यकर्तामा लोकप्रियता र बैचारिक उचाईका लागि हुने प्रतिस्पर्धा कुण्ठित भएको र अन्तरपार्टी सही लोकतान्त्रिक अभ्यास शुरु नहुँदा माओवादीको विभाजन हुन गई लोकप्रियतामा व्यापक गिरावट भएको तीतो अनुभव छ । यी तीता मीठा अनुभव अब नेपाल कम्युनिष्ट पार्टीका सम्पत्ति बनेका छन् । निश्चित वैधानिक प्रक्रियामा केपी ओली, प्रचण्डलगायतका नेकपाका तमाम नेता कार्यकर्ताहरु आन्तरिक पार्टी प्रतिस्पर्धामा होमिएका छन् ।
ग) कम्युनिष्ट पार्टीको नेतृत्वको प्रश्न
संसारका विभिन्न सत्तारुढ र सत्ताका लागि संघर्षरत कम्युनिष्ट पार्टीको प्रमुख पदमा पुगेपछि बाँचुन्जेल सो पदमा बसिरहने परम्परा बस्यो । त्यो भन्दा अगाडि बढेर कम्युनिष्ट नेताले आफ्नो शेषपछि आफ्नै सन्तानलाई सो पद हस्तान्तरण गर्ने तानावाना बुनिए, बुनिदैछन् । नेपालमा पनि यस्ता कैयन् उदाहरण छन् । लगभग चार दशकदेखि नारायणमान विजुक्छे नेमकिपाको अध्यक्ष छन् । माओवादीमा प्रचण्डको निरन्तर नेतृत्व तीन दशकदेखि जारी रह्यो । तर, एमालेले आफूलाई लोकतान्त्रिक बनाए यता कसैले पनि बढीमा दुई कार्यकालभन्दा बढी पार्टी नेतृत्वमा बसेको छैन । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व पनि बढीमा दुई कार्यकाल मात्र पार्टी नेतृत्वमा निर्वाचित हुनसक्ने अवस्थाबाट फरक रहने छैन ।
अहिले केपी ओली र प्रचण्डको अथक प्रयत्न र चट्टानी प्रतिबद्धताको कारण पुच्छर विनाको नेकपा हेर्ने जनताको बहुप्रतिक्षित अभिलाषा पूरा भएको छ ।
र अन्त्यमा,
देशको कम्युनिष्ट शक्ति विभाजित भएर आफ्नो नामको पछाडि पुच्छर गाँस्ने चलन बसेर आयो । त्यतिमात्र होइन, आफूलाई अरुभन्दा फरक र अब्बल देखाउन आफ्नो पुच्छरको बयान र बचाउ गर्ने प्रचलन बस्यो । आफूलाई मात्र क्रान्तिकारी देखाउन अरुलाई गद्दार, संसोधनवादी, उग्रवादीजस्ता आरोप प्रत्यारोपवाट नेपालको कम्युनिष्ट आन्दोलन ग्रस्त रह्यो । अर्कातिर परिवर्तनकामी नेपाली जनता भने असहमत हुने वित्तिकै पुच्छर थप्दै जाने परम्पराको सधैं विपक्षमा रहे । अहिले केपी ओली र प्रचण्डको अथक प्रयत्न र चट्टानी प्रतिबद्धताको कारण पुच्छर विनाको नेकपा हेर्ने जनताको बहुप्रतिक्षित अभिलाषा पूरा भएको छ । र, देशको विकास, समृद्धि र समाजवादको निर्माणमा अर्जुनदृष्टि दिन थप सहजता पैदा भएको छ ।















प्रतिक्रिया