१ कार्तिक २०८३, आइतबार

मौरीपालनबाट वार्षिक तीस लाख आम्दानी गर्छन् यी पूर्वप्राध्यापक

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जीतपुर (कपिलवस्तु), २७ माघ । कपिलवस्तुकाे वाणगंगा–१ जीतपुरका अर्जुनप्रसाद पोख्रेलले व्यावसायिक मौरीपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । गाउँघरमा मास्टरको परिचय बनाएका पोख्रेलले अब भने व्यावसायिक मौरीपालक किसानका रुपमा परिचय बनाउन थालेका छन् ।

उमेरले ४५ वर्ष काटेका उनले डेढ दशकदेखि व्यावसायिक मौरीपालन पेशा अँगाल्दै आएका छन् । बीस घार मौरीबाट व्यवसाय शुरु गरेका उनले अहिले बढाएर १०० घार पुर्‍याएका छन् । आफ्नै घर वरिपरिको सात रोपनी क्षेत्रफलमा व्यवसाय गरेका पोख्रेलले अबको केही महिनापछि एक हजार घार मौरी पाल्ने योजना बनाएका छन् ।

एक सय घार मौरीबाट उनले वार्षिक ४० क्विन्टल मह उत्पादन गर्दै आएका छन् । मौरीको मह, मैन र गोला गरी वार्षिक रु ३० लाखसम्म आम्दानी हुने गरेको पोख्रेलले बताए । अहिले प्रतिकिलोग्राम महको मूल्य रु ८०० छ । त्यस्तै मौरीसहितको घारलाई रु सात हजार र प्रतिखाली घार रु तीन हजारका दरले बिक्री हुने गरेका छन् । वार्षिकरुपमा १०० देखि २५० वटासम्म बिक्री गर्ने गरेको छ । सबै खर्च कटाएर कम्तीमा पनि वार्षिक रु १५ लाख बचत हुने उनको भनाइ छ । उनले उत्पादन गरेको मह प्रदेश नम्बर ५ मा सबै जिल्लाका साथै काठमाडौँमा समेत जाने गरेको छ । मौरीपालनका लागि उनले अहिलेसम्म रु ४० लाख लगानी लगाएका छन् ।

अर्थशास्त्र र समाजशास्त्र विषयबाट डबल डिग्री गरेका पोख्रेलले काममा सानो ठूलो केही नहुने बताउँछन् । उनले भने, “मैले दुई विषयमा डिग्री गरेको छु, एकदशक अध्यापन पेशा अँगालेको छु । तर मौरीमै भविष्य देखेर मौरीपालन व्यवसाय थालेको हुँ ।” पेशा सानो ठूलोभन्दा पनि मिहिनेत ठूलो कुरो भएकाे पोख्रलले बताए ।

श्रीमान् श्रीमती मिलेर मौरीपालन व्यवसाय शुरु गरेका पोख्रेलले आफूबाहेक अन्य पाँच जनालाई समेत रोजगारी दिएका छन् । उनले मौरीको मह बेच्ने ‘अर्जुन बेस्ट हनी’ नामको आफ्नै पसल पनि सञ्चालन गर्दै आएका छन् । पसलबाट पनि राम्रै कारोबार हुने गरेको उनको भनाइ छ । “आफूले उत्पादन गरेको मह मात्र नभई अन्य किसानले उत्पादन गरेको मह खरिद गरी ग्राहकलाई बेच्ने गरेको छु” उनले भने, “त्यसबाट पनि राम्रो कमाइ भइरहेको छ ।”

देशका लाखौँ युवा विदेशको खाडीमा छन् । उनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गरी नेपाल फर्काउनुपर्ने उनको भनाइ छ । यो व्यवसाय पढेलेखेकाले पनि गर्न सकिन्छ भनेर आफैँले सुरुआत गरेको पोख्रेलको भनाइ छ । उनी भन्छन्, “त्यो काम आफूजस्ता पढेलेखेका बाटै सुरुआत गर्नुपर्ने देखेर मौरीपालन व्यवसाय थालेको हुँ । यस व्यवसायबाट आफूसँगै अरुलाई पनि रोजगारी दिन सकिन्छ ।”

नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्षसमेत रहेका पोख्रेल देशलाई महमा आत्मनिर्भर बनाउने अभियानमा आफू लागेको बताए । अझै पनि मह उत्पादनमा देश आत्मनिर्भर नभएको उनले बताए । अझै पनि राज्यले ६० प्रतिशत मह विदेशबाट निर्यात गर्दै आएको उनको दाबी छ ।

“मह उत्पादन भएदेखि बजारको कुनै समस्या छैन”, उनले भने, “यस क्षेत्रका फूल र जडीबुटी खाएर बनेको मह भएकाले स्वस्थ्यकर र स्वादिलो छन् ।” उनले प्रत्येक तीन महिनामा मह काढ्ने गरेका छन् । जेठ, मंसिर, फागुन र असोजमा मह काढ्ने गरेको पोख्रेलले जानकारी दिए । एकपटकमा एकदेखि डेढ क्विन्टलसम्म मह उत्पादन हुने गरेको उनले बताए ।

जिल्लामा ३०० बढी किसानले व्यावसायिकरुपमा मौरीपालन व्यवसाय गरेको वाणगंगा मौरीपालन सहकारी संस्थाले जनाएको छ । जिल्लामा मौरीपालनका लागि चरण क्षेत्र राम्रो मानिएकाले व्यवसाय फष्टाएको सहकारीका अध्यक्ष लीलापति घिमिरेले बताए ।

यहाँ दलहन, तेलहन प्रशस्तमात्रामा लगाइने भएको कारण मौरीपालनका लागि राम्रो भएको उनले बताए । साथै साल, सिसौ, जंगली रुदिलो पनि राम्रै भएकाले तिनको फूल मौरीका लागि राम्रो आहार हुने किसान बताउँछन् । यहाँ मेलिफेरा जातको मौरी पालिने गरिएको छ । –रासस