तत्कालिन काँग्रेस सभापति शुशिल कोइरालाको मन्त्रीमण्डलमा सामान्य प्रशासन मन्त्री भएर चर्चामा आएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डित बिहीबार जनसंख्या तथा वातावरण मन्त्री नियुक्त भएका छन् । नेपालका ४१ औँ प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शपथ लिए लगत्तै पण्डितले मन्त्रीको शपथ लिएका हुन् ।
कडा स्वभावका मन्त्रीको रुपमा परिचित पण्डित स्वच्छ छबिका नेता हुन् । उनी गएको मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद हुन् ।
जनसंख्या तथा वातावरण मन्त्री बनेका पण्डितले आफूले पाएको जिम्मेवारी सिंहजस्तै नडराईकन पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री पण्डितसँग दैनिक नेपालका लागि हेम रोकाहाको कुराकानी :
आज विहानसम्म तपाई मन्त्री हुने कुरा थिएन, तपाईलाई मन्त्री हुँदैछु भन्ने केही जानकारी थियो र ?
थिएन । अपर्झट खवर आयो । हतार हतारमा आएर सपथ लिएको हुँ ।
दोस्रोपटक मन्त्री हुनुभा’को छ, कस्तो महशुस भैरा’छ ?
प्रधानमन्त्री केपी ओलीजीले विश्वास गर्नुभयो, पार्टीले विश्वास गर्यो । म यसमा सन्तुष्ट छु ।
तपाईंले त गृहमन्त्री ताक्नुभा’थ्यो, जनसंख्या तथा वातावरण मन्त्री हुनुभयो । कस्तो लागिरा’छ ?
जुन मन्त्री भएपनि काम गर्ने हो । मैले जनसंख्या तथा वातावरण मन्त्री भएर पनि राम्रो काम गर्न सक्छु । अब कामको थालनी हुन्छ । यसै मन्त्रालयबाट मैले परिणाममुखी काम गर्न सक्छु ।
तपाईंलाई त कडा स्वभावको मन्त्री भन्छन् नि ?
काममा कडा कि नाममा ? ….. म इमान्दारीपूर्वक काम गर्छु । गलत कुरासँग नझुकिकन सिंहजस्तै नडराई आफूले पाएको जिम्मेवारी पुरा गर्छु । त्यत्ति हो ।
वातावरण मन्त्रीको रुपमा तपाईंको प्राथमिकता के हुनेछ ?
वातावरणमैत्री, मानवमैत्री तथा जनसंख्याको नियन्त्रण गर्ने जुन नीति छ त्यसलाई प्रभावकारिताका साथ अघि बढाउने मेरो काम हुनेछ ।













प्रतिक्रिया