
– प्रकाश तिवारी
दुई महिनापछिको कुरा हो, मदन एक दिन बिहान खाना खाएर कार्कीडाँडा पुगेर आउँछु भन्दै सोतिपसलबाट हिँड्यो । मध्यान्हको समयमा ऊ मनबेंसी पुग्यो । भावी ज्वाइँ आएको देखेर गोपाल र दिलमायाँ फुरुङ्ग भए । दिलमायाँले पिँढीमा काम्लो ओछ्याउँदै भनिन् ‘बसम् हजुर ! आजै भेट हुन लेख्या रैच र राति सपनामा देखेतेँ । टाढाबाट आउनुभाको प्यास लाग्या होला । म मोही लिएर आउँचु । आजै मथेको हो ।’ यसो भन्दै उनी घरभित्र पसिन् ।
‘भो हजुर ! दुःख नगर्नु होला । भर्खर धाराको चिसो पानी पिएर आको !’
‘यो गाममा हाम्रो घरको मोहीको निकै बैन छ । एकचोटी खार हेर्नोस् हजुर !’ गोपालले थपे ।
कुरा चल्दै थियो दिलमायाँ गिलाँसमा मोही लिएर निस्किइन् । उनले हँसिलो अनुहार बनाउँदै मदनका हातमा मोही दिइन् । मदनले मोही पियो । मोही पिइसक्दा नसक्दै मदनको मुखबाट निस्कियो ‘साँच्चै नै साह्रै मीठो मोही रैच । कतै जुनेलीले मथेकी त होइनन् ? मैले त जुनेलीलाई देखिन नि ?’
‘हो हजुर ! जुनेलीले नै मथेकी हो । ऊ ऐले बाख्रा लिएर मस्र्याङ्दीको तीरतिर गाकी छे । दुर्ई घण्टाजति बस्नुभो भने आइपुग्चे ।’ गोपालले हाँस्दै भने ।
‘भो हजुर ! मलाई कार्कीडाँडा जानु छ । फर्कँदा भ्याएँ भने पसौंला । अहिलेलाई हिँडें ।’ यति भन्दै मदन जुरुक्क उठ्यो ।
‘खाजा नखाई त काँ हुन्च हजुर ! बल्लबल्ल आउनुभाको !’ दिलमायाँ बोलिन् ।
‘नाइँनाइँ हजुर ! बिदा पाउँ, म हिँडेँ ।’ यति भन्दै मदन त्यहाँबाट हिँड्यो । उसलाई कतिखेर जुनेलीलाई भेटुँजस्तो भैरहेको थियो ।
गोठालाहरूसँग सोधखोज गर्दै मदन मस्र्याङ्दीको तीरतिर लम्कियो । गोठालाहरू रुखका पातमा गीत सुसेल्दै थिए । केही पर पुगेपछि उसको कानमा महिला आवाजको गीत गुञ्जियो……….
‘मेरो मायाँ रेलिमाइँ काँ होला आजकल ।
सम्झिरैछु रेलिमाइँँ हर दिन हर पल ।
पन्छी बनी रेलिमाइँ आइदेउ न हरर ।
प्वाँख भए रेलिमाइँ मैँ जान्थेँ सरर ।
बनको काफल रेलिमाइँ बनैको चरीलाई ।
मेरो मायाँ रेलिमाइँ जिन्दगी भरिलाई ।
फूल फुल्यो रेलिमाई बासना हरर ।
तिमी बाहेक रेलिमाइँ मेरो पोे को छ र ?
पतेनीघारीमा बाख्रा चरिरहेका थिए । माउसँग छुटेकोे एउटा सानो पाठो म्याँ म्याँ गर्दै घरी यता घरी उता दगुर्दै थियो । जुनेली भने रुखको हाँगामा बसेर एकतमासले गीत गाइरहेकी थिई । मदन गीत सुन्दै जुनेली चढेको रुखमुनि पुगिसकेको थियो । एक्कासि रुखको फेदमा मदनलाई देखेर ऊ झसंग भर्ई । उसको मुख लाजले रातो पीरो भयो । उसको मुखबाट निस्कियो ‘हैन हजुर त ! म सम्झँदै थिएँ, फिल्मी शैलीमा टुप्लुक्क आइपुग्नुभोे । केहीबेरपछि म बाख्रा लिएर उतै फर्कँदै थिएँ ।’
‘मायाँको डोरीले तानिल्यायो । धैर्यको बाँध फुट्यो । म उस्तो हुँ या यो मायाँ भन्ने चिज त्यस्तो हो थाहा छैन !’ मदनले हाँस्दै भन्यो ।
जुनेली रुखबाट तल ओर्लिदै मदनको छेउमा गएर बसी । ‘मेरो मायाँ लाग्च हजुरलाई ?’ मदनका आँखामा आँखा जुधाउँदै उसले सोधी ।
‘प्रेमरोग लागेर हो कि किन हो ! केवल तिम्रो याद आउँछ । म भने तिमीलाई सम्झेर त्यति टाढादेखि आउने, तिमीभने परै बस्ने ! अलि वर आउन । मायाँ गरौँ ।’ मदनले भन्यो ।
‘कस्तो मायाँ ? के त्यो ओठमा ओठ जोड्ने मायाँ भन्न खोज्नुभाको कि ? भो त्यो त हुन्न । बिहा नगरेसम्म काँ हुन्च ।’ लजाउँदै जुनेलीले भनी ।
‘तिमी मेरी म तिम्रो । सिन्दूर त एक औपचारिकता मात्र हो ।’
केही पर झ्याङ्मा जुनेलीका गोठाल्नी साथीहरू लुकीलुकी उत्सुकताका साथ त्यो दृश्य हेरिरहेका थिए । त्योमध्ये यौटीले हाँसो थाम्नै सकिन । ऊ जोडले खितखिताएर हाँसी । ऊसँगै अन्य गोठाल्नीहरू पनि हाँस्न थाले । हाँसोको आवाज सुनेर मदन र जुनेली होसियार भए । जुनेली कराई ‘हैन ए मोरीहरू हो ! लुकिलुकी के हेरिराछौ हँ ?’
‘हाम्ले तिमेरको कुनै कुरा सुनेका पनि छैनौं देखेका पनि छैनौं ! पीर नमान ।’
‘बोका खोज्न हैन बोकालाई पाठी खोज्न आउनुभा भन्न । किन लुकाउँचेस् ! ल भैगो हामी हिनेम् अब । कबाफमा हड्डी !’ यसो भन्दै जुनेलीका साथीहरू त्यहाँबाट हिँडे ।
सबै जना खितखित हाँस्दै मदन र जुनेली भएको ठाउँमा दगुर्दै आए । सबैले मदनलाई एकै स्वरमा भने ‘हजुर को हुनुन्च नमस्ते !’
‘ए मोरी हो ! म जो पायो त्यैसित कुरा गर्चु भनेका तिमेरले ? वाहाँ तिमेरको हुनेवाला भिनाजु हो भिनाजु !’
‘अनि दिदी भिनाजुको बिहा कैले भो ? हेलो भिनाजु ! सञ्चै हुनुन्च ? नमस्ते !’ सबैले एकै स्वरमा भने ।
‘हैन ए मोरीहरू ! बिहा छिनिसकेपछि गरेसरह भएन ? धेरै उत्ताउली नहोऊ है !’
‘बिहा बाँकि नै छ, यसरी जंगलाँ केटासित एक्लै एक्लै भेट गर्ने तँ उत्ताउली कि हामी ?’ अर्कीले भनी ।
‘वाहाँ ब्याड पाल्ने बोका खोज्दै ह्याँसम्म आउनु भा रैच क्या !’ जुनेलीले भनी ।
‘बोका खोज्न हैन बोकालाई पाठी खोज्न आउनुभा भन्न । किन लुकाउँचेस् ! ल भैगो हामी हिनेम् अब । कबाफमा हड्डी !’ यसो भन्दै जुनेलीका साथीहरू त्यहाँबाट हिँडे ।

‘हजुर मलाई कति मायाँ गर्नुहुन्च ?’ बिथोलिएको वार्तालाप पुनः जोड्दै जुनेलीले सोधी ।
‘आकाशभन्दा धेरै ! हो म तिमीलाई त्यति धेरै मायाँ गर्छु ।’ मदनले भन्यो ।
‘तिमी फेरि मलाई भेट्न आऊ न । भन कहिले आउँछ्यौ ?’
‘कहिले भनूँ ! मन भन्च हजुरसँग हरेक दिन भेटघाट गरुँ । पन्छी भएकी भए गाउँलेहरूको आँखा छली हरेक दिन भुरुरु बेग हान्दै आइपुग्तें । तर म परें गाउँले केटी !’ जुनेलीले भनी ।
‘बुद्धिमान कुरा गर्यौ । अब मंसिरमा बाजा बजाएर तिमीलाई लिन आउँछु । चिट्ठी लेख्दै गरे । ल अहिलेलाई हिनेँ ।’
मदन जुनेलीसित बिदावादी भएर हिँड्यो ।
(आगामी आइतबार विमोचन हुन लागेको निलोफर उपन्यासको एक अंश)















प्रतिक्रिया