१ कार्तिक २०८३, आइतबार

चिसोका कारण एक करोड रुपैयाँभन्दा बढीको माछा नष्ट

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर: रामहरि न्यौपाने/रासस

– रामहरी न्यौपाने
नुवाकोट, १३ माघ । समयमै बजार नपाउँदा चिसोको कारण यहाँका एक किसानले पालेका एक करोड रुपैयाँभन्दा बढीको माछा मरेका छन् । बेलकोटगढी नगरपालिका–१० वासुकीका युवराज पाण्डेले सञ्चालन गरेको ‘पाण्डे कृषि फर्म’को करिब ५५ हजार केजी माछा समयमै बिक्री नहुँदा चिसो मौसमले माछा मरेको हो ।

पाण्डेको फर्ममा रहेका बचुवा (पांगासियस) जातको माछा लगातार मौसमी तापक्रममा आएको गिरावटले माछापोखरीको पानीको तापक्रम कम भएर क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख डा कमलराज गैरे जानकारी दिए । उनका अनुसार बचुवा माछालाई कम्तीमा २० डिग्री तापक्रम चाहिने भएकाले असोजसम्ममा बिक्री गरिसक्नु पर्ने थियो, त्यो नहुँदा क्षति पुगेको हो ।

खोलाको पानी चिसो हुँदै आएपछि इनारको पानी तानेर आगो बाल्ने तथा विद्युतीय प्रविधिबाट तताएर पोखरीमा मिसाएर बचाउन गरेको प्रयास असफल भएको किसान पाण्डेले बताए । ‘जमिनमुनीको पानी २६ डिग्रीसम्म हुने गरेकोमा अत्यधिक चिसोले २० डिग्री मात्रै आयो’ उनले भने, ‘त्यो पानी पोखरीमा राख्दा १५ डिग्रीसम्म झर्ने भएकाले तताएर राख्दासमेत बचाउन सकिएन, सबै मरे ।’

उनले व्यक्तिगत रुपमा तीन करोड रुपैयाँको लगानी गरेर गएको वर्षदेखि सञ्चालनमा ल्याएको माछा फर्ममा बंगलादेशबाट दुई लाख १५ हजार भुरा किनेर ल्याई यो वर्षदेखि पालन शुरु गरेका थिए । ‘गएको फागुनमा राखिएका भुरा भदौदेखि बिक्रीका लागि तयार भएका थिए’ पाण्डेले भन्ने, ‘रु पचास हजार मूल्य बराबरको माछा बिक्री गरें, बाँकी सबै मरेर गए ।’

कृषि विकास कार्यालयले फर्ममा रहेका करिब एक लाख ५० हजार मूल्य बराबरका माछा समयमै बिक्री नहुँदा ५५ टन क्षति पुगेको प्रारम्भिक अनुमान छ । कृषि विकास कार्यालयका प्रमुख गैरेका अनुसार माछाको बजार मूल्य प्रतिकेजी २०० रुपैयाँ भएकाले मरेका माछाबाट पाण्डेलाई एक करोड १० लाख रुपैयाँ क्षति पुगेको भन्दै पीडित किसानलाई राहत उपलब्ध गराउन केन्द्रमा पठाइएको छ ।

भदौमा नै तयार भएका माछाको बजार अभावले समयमै बिक्री नहुँदा मंसिर अन्तिम सातादेखि माछा मर्न थालेको पाण्डेले बताए । ‘माछाको भूरा ल्याउँदा मात्रै एक करोड २० लाख रुपैयाँ खर्च भएको थियो’ पाण्डेले भने, ‘हुर्काउन दानादेखि दूधसमेत खुवाएर दुई वटाले नै एक किलोग्राम हुने बनाएको थिए ।’

बजारको अनुसन्धान र मागअनुसार माछापालन गरेको भए पनि भारतबाट आएका माछासँग प्रतिस्पर्धा गर्न नसक्दा आफूले क्षति बेहोरेको उनको गुनासो छ । पाण्डेका अनुसार भारतबाट आएको यही जातका माछा १५० रुपैयाँ प्रतिकिलोमा कारोबार हुने भएकाले स्थानीय उत्पादनका माछाले बजार नपाउँदा ठूलो नोक्सान खेप्नुपरेको हो ।

‘बैंकबाट ऋण लिएर सञ्चालन शुरु गरेको फर्ममा माछासँगै कुखुरासमेत पालनको तयारी गरे पनि एक करोड रुपैयाँभन्दा बढी क्षति भएकाले राहत नपाए आफू नै मर्नुको विकल्पमा नभएको उनले दुखेसो पोखे । –रासस