१ कार्तिक २०८३, आइतबार

एशियाली विकास बैंकले नेपाललाई दियाे १० अर्ब ऋण सहयोग

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ माघ । एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न रु १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ । उक्त बैंकले स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनःसंरचनाका निम्ति रु १० करोड बराबरको प्राविधिक सहायता पनि उपलब्ध गराउने भएको छ ।

आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण तथा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदाख्नोभ र अर्थसचिव शंकरप्रसाद अधिकारीले हस्ताक्षर गरे । उक्त परियोजनाअन्तर्गत मुलुकका विभिन्न १६ जिल्लाका ३८८ किलोमिटर ग्रामीण सडक बाह्रै महिना सञ्चालन योग्य बनाइनेछ । परियोजनाबाट ७५ लाख ग्रामीण जनतालाई कृषि सडकसम्म पहुँच विस्तार हुनेछ भने व्यावसायिक कृषि, उत्पादकत्व वृद्धि, ग्रामीण भेगमा रोजगारीका अवसर सिर्जना र नेपालीको समृद्धिमा सघाउ पुग्नेछ ।

त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै देशीय निर्देशक खामुदाख्नोभले नेपालको ग्रामीण भेगलाई यातायात सञ्जालबाट जोड्न ऋण सहयोग प्रदान गरिएको बताउँदै परियोजना पूरा भएपछि सबै याममा सडक सञ्चालन हुने विश्वास व्यक्त गरे । अर्थसचिव अधिकारीले नेपालको सामाजिक, आर्थिक विकासमा एशियाली विकास बैंकबाट निरन्तर रुपमा प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गरे । –रासस