१४ कार्तिक २०८३, शनिबार

सातवटै प्रदेशको अंकगणित, के भन्छन् एमालेका आकांक्षीहरु ?

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ ।

प्रदेश १ : एमालेको एकल बहुमत

प्रदेश १ मा ९३ मध्ये ५१ सिट जितेकाले एमालेको एकल बहुमत छ । संविधानअनुसार स्वतः एमालेको नेतृत्वमा सरकार बन्छ । माओवादीले जितेको १५ सिट थपिँदा ६६ सिट पुग्छ । कांग्रेसले यो प्रदेशमा २१ सिट मात्र जितेको छ ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रदेश २ : मधेसकेन्द्रित दलको बहुमत

प्रदेश २ मा १०७ मध्ये राजपा र संघीय समाजवादी फोरमले ५४ सिट जितेका छन् । संघीय फोरमको २९ र राजपाको २५ सिट जोड्दा बहुमत पुग्ने भएकाले उनीहरूकै सरकार बन्ने सम्भावना छ । मुख्यमन्त्रीमा दुवै दलको दाबी रहे पनि भागबन्डाबारे विस्तृत छलफल भइसकेको छैन ।

‘अहिले सामान्य कुराकानी मात्रै भएको छ, गम्भीर ढंगले छलफल अघि बढिसकेको छैन,’ राजपा महामन्त्री मनीष सुमनले भने, ‘केही दिनमै ठोस रूपमा कुराकानी हुन्छ ।’

गठबन्धनसँग मिल्ने दललाई मुख्यमन्त्रीको अवसर

प्रदेश २ मा एमालेले २१, कांग्रेसले १९ र माओवादीले ११ सिट जितेका छन् । दुई मधेसकेन्द्रित दलबीच कुरा नमिल्दा एउटाले वाम गठबन्धनसँग समीकरण गर्नेबित्तिकै मुख्यमन्त्रीसहित महत्वपूर्ण पद पाउन सक्छ । वाम गठबन्धनको ३२ सिट छ । कुनै एक दल कांग्रेससँग मिलेर सरकार बनाउन भने बहुमत पुग्दैन ।

प्रदेश ३ : एमालेको एक्लै बहुमत

जम्मा ११० मध्ये ५८ सिट जितेका कारण एकल सरकार बनाउने गरी एमालेको बहुमत छ । माओवादीको २३ सिट थपिँँदा ८१ सिटसहित गठबन्धनको दुईतिहाइ पुग्छ । यो प्रदेशमा कांग्रेसले २१ सिट मात्र जितेको छ । विवेकशील साझा पार्टीले तीन, नेमकिपाले दुई, राप्रपा, नयाँ शक्ति र राप्रपा प्रजातान्त्रिकले एक–एक सिट जितेका छन् ।

प्रदेश ४  : ४ मा गठबन्धनकै बहुमत, एकता टुटे साना दल निर्णायक

यो प्रदेशमा ६० मध्ये २७ सिट जितेर एमाले ठूलो दल छ । माओवादी केन्द्रको १२ सिट थपिनेबित्तिकै ३९ सिटसहित वाम गठबन्धनको बहुमत पुग्छ । राष्ट्रिय जनमोर्चाको तीन सिट थपिए ४२ सिट पुग्छ । कांग्रेसले १५ सिट जितेको छ । गठबन्धन टुटेको स्थितिमा भने साझा विवेकशीलको दुई, स्वतन्त्र एक र जनमोर्चाको एक सिट निर्णायक हुन्छ । त्यो अवस्थामा कांग्रेस, माओवादी र साना दलको समीकरण पनि बन्न सक्छ । तानातानमा जुनसुकै ठूलो दलको नेतृत्वमा पनि सरकार बन्न सक्छ ।

प्रदेश ५ :  गठबन्धन टुटे अर्को  समीकरणको खतरा

जम्मा ८७ सिटमध्ये एमाले एक्लैले ४१ सिट जितेको छ । माओवादीको २० सिट थपिँदा गठबन्धनको ६१ सिटसहित भारी बहुमत पुग्ने भएकाले सहजै सरकार बन्छ । कांग्रेसले १९ सिट जितेको छ । संघीय समाजवादीले पाँच तथा राजपा र राजमोले एक–एक सिट जितेका छन् । वाम गठबन्धन टुटेको अवस्थामा भने संघीय समाजवादी फोरमको सिट निर्णायक हुन सक्छ । कांग्रेस, माओवादी र संघीय समाजवादी फोरम मिलेमा ४४ सिटसहित बहुमतको अर्को समीकरण बन्ने सम्भावना पनि रहन्छ ।

प्रदेश ६  : एमालेको एकलौटी सरकारको सम्भावना

प्रदेश ६ को ४० सिटमध्ये एमाले एक्लैले २० सिट जितेको छ । यो कुल सिटको ५० प्रतिशत हो । माओवादीको १३ सिट थपिनेबित्तिकै ३३ सिटसहित दुईतिहाइभन्दा बढी बहुमत पुग्छ । कांग्रेसले ६ सिट मात्र जितेको छ भने राप्रपाले एक सिट जितेको छ । गठबन्धन टुटेमा एमालेबाहेक तीन दल मिल्दा पनि बहुमत पुग्दैन । तर, एमालेसँग राप्रपा मिल्नेबित्तिकै सामान्य बहुमतसहितको सरकार बन्छ । राप्रपा नमिलेमा पनि गोलाप्रथाबाट या आपसी सहमतिमा सरकारको नेतृत्व आधा–आधा कार्यकाल बाँडिएमा एमालेको एकलौटी सरकार पनि बन्न सक्छ ।

प्रदेश ७   : प्रदेश ७ मा गठबन्धन टुटे राजपा निर्णायक

यो प्रदेशमा ५३ मध्ये २५ सिट जितेर एमाले ठूलो दल छ । माओवादीको १४ सिट थपिनेबित्तिकै दुईतिहाइ बहुमतसहित गठबन्धनको सरकार बन्छ । कांग्रेसले १२ र राजपाले दुई सिट जितेका छन् । गठबन्धन भत्किएको अवस्थामा एमालेबाहेकका दल मिल्दा २८ सिटसहित बहुमत पुर्‍याएर अर्को समीकरण बन्न पनि सक्छ । तर, राजपाले साथ दिएको अवस्थामा भने एमालेकै नेतृत्वमा पनि सरकार बन्न सक्ने हुन्छ ।

के भन्छन् एमालेका आकांक्षीहरु ?

स्थायी समितिबाट निर्णय होस् : अष्टलक्ष्मी शाक्य

स्थायी समितिमा दुई पार्टीको तालमेलबारे छलफल हुने भएकाले कहाँ, कसरी दलको नेता बनाउने छलफल गरेरै निर्णयमा पुग्दा राम्रो हुन्छ । त्यसपछि दलको बैठकबाट निर्णय गर्नुपर्छ । कोही पनि आफ्नो लबिङमा लाग्नु राम्रो होइन ।

माथिबाट निर्णय गर्दा बहुमत कमान्ड हुँदैन : भीम आचार्य

एमालेमा तल (प्रदेश सभा)बाटै दलको नेता निर्वाचित हुन्छ । ५ नम्बर प्रदेशले चुनिसक्यो । माथि (स्थायी समिति)बाट व्यक्तिको नाममा निर्णय भयो भने प्रदेश सभामा कुनै पनि वेला दलको नेताले बहुमत कमान्ड नगर्न (गुमाउन) सक्छ । त्यसैले तलबाट जो दलको नेता चुनिन्छ, उही मुख्यमन्त्री बन्छ । सकभर सर्वसम्मत होला, तर भोटिङै हुँदा पनि आकाश खस्दैन, तर्सिन जरुरी छैन ।

चुनावका लागि मिति तोक्नुपर्छ  : पृथ्वीसुब्बा गुरुङ

स्थायी समितिले अहिलेसम्म केही पनि भनेको छैन । त्यसकारण अहिल्यै भन्न सकिन्न । स्थायी समितिले संसदीय दलको बैठकको मिति तोकिदिनुपर्‍यो । निर्वाचन प्रक्रिया अघि बढाउने, व्यवस्थापन गर्ने कामको जिम्मा दिएर स्थायी समितिले निर्वाचन आयोगका जिम्मेवार व्यक्तिलाई खटाउनुपर्छ । मुख्यमन्त्री नपाएको ठाउँमा पनि त दलको नेता चुन्नुपर्नेछ ।

स्थायी समितिले प्रक्रियाको निर्णय गरोस् : किरण गुरुङ

प्रदेश नम्बर ५ मा अरू दाबेदार नभएकाले सजिलै दलको नेता चुनियो, स्थायी समितिको निर्णय पर्खिनै परेन । तर, अन्य प्रदेशमा धेरै दाबेदार भएकाले कुन प्रक्रियाबाट टुंग्याउने भन्ने निर्णय स्थायी समितिले गर्नुपर्छ । चुनावबाट या सर्वसम्मत नाममा निर्णय गरेर चुन्ने स्थायी समितिले जे भन्छ, त्यसअनुसार नै दलको नेता छानिनेछ ।

चुनाव हुँदा म बलियो उम्मेदवार  : शेरधन राई

पहिला संसदीय दलमा चुनावबाटै दलको नेता चुनिएकाले स्थायी समितिले निर्णय नगर्दा प्रदेश सभा संसदीय दलमा एकभन्दा बढी उम्मेदवार भएको अवस्थामा चुनाव हुन्छ । स्थायी समितिबाट मेरो या अरू जसको नाममा निर्णय भए पनि म स्वीकार गर्छु । तर, त्यसो नभएमा प्रदेश सभामा आफूलाई बलियो उम्मेदवारका रूपमा प्रस्तुत गर्नेछु ।

सबै ठाउँमा चुनाव हुन्छ, म जित्छु : राजेन्द्रप्रसाद पाण्डे

प्रदेश संसदीय दलको नेतामा चुनाव लड्ने तयारी गरिरहेको छु । स्थायी समितिले माथिबाट निर्णय गर्ने भन्ने हुन्न । किनभने ५ नम्बर प्रदेशमा स्थायी समितिको निर्णयविनै दलको नेता चुनिएकाले सबै प्रदेशमा चुनावै हुने हो । दलको नेता जितेर मुख्यमन्त्री बन्नेमा म विश्वस्त छु ।

माओवादी नेता पनि दलको नेता बन्ने लबिङमा

प्रदेश ६ मा मुख्यमन्त्रीका आकांक्षी महेन्द्रबहादुर शाही र नरेश भण्डारी तथा ७ मा वीरमान चौधरी र झपट बोहरा पनि दलको नेता बन्ने लबिङमा छन् ।