काठमाडौं, १९ माघ । भारतीय दुई कम्पनीले नेपालमा क्यासिनो सञ्चालनका लागि ५० करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेका छन् ।
प्राइट इन्टरटेन्मेन्ट एन्ड रिक्रियसन सेन्टरले काठमाडौं र एसएचएल म्यानेजमेन्ट सर्भिसेसले रूपन्देहीमा क्यासिनो सञ्चालन गर्न गरेको प्रस्तावलाई उद्योग विभागले स्वीकृति दिइसकेको छ ।
भारतीय प्राइट इन्टरटेन्मेन्ट एन्ड रिक्रियसन सेन्टरको २५ करोड रुपैयाँमा क्योसिनो सञ्चालन गर्ने प्रस्तावमा विभागले सहमति दिएको हो ।
कम्पनीले ८५ प्रतिशत विदेशी लगानी र १५ प्रतिशत नेपालीको लगानीमा क्यासिनो सञ्चालन गर्न लागेको छ । क्यासिनो सञ्चालनमा आएपछि कम्पनीले २५ जनालाई रोजगारीको अवसर दिने उल्लेख गरेको छ ।
एसएचएल म्यानेजमेन्ट सर्भिसेसले पनि २५ करोड रुपैयाँकै लगानीमा रूपन्देहीमा क्यासिनो सञ्चालनका लागि उद्योग विभागबाट स्वीकृति लिएको छ ।
यस कम्पनीमा ९० प्रतिशत विदेशी लगानी र १० प्रतिशत नेपाली लगानी रहनेछ । क्यासिनो सञ्चालनमा आएपछि पाँच सय जनाले रोजगारी पाउनेछन् ।
प्रस्ताव स्वीकृति भएका कम्पनीले क्यासिनो नियमावली २०७२ अनुसार आफै लाइसेन्स लिएर पाँच तारे होटलमा क्यासिनो सञ्चालन गर्न पाउनेछन् । कम्पनीले होटलले लिएको क्यासिनो सञ्चालनको लाइसेन्सबाट पनि क्यासिनो सञ्चालन गर्न पाउने कानुनी व्यवस्था छ ।
नेपालमा होटल सोल्टीले सन् १९६८ अगाडि नै क्यासिनो सुरु गरेको थियो । तर, १९७० कै दशकमा अमेरिकन नागरिक आरडी टटलको कन्टिनेन्टल ग्रुपले क्यासिनोको व्यवस्थापन सुरु गरेको थियो ।
भुटानी राजपरिवारका नातेदार लेनी दोर्जीले केही समय क्यासिनो नेपालको व्यवस्थापन नेतृत्व गरेका थिए । आरडी टटल क्यासिनोका अनुभवी थिए ।
उनले मलेसियाको ‘गेन्टिङ हाइल्यान्ड’ मा पनि साझेदार भई क्यासिनो चलाइसकेका थिए । २०४८ सालमा निर्वाचित सरकार बनेपछि थप तीन होटेलमा क्यासिनो सञ्चालनको लाइसेन्स दिइयो ।
सन् १९९२ मा क्यासिनो अन्ना (होटेल अन्नपूर्ण) र सन् १९९३ मा क्यासिनो एभरेस्ट (होटेल एभरेस्ट) र क्यासिनो रोयल (होटेल याक एन्ड यती)को लाइसेन्स दिइयो । क्यासिनो एउटाबाट एकैपटक चार वटा हुँदा ग्राहक बाँडिए, प्रतिस्पर्धा चर्कियो । नेपाली ग्राहकलाई खुसुक्क क्यासिनोमा छिराउने काम यहीँबाट सुरु भएको थिए ।
प्राइट इन्टरटेन्मेन्ट एन्ड रिक्रियसन सेन्टरले काठमाडौं र एसएचएल म्यानेजमेन्ट सर्भिसेसले रूपन्देहीमा क्यासिनो सञ्चालन गर्न गरेको प्रस्तावलाई उद्योग विभागले स्वीकृति दिइसकेको छ ।
पाँचतारे होटेलसँगै क्यासिनो थपिने क्रम चल्दै गयो । पाँचतारे होटेलले केही गर्नुपर्थेन, टटलको नेपाल रिक्रियसन सेन्टरलाई जिम्मा दिए पुग्थ्यो । लाइसेन्स लिइदिएर क्यासिनो चलाउने काम सेन्टरले गर्थ्यो, होटेलले भाडा पाउँथे । घरजग्गा कारोबार फस्टाएको बेला थियो, क्यासिनोमा खर्च गर्ने नवधनाढ्य दिन दुगुना, रात चौगुना जन्मिदै थिए ।
क्यासिनोकै लागि सांग्रिला र मल्ल होटेल पाँच तारेमा अपग्रेड भए । सबै पाँच तारे सोल्टी, अन्नपूर्ण, एभरेस्ट, याक एनड यती, ¥याडिसन, हायात, सांग्रिला, मल्लका साथै पोखराको पोखरा ग्रानड र फूलबारी रिसोर्टमा क्यासिनो चलाइयो ।
तर, हाल यही होटलमा लामो समयसम्म सञ्चालन भएका क्यासिनोको सरकारी बक्यौता एक अर्ब ३३ करोड छ । सबै जस्तो क्यासिनोको अहिले सर्वोच्च अदालतमा मुद्दा छ ।
केही समय अघि मात्रै सोल्टी होटलमा क्यासिनो सञ्चालन गर्दै अन्य क्यासिनोको व्यवस्थापन गरेको नेपाल रिक्रियसन सेन्टरको ५३ करोडभन्दा बढी रकम सोल्टी होटलले तिर्नु नपर्ने निर्णय सर्वोच्चले गरेको छ ।
अन्तिम समयमा नेपाल रिक्रियसन सेन्टरको जिम्मा लिएका भारती नागरिक राकेश बाधवाले नेपाल छाडिसकेका छन् । उनी अहिले भारतको लखनउमा क्यासिनो सञ्चालन गरेर बसेका छन् । नेपालमा टटल र बाधवाको साझेदारी एक दशकभन्दा बढी चल्यो ।
त्यसपछि दुवैबीच झगडा हुन थाल्यो । अन्त्यमा बाधवाले नै कानुनी लडाइ जित्दै नेपालमा क्यासिनामा राज गरेको थिए । सरकारले लामो समयदेखि क्यासिनो सञ्चालनको रोयल्टी नतिरी क्यासिनो बन्द गर्न थालेपछि बाधवाले पनि नेपाल छाडेका थिए ।















प्रतिक्रिया