काठमाडौँ, २४ माघ । शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधि आयोजक शिवम् न्यू डायमण्ड एकेडेमीले जितेको छ । विभागीय क्लब एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै न्यु डायमण्डले उपाधि कब्जा गरेको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा मंगलबार सम्पन्न फाइनल खेलको पहिलो सेट भने न्यु डायमण्डले २६–२४ ले गुमाएको थियो । तर त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जित्दै उपाधि कब्जा गरेको हो । न्यु डायमण्डले दोस्रो, तेस्रो र चौथो क्रमशः २५–२३, २८–२६ र २५–२३ को सेटमा एपीएफ क्लबलाई पराजित गर्न सफल भयो ।
शिवम् सिमेन्ट मुख्य प्रायोजनमा संचालित प्रतियोगिताको उपाधि जितेको न्यु डायमण्डले १ लाख ५१ हजार नगदसहित ट्रफि प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको एपीएफले १ लाख १ हजार नगदसहित ट्रफि हात पारेको छ । मंगलबार नै तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले पश्चिमाञ्चलको टप्स उच्च माविलाई २५–१६, २६–२४ र २५–२१ को सेटमा पराजित गर्दै तेस्रो भएको छ । आर्मीले ५१ हजार र चौथो भएको टप्सले २१ हजार नगद प्राप्त गरेका छन् । चौँथो स्थानमा रहेको टप्सले नगद २१ हजार प्राप्त गर्न सफल भयो ।
प्रतियोगिताका बेष्ट प्लेयर प्रतिभा माली घोषित भएकी छिन् । उनले शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले सौजन्य गरेको नगद १० हजार प्राप्त गरिन् । त्यस्तै, स्पाईकर एपीएफकी सरस्वती चौधरी, बेष्ट ब्लकर आर्मीकी संगम महत्तो, बेष्ट क्वीकर न्यु डायमण्डकी ललिता नाथ, बेष्ट सर्भर न्यु डायमण्डकै पनामिका राई, बेष्ट लिब्रो न्यु डायमण्डकी सविना श्रेष्ठ, बेष्ट सेटरमा न्यु डायमण्डकै कृपा अधिकारी घोषित भइन् ।
उनीहरुले जनहि ५ हजार नगद प्राप्त गर्दा उत्कृष्ट प्रशिक्षकमा न्यु डायमण्डका कुमार राई घोषित भए । नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेसरी मालीबाट सौजन्य गरिएको नगद १५ हजार प्राप्त गरे ।















प्रतिक्रिया