१४ कार्तिक २०८३, शनिबार

वडाध्यक्षको मोबाइल नम्बर ‘ब्ल्याकलिस्ट’मा

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा, १२ माघ । मोलुङ गाउँपालिका–३ का अधिकारी थरका एक जना सेवाग्राही योजना सम्झौता गर्न सुब्बा र प्रमुख प्रशासकीय अधिकृत खोज्दै पटक/पटक सदरमुकाम आए । उनले प्रमुख प्रशासकीय अधिकृत त भेटे, इन्जिनियर भेट्न सकेनन् ।

योजना सम्झौता गर्न प्राविधिकको लागत इस्टिमेटमा इन्जिनियरले दस्तखत गर्नुपर्ने कारण देखाएर प्रमुख प्रशासकीय अधिकृत विश्वविजय शर्माले इन्जिनियरको हस्ताक्षर नभई आफूले गर्न नमिल्ने अडान लिए । राजधानी दैनिकले समाचार छापेको छ ।

प्राविधिक कौशल घिमिरेले सहजीकरण गरेपछि मात्रै अधिकारीले योजना सम्झौता गरेर पहिलो किस्ता रकम लिए । मोलुङ गाउँपालिकाका सेवाग्राही दैनिक कर्मचारी खोज्दै सदरमुकाम धाएको भेटिन्छन् । गाउँपालिकाको सम्पर्क कार्यालय नै सदरमुकाममा सञ्चालन भएको छ ।

गाउँपालिकाका नासु रामकाजी श्रेष्ठको घरमा कोठा भाडामा लिएर सम्पर्क कार्यालय सञ्चालन गरिएको हो । गाउँपालिकाको कार्यालय प्राप्चामा रहे पनि सदरमुकाममा सञ्चालन गरेको विषयमा मोलुङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शर्माले अहिले योजना सम्झौता भइरहेको, बैंक खाता सञ्चालनलगायतका काम गरिरहन परेकाले सदरमुकाबाट काम गर्नुपर्ने बाध्यता रहेको बताए । उनले प्राविधिकसमेत सदरमुकाम बस्ने भएकाले योजनाका काम गर्न गाउँपालिकामा समस्या रहेको दाबी गरे ।

गाउँपालिकाका प्रशासन फाँटका प्रमुखसमेत रहेका नासु श्रेष्ठले सदरमुकामको आफ्नै घर भाडामा लगाएर सम्पर्क कार्यालय खोलका छन् ।गाउँपालिकाका कर्मचारी सदरमुकामै बसेर सम्पर्क कार्यालय चलाएको विषयमा भने गाउँपालिका प्रमुख मणिराज राईले प्राविधिक काम मिलाउन मात्रै कर्मचारी सदरमुकाम बसेको बताए ।

नागरिकको सेवा प्रवाहलाई सहज बनाउने काममा आफू लाग्ने राईको भनाइ छ ।स्रोतका अनुसार गाउँकार्यपालिकाको मौखिक सहमतिमै सम्पर्क कार्यालय खडा गरिएको हो । मोलुंग गाउँपालिकाले अन्य गाउँपालिकाको तुलनामा २० हजारभन्दा बढीमा गाडी भाडामा लिएको छ । मोलुंग गाउँपालिका–७ का वडाध्यक्ष हेम सुनुवारले कर्मचारी जिल्ला बसेर नागरिकले दुःख पाएकाले गाउँपालिकामा खटाउनुपर्ने बताए ।

जिल्लाका अन्य ६ वटा गाउँपालिकाका वडामा पनि जनप्रतिनिधि मात्रै भेटिन्छन् । खरिदार र सुब्बाले वडा सचिव भएर गर्नुपर्ने काम कतिपय वडामा प्राविधिक सहायक र कृषि तथा पशु प्राविधिकले पनि काम गर्दै आएका छन् । तर, वडाध्यक्षहरू गाउँपालिकामा र गाउँपालिकाका अध्यक्ष ‘कर्मचारी चाहियो’ भन्दै जिल्लामा आउने गरेका छन् । खिजी देम्वा गाउँपालिका अध्यक्ष वेदबहादुर रोक्का त दुईपटक कर्मचारी खोज्दै सदरमुकाम आइसकेका छन् ।

वडामा खटाइएका केही (साविकका गाविस सचिव) वडा सचिव अहिले पनि सदरमुकामै अखडा जमाएर बसिरहेका छन् । ‘वडा सचिवले मलाई टेरेनन्, असारयता २/३ पटक मात्रै गाउँ आए,’ लिखु गाउँपालिका–९ का वडाध्यक्ष सुकवीर तामाङले भने, ‘मेरो त मोलाइल नम्बर पनि सचिवले ब्लक गरेका छन् सम्पर्क हुँदैन ।’ अध्यक्ष तामाङले आफूले वडा सचिवलाई काम लगाउन नसकेको भन्दै गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसमक्ष पटक पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको बताए ।

लिखु गाउँपालिका–९ र खिजीदेम्बा–१ र २ हेर्ने वडा सचिव प्रदीप पौडेल अधिकांश समय सदरमुकामै बस्ने गरेको वडाध्यक्षहरूको गुनासो छ । सचिव पौडेलले खिजीदेम्बाको वडा–१ र २ रगनीमा पनि समयमा सेवा नदिएको जनप्रतिनिधिको गुनासो छ ।

खिजीदेम्बा गाउँपालिका–७ का अध्यक्ष भूपेन्द्र बस्नेतले आफूले चाहेजस्तो सेवा दिन कर्मचारीकै कारण नसकेको स्वीकार गरे । खिजीदेम्बा–७ र ८ रावादोलु र भुसिंगा हेर्ने सचिव लक्ष्मीदास सैंजु पनि अधिकांश समय सदमुकाममै भेटिने गरेका छन् । यसैगरी, पुनर्निर्माणका प्राविधिक पनि गाउँमा भेटिँदैनन् ।

बिदामा बसेका प्राविधिक २ महिनापछि फर्किएर हाजिरी प्रमाणित गर्न वडाध्यक्षलाई दबाब दिने गरेका छन् । काम नगरेको दिनको हाजिर प्रमाणित नगर्ने अडानमा बसेका खिजीदेम्वा गाउँपालिका–४ का वडाध्यक्ष र प्राविधिक बीच लामो विवाद भएको वडाध्यक्ष कमल न्यौपानेले बताए । प्राविधिक गाउँमा नबसेकै कारण भूकम्पपीडितले समयमा घर बनाउन नपाएपछि दोस्रो किस्ताबाट समेत वञ्चित हुनुप-यो ।

यस्तै, जिल्लाको एक मात्र सिद्धिचरण नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले काम थालेको लामो समयपछि वडा कार्यालय सञ्चालनमा ल्याएको छ । सबै वडाको काम नगरपालिकामा बसेर गरेका कर्मचारीलाई वडा वडामा खटाउन थाले पनि आपसी दोषारोपण गर्न थालेका छन् ।