
-सिद्धिचरण भट्टराई
१. मदनका वैचारिक उत्तराधिकारी :
शंकर पोखरेल तत्कालिन नेकपा माले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (पाँचौ)को केन्द्रीय अध्यक्ष बन्नुअघि अभानेस्ववियुको अध्यक्ष भई भारत प्रवासमा काम गरेका थिए । त्यहिँबाट मदन भण्डारीको सानिध्य पाएका पोखरेल अनेरास्ववियुको नवौँ राष्ट्रिय सम्मेलनमा कोषाध्यक्ष, दशौँमा उपाध्यक्ष र एघारौँमा अध्यक्ष भएर नेपालको बिद्यार्थी राजनीतिको केन्द्रीय भूमिकामा रहेर राजनीतिक ‘करियर’ बनाएका व्यक्तित्व हुन ।
त्यतिखेर पार्टी भित्रको बैचारिक अन्तरविरोध अनेरास्ववियुमा फैलिएको थियो । त्यसबेलामै अनेरास्ववियुको अध्यक्षमा शंकर पोखरेल बहुदलीय जनवादबारे वैचारिक पुस्तिका सम्बन्धी धारमा आधारित भएर उपस्थित थिए । उनी नै त्यही हलबाट अनेरास्ववियुको अध्यक्ष बने । पार्टीको आधिकारिक लाइन नबन्दै मदन भण्डारीको बैचारिक लाईनमा उभिएका थिए । शंकर पोखरेलले त्यो ‘लिगेसी’लाई आजसम्म निरन्तरता दिएका छन ।
अनेरास्ववियुको एघारौँ राष्ट्रिय सम्मेलन पोखरामा चल्दै थियो । सायद ०४८ तिर हुनु पर्छ । माले माक्र्सवादी एकीकरण भएपछि अनेरास्ववियु पाँचौ र नेप्रवियु पनि एक भएका थिए । सम्मेलन हलमा पार्टी महासचिव मदन भण्डारीको बहुदलीय जनवादबारे भन्ने पुस्तिकामा आधारित भएर अनेरास्वयुको राजनीतिक दस्तावेजमा सोही कार्यदिशालाई समर्थन गर्ने उल्लेख भएर प्रस्तुत भयो । पार्टीले आधिकारिक दस्तावेज नबनाउँदै कमरेड मदनले सार्वजनिक गरेको विचारलाई अखिलले स्वीकारी हाल्नु पर्छ/पर्दैन भन्ने बिषयमा सम्मेलन हल विवादित बन्यो । म पनि रुपन्देहीको अनेरास्ववियुको प्रतिनिधी भएर हलमा उपस्थित थिएँ । सिपी मैनाली लाईनमा रहेर केही साथीहरुले त्यसको खुलेर बिरोध गरिरहेका थिए ।
रुपन्देहीका हामी प्रतिनिधीहरु बहुदलीय जनवादलाई जस्ताको तस्तै अखिलको दस्तावेजमा नराखि जनवादमा बहुदलीय प्रतिष्पर्धात्मक व्यवस्थाको लाइन लिने कुरा पारित गर्ने प्रस्ताव अघि सार्यौ, त्यो कुरा हलले पारित गर्यो । त्यतिखेर पार्टी भित्रको बैचारिक अन्तरविरोध अनेरास्ववियुमा फैलिएको थियो । त्यसबेलामै अनेरास्ववियुको अध्यक्षमा शंकर पोखरेल बहुदलीय जनवादबारे वैचारिक पुस्तिका सम्बन्धी धारमा आधारित भएर उपस्थित थिए । उनी नै त्यही हलबाट अनेरास्ववियुको अध्यक्ष बने । पार्टीको आधिकारिक लाइन नबन्दै मदन भण्डारीको बैचारिक लाईनमा उभिएका थिए । शंकर पोखरेलले त्यो ‘लिगेसी’लाई आजसम्म निरन्तरता दिएका छन ।
२. रोलमोडल बन्ने अवसरः
शंकर पोखरेल भारत प्रवासमा काम गर्दै नेपालको बिद्यार्थी आन्दोलन मार्फत राष्ट्रिय राजनीतिमा छवि बनाएका व्यक्ति आज गणतन्त्र नेपालको संविधान बमोजिम संघीयताको कार्यन्वयनसँगै प्रदेश नम्बर ५ को प्रथम मुख्यमन्त्री हुने सौभाग्य पाएका छन् । पोखरेल ०४६ सालको लोकतान्त्रिक आन्दोलनले खारेको ०६२/०६३ को आन्दोलनले बैचारिक रुपमा स्थापित गरेको राष्ट्रिय व्यक्तित्वको रुपमा परिचित छन । उनले एमालेभित्र मदन भण्डारी पछि जबजको सबैभन्दा सुझबुझपूर्ण व्याख्या गर्दै युवा र पाको पुस्तालाई पनि विश्वस्त पारेका छन । जबजको रक्षक ठानिएका पोखरेल प्रदेश नम्बर ५ को मुख्यमन्त्री हुनु र उनकै धारको प्रमुख व्यक्ति केपी ओली प्रधानमन्त्री हुने समयलाई उनले सहि उपयोग गरे भने उनलाई भारतका नरेन्द्र मोदीजस्तै रोल मोडेल बन्ने अवसर प्राप्त छ ।
एमाले–माओवादी गठबन्धनको जगमा उभिएको वाम गठबन्धनका साझा उम्मेदवारको रुपमा प्रस्तावित भएर मुख्यमन्त्री बन्ने सौभाग्य प्राप्त गर्दै गर्दा सिद्धान्तलाई जीवनमा बदल्न उनले कस्तो भूमिका निभाउने छन ? त्यो आम जनता र सचेत नागरिकले हेर्ने प्रश्न हुँदै हो ।
३. शंकरलाई प्रश्नको चुनौती :
रोल मोडल व्यक्ति मात्र होइन सिद्धान्तको रोल मोडल प्रस्तुत गर्नुमा नवनिर्वाचित मुख्यमन्त्रीको मुख्य चुनौती हो । प्रदेश नम्बर ५, शान्ति दर्शनका प्रणेता गौतम बुद्धको जन्म थलो लुम्बिनी, प्राचिन तपोभूमि कपिलवस्तु, पाणीनि, रुरु, रेसुंगा, स्वर्गद्धारी जस्ता साँस्कृतिक क्षेत्रहरुले भरिपूर्ण क्षेत्र हो । हिमालदेखि तराईसम्म जोडिएको यो क्षेत्रको पर्यटन, कृषि, बिद्युत, उद्योग सबै क्षेत्रमा उच्चतम विकासको सभावना छ ।
जनसंख्या र शहरी विकासका सभावना पनि उत्तिकै छन । भारतसँग जोडिएका भैरहवा भन्सार नाका देशकै दोश्रो महत्वपूर्ण नाका यसै प्रदेशमा पर्दछ । कालिगण्डकी, राप्ती र कर्णाली जस्ता ठूला नदीहरुको पानीको सदुपयोग, बर्दिया राष्ट्रिय निकुञ्ज जस्ता प्राकृतिक सम्पदाले भरिपूर्ण यो क्षेत्रको बहुआयामिक विकास गर्न सकिन्छ त्यो पनि दु्रत रुपमा । यस्तो सम्भावनाको क्षेत्रमा जबजका सहि व्याख्याताले मुख्यमन्त्री पाउनु आफै सिद्धान्त र व्यक्तित्वका लागि पनि ठूलो अवसर हो भन्ने मलाई लाग्छ ।
एमाले–माओवादी गठबन्धनको जगमा उभिएको वाम गठबन्धनका साझा उम्मेदवारको रुपमा प्रस्तावित भएर मुख्यमन्त्री बन्ने सौभाग्य प्राप्त गर्दै गर्दा सिद्धान्तलाई जीवनमा बदल्न उनले कस्तो भूमिका निभाउने छन ? त्यो आम जनता र सचेत नागरिकले हेर्ने प्रश्न हुँदै हो । प्रदेशसभा र प्रदेश सरकारको कामको सन्तुलन मिलाएर जबजको मार्गदर्शनमा प्रदेश कानुन प्रदेशसभामा प्रस्तुत गर्ने अवसर उनलाई छ । जबजको राजनीतिक क्रान्तिको चरण सकिएर आर्थिक र सामाजिक रुपान्तरणको चरण शुरु भएको वर्तमान अवस्थामा यो चरणले जनताको जीवनमा कसरी समृद्धि ल्याउछ भनेर देखाउनु पनि शंकर पोखरेलका लागि चुनौती हो ।
४. जबजका द्रष्टा :
मैले शंकर पोखरेललाई जबजको द्रष्टाका रुपमा देख्दछु, बुझदछु । जतिबेला माओवादी सञ्चालित जनयुद्ध र विद्रोहको शान्तिपूर्ण निकासबारे देशमा बहस थियो त्यतिवेला एमाले भित्र संविधानसभालाई स्वीकारेर अघि बढ्दा नै जबजको नजिक पुग्न सकिन्छ भन्ने विचार ०६१ को जनकपूर महाधिवेशनमा एक्लै उनले प्रस्ताव पेश गरेका थिए । त्यतिखेर पार्टीको संस्थापन लाइन संविधान सभाप्रति उदार थिएन । यद्यपी, महाधिवेशनले ‘सवै विकल्प खुल्ला’ भन्ने लाइन लियो ।
पछि खुल्ला विकल्पमा टेकेर एमाले संविधानसभामा सहमत भयो, देशले जबजको दिशामा फड्को मार्यो । एमाले भित्रको यथास्थितीवादलाई चिर्न विभिन्न नागरिक अभियानमार्फत शंकर पोखरेललाई पटक–पटक बुटवलमा बोलाएर शान्तिपूर्ण निकासका लागि प्रयत्न गर्ने म स्वयं एक अभियन्ता भएको नाताले संघीयता, समावेशिता, अग्रगामी सामाजिक आर्थिक रुपान्तरणमा उनैले डाडुपुन्यो समाउँदा ५ नम्बर प्रदेशले काँचुली फेर्नुपर्छ, फेरिनेछ भन्नेमा विश्वस्त छु । सबै सिद्धान्तद्रष्टाहरुलाई आफ्नै कार्यकालमा यो अवसर प्राप्त हुँदैन, जुन शंकर पोखरेलाई प्राप्त छ ।
५. होशियारीका लागि केही कुरा :
मदन भण्डारीका उत्तराधिकारी हुनुको नाताले उनले ओलीको सकारात्मक लाइनको पक्षपोषण गर्न र नकारात्मक ‘लिगेसी’ र प्रवत्तिबाट जोगिन सक्नुपर्छ । जसरी आफ्नै आलोचक र प्रतिष्पर्धी सिपी मैनालीलाई छैटौँ महाधिवेशनबाट स्थायी समितिमा ल्याउन र सांगठनिक रुपमा कमजोर भएपनि व्यक्तित्वको उचाईका कारण मनमोहन अधिकारीलाई अध्यक्ष स्वीकारेर आन्दोलनलाई दिशा दिने मदन भण्डारीको व्यवहार उनमा देखिनुपर्छ ।
पार्टी भित्रको क्रान्तिको नाम लिँदै क्रान्तिकै गला रेट्ने अर्थात जबजको नाम लिँदै जबजकै गला रेट्ने खतरनाक प्रवृत्तिसँग पोखरेल जोगिनु पर्छ । जसरी अहिले ओलीको ‘किचन क्याबिनेट’ले पार्टीको जनवादलाई खुम्चाएको छ, त्यसरी शंकर ‘किचन क्याबिनेट’ले प्रदेशमा जबजका मुल्य मान्यताहरुलाई स्थापित गरोस् र धुजाधुजा नपारोस, किचन समूहका स्वार्थहरुबाट जोगिएर काम गर्न उनलाई शाहस र धैर्यता प्राप्त होस भन्ने म कामना गर्दछु । किनभने पार्टीभित्र जी हजुरी, चाकरी र चाप्लुसी, दलाली मनोवृत्तिका कार्यकर्ताको बाहुल्यता अत्यधिक छ, यसर्थ सहि आलोचकहरुसँग पनि सामिप्यता राखेर सँगै हिँड्ने कमरेडली प्रवृत्ति र मनोवृत्ति विकास हुनु जरुरी छ, अन्यथा हामी सामाजिक आर्थिक रुपले दलाल पुँजीवादको जगजगीमा छौँ ।
यसले पार्टी पनि दलाल वा स्वार्थ समूहबाट नै निर्देशित गर्ने खतरा रहन्छ । साँस्कृतिक विचलनको डरलाग्दो महामारी हामी कहाँ छ । यो महामारीबाट जोगिनु होला । स्वयं मुख्यमन्त्रीको ‘किचन टिम’मै त्यस्तै समूहको बाहुल्यता बढ्यो भने जनताको बहुदलीय जनबाद नेताको बाहुबलिय धनवाद र डनवादमा रुपान्तरित हुन सक्छ । यसका अवयवहरु हामीसँगै छन् । यी सँग उनले जोगिनै पर्छ ।
गरिबीको स्तर, आधारभूत स्वास्थ्य सेवा, आधारभूत शिक्षा, प्रतिव्यक्ति आय स्थितीमा सुधार, मानव विकास सुचकांक बृद्धि, खानेपानी र आवास जस्ता बिषयमा स्पष्ट रुपमा लक्ष्य किटान गरेर समृद्धिको दिशा तय गर्न ठोस कार्यक्रम ल्याइनुपर्छ । त्यसका लागि स्थानीय तह र प्रदेश सरकार एवं पार्टी संगठनका कार्यभार निश्चित गरिनुपर्छ ।
६. आशातित कार्यसूचीहरु :
कोरा पानामा जे लेख्यो त्यही बन्छ भने जस्तै अहिले खाली जमिनको रुपमा छ ५ नम्बर भन्ने ठानौ हामी । अहिले बनाएको हाम्रो काम दीर्घकालका लागि जग वा आधार स्तम्भ हुनेछ । यो जस्तो गरी अघि बढनेछ यहाँको विकासको मोडल पनि त्यसरी नै सुचारु हुनेछ । यसका लागि ५ नम्बर प्रदेशको तथ्यमा आधारित कार्यसूची बन्न जरुरी हुन्छ । हामीले ५ बर्षमा कसरी काम गर्र्छाै र यहाँको आजको अवस्थाबाट कहाँ पुर्याउछौ, यसको सूचकहरुमा आधारित रोडम्याप हुन जरुरी हुन्छ । साधन र समय सिमित छ, आवश्यकता असिमित छन् तर, हामीले यहीँबाट अघि जाने भने यात्रा शुरु गर्नुअघि त्यसको आधारभूत रुपरेखा बन्नैपर्छ ।
गरिबीको स्तर, आधारभूत स्वास्थ्य सेवा, आधारभूत शिक्षा, प्रतिव्यक्ति आय स्थितीमा सुधार, मानव विकास सुचकांक बृद्धि, खानेपानी र आवास जस्ता बिषयमा स्पष्ट रुपमा लक्ष्य किटान गरेर समृद्धिको दिशा तय गर्न ठोस कार्यक्रम ल्याइनुपर्छ । त्यसका लागि स्थानीय तह र प्रदेश सरकार एवं पार्टी संगठनका कार्यभार निश्चित गरिनुपर्छ । जनप्रतिनिधीको कार्यमूल्यांकन मापदण्ड पनि त्यसैगरी निर्धारित हुनुपर्छ । यहि किसिमको विकास र समृद्धिको अवधारणापत्र, नीति तथा कार्यक्रमको प्रारम्भिक खाका उहाँले ल्याउन कार्यसूची प्रस्तुत गर्नु हुनेछ, प्रदेशवासी जनसमुदायलाई आश्वस्त पार्नुहुनेछ । पार्टीको नवौँ महाधिवेशनले पारित गरेको राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादतिर अघि बढ्ने कार्यदिशालाई बल पुर्याउन र संविधानमै उल्लेख गरेको गास,बास र कपाससहितको सामाजिक न्याय स्थापित गर्न उहाँको कार्यकाल सफल बनोस् ।आशावादी भएर हेरौँ । मुख्यमन्त्रीको रुपमा शंकर पोखरेललाई धेरै धेरै शुभकामना !















प्रतिक्रिया