१४ कार्तिक २०८३, शनिबार

एमालेलाई प्रदेश–२ फलामको चिउरा

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । सात दशकको दौरानमा नेपालमा करिब दुई दर्जन वटा राष्ट्रिय स्तरका निर्वाचन सम्पन्न भए । ति निर्वाचन दोषरहित बन्न सके वा सकेनन् सबैमा जगजाहेर नै छ ।

संविधानसभाबाट जारी भएको पहिलो संविधान र त्यसले परिकल्पना गरेको संघीय इकाइहरुको छिटपुट घटनाबाहेक भर्खरै निर्वाचन सम्पन्न भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तीन चरणमा स्थानीय तह र तीन चरणमा प्रदेश, प्रतिनिधि र राष्ट्रियसभाको निर्वाचन सम्पन्न भयो । स्थानीय तह र प्रदेशसभाले आफ्नो कामकारबाही सुरु गरिसके भने प्रतिनिधिसभाले पनि चाँडै आफ्नो कामकारबाहीलाई अन्तिमरुप दिएर अघि बढ्नेछ ।

गत १० मंसिरमा पहिलो चरणमा ३२ जिल्लाका ३७ क्षेत्रमा प्रतिनिधिसभा र ७४ स्थानमा प्रदेश सभाको निर्वाचन भयो । जहाँ ३० वटा जिल्लामा वाम गठबन्धनले ‘क्लिनस्विप’ गर्‍यो भने गोरखाको २ नम्बर क्षेत्र र रसुवा जिल्ला कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले ‘क्लिन स्विप’ गर्‍यो । २१ मंसिरमा दोस्रो चरणमा ४५ जिल्लाका १२८ क्षेत्रमा प्रतिनिधिसमा र २६५ क्षेत्रमा प्रदेशसभाको निर्वाचन थियो । त्यतिबेला पनि वाम गठबन्धनले २५ वटा जिल्लामा प्रदेश तथा प्रतिनिधिसभाको दुवै सिटमा ‘क्लिनस्विप’ गर्‍यो ।

स्थानीय तहको निर्वाचनमा झैँ एमालेका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन प्रदेश नम्बर २ भने प्रतिकुल बन्न पुग्यो । सो प्रदेशमा १३६ वटा स्थानीय तह थियो, जहाँ १८ तह जितेर एमाले पाँचौँ स्थानमा रहेको थियो भने कांगे्रस (४० स्थान) पहिलो, संघीय समाजवादी फोरम (२६ स्थान) दोस्रो, राष्ट्रिय जनता पार्टी नेपाल (२५ स्थान) तेस्रो र माओवादी (२१ स्थान) चौथौँ दल बनेको थियो ।

संविधान निर्माणताका बेलादेखि नै मधेसकेन्द्रीत दलहरु आन्दोलित भइरहेका थिए । खासगरी भाषा, नागरिकता, सिमांकन हेरफेर, जनसंख्यालाई प्राथमिकतामा राखेर निर्वाचन क्षेत्र छुट्याउनु पर्नेलगायतका माग राखी जेहाद छेडिरहेका थिए । उक्त मागहरुमा एमाले बाधक बनेको भन्दै मधेस विरोधीको रूपमा औँल्याउँदै इख पालेर बसे । मधेसकेन्द्रित दलहरुले एमालेलाई मधेस प्रवेशमा निषेध नै गरे । झापाको काँकडभिट्टाबाट सुरु भएको एमालेको मेची–महाकाली चुनावी अभियान सप्तरीको राजविराजमा आइपुगेपछि झडपमा परिणत भएको थियो ।

प्रहरीको गोली लागेर तीन जना आन्दोलनकारीको निधन भयो । स्थानीय तहबाट सुरु भएको नकारात्मक परिणाम आउन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि बेहाल परिणाम आयो । ८ जिल्ला रहेको प्रदेश–२ मा ३२ वटा प्रनिधिसभा र ६४ वटा प्रदेशसभाको क्षेत्र छ । एमालेका उम्मेदवारहरु सिरहा–३ बाट लीला श्रेष्ठ र धनुषा–४ बाट रघुवीर महासेठले प्रतिनिधिसभामा जिते भने प्रदेशसभामा एमालेले १४ स्थान जित्यो ।

पहाडी घना वस्तीबाट एमालेले चुनाव जित्दै गर्दा पर्सामा भने निल हुन पुग्यो । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवलाई भेटेर तराईमा भइरहेका प्रोपोगाण्डाहरु रोक्न आग्रह गरेका थिए । उनले देउवालाई राजपाका नेता राजेन्द्र महतोलगायतले आन्दोलनका क्रममा भएका घाइते तथा मृतकको फोटो र प्रोजेक्टरमार्फत मतदातालाई आकर्षित तुल्याउन भिडियोसमेत गाउँटोल पुगेर देखाएका थिए ।

अन्य क्षेत्रबाट चुनावमा पराजित भए पनि प्रदेश–२ ले पूर्ति गर्ने ठानेकाले एमाले नेतृत्वको आवाज सुनेको नसुने झैँ भए । अरुलाई खाने बाघले आफूलाई पनि खान्छ भन्ने देउवाले हेक्का नराख्दा एमालेलाई खाओस् भनेर छोडेको बाघले कांग्रेसलाई मात्रै खाएन त्यसको कोपभाजनमा माओवादी केन्द्र पनि पर्‍यो ।

कांग्रेसले प्रदेश–२ बाट प्रतिनिधिसभामा ६ सिट र प्रदेशसभामा ८ सिट जित्यो भने माओवादीले प्रतिनिधिसभामा ५ सिट र प्रदेशसभामा ६ सिट जित्यो । यो प्रदेशमा प्रतिनिधिसभामा राजपाले ११ र संघीय समाजवादी फोरमले १० वटा सिट जितेका छन् ।