शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

आईसीसी डिभिजन टु : पारस खड्काको अर्धसतकको मद्यतले नेपालद्वारा युएईविरुद्धको खेलमा जित हासिल

दैनिक नेपाल २०७४ माघ २८ गते २२:०२

काठमाडौँ, २८ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ को तेस्रो खेलमा नेपालले आइतबार युएईविरुद्ध जित हासिल गरेको छ । नेपालले युएईलाई ४ विकेटले पराजित गरेको हो ।

युएईले दिएको ११५ रनको लक्ष्य नेपालले ३८ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर भट्टायो । नेपाललाई जिताउन कप्तान पारस खड्काले सर्वाधिक ५१ रनको योगदान गरे । खड्का खेलको प्लेयर अफ द म्याच भए । आरिफ सेखले १६, रोहित पौडेलले १२ र सोमपाल कामीले १० रन बनाए । युएईका मोहम्मद नभिद र आमीर हायातले २÷२ तथा अहमेद राजा र रोहन मुस्ताफाले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले नेपालसामु ११५ रनको विजय लक्ष्य पेश गरेको थियो । युएईले ३१ ओभरमा अलआउट हुँदै ११४ रन बनाएको हो । युएईका लागि साईमान अनवारले ३०, अदनान मुफ्तीले १८, गुलाम शाबेरले १६ तथा मोहम्मद बुटाले १५ रन बनाए । युएईलाई ११४ रनमा समेट्न नेपालका सोमपाल कामीले ४, सन्दीप लामिछाने ३, तथा पारस खड्काले २ र करन केसीले १ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित