शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

पार्टी र सरकारमा आलोपालो नेतृत्व 

दैनिक नेपाल २०७४ फागुन ८ गते ६:२९

काठमाडौं, ८ फागुन । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने नीतिगत सहमति भएको छ । संगठनात्मक विषय भने थप छलफल गरेर टुंगो लगाइनेछ ।

एकीकृत पार्टीको ‘नाम नेपाल कम्युनिस्ट पार्टी’ रहने र एकता महाधिवेशनसम्म अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारेर एकीकृत पार्टी सञ्चालन गर्ने दुई दलको सहमति छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

साढे चार महिनादेखिको छलफलमा ‘ब्रेक थ्रु’ गर्दै दुई दलले सोमबार राति पार्टी एकताको सातबुँदे प्रारम्भिक आधारपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिपत्रमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पार्टी एकता संयोजन समितिका आठ नेताले हस्ताक्षर गरेका छन् ।

पार्टी एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्दै केपी शर्मा अाेली र पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर – प्रदीप ज्ञवालीकाे फेसबुक

पार्टी र सरकारमा आलोपालो नेतृत्व 

सहमतिमा एकीकृत पार्टी र सरकारको नेतृत्वबारे केही पनि उल्लेख छैन ।

यद्यपि, एकता महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरूको अध्यक्षता दुवै पार्टीका वर्तमान अध्यक्षले आलोपालो प्रणालीबाट गर्ने र सरकारको नेतृत्वमा समेत आलोपालो गर्ने भद्र समझदारी भएको पार्टी एकता संयोजन समितिका एक सदस्यले बताए ।

पार्टी र सरकारको नेतृत्वबारे सहमतिपत्रमा उल्लेख गर्दा गलत सन्देश जाने भन्दै एमाले नेताहरूले अनुरोध गरेपछि मस्यौदाबाट हटाइएको स्रोतले जनाएको छ ।

‘पार्टी एकता संयोजन समितिमा रहनुभएका एमाले नेताले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति उल्लेख गर्दा गलत सन्देश जाने र एकताको भावना नै समाप्त हुने चिन्ता गरेका कारण आलोपालोका विषय हटाइएको हो,’ एक माओवादी नेताले भने ।

प्रतिक्रिया
सम्बन्धित