घटना एक
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका योजनाकार समीरमान सिंह बस्न्यात गत महिना चितवनबाटै पक्राउ परे । चितवनमा लुकिछिपी रहँदै आएका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरी काठमाडौंमा सार्वजनिक गर्यो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
घटना दुई
रुपन्देहीका व्यापारी बलु पौडेलका हत्या आरोपितमध्येका एक नवलपरासी सुनवल—८ बस्ने ३६ वर्षीय पदम चौधरी केही दिनअघि चितवनकै द्यौरालीटारबाट गिरफ्तार भए ।
घटना तीन
शरदकुमार गौचन हत्यामा मुख्य सुटर भनिएका श्याम लामा गुम्बेलाई पनि प्रहरीले भरतपुर महानगरपालिका–१३ बाट सोमबार पक्राउ गरेको छ । एक सातादेखि सिआइबीको टोलीले लामाको पिछा गर्दै आएको थियो । प्रहरीले भरतपुरबाट ८ किलोमिटर पश्चिमको बस्तीबाट लामालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार लामा सार्प सुटर हुन् । सोही घटनाका आरोपित अर्का सुटर अमरबहादुर राणा भने अझै फरार छन् । देशकै सुरक्षा अवस्थालाई चुनौती दिने गरी भएका दुई हत्याकाण्डका मुख्य आरोपित भटाभट चितवनबाटै पक्राउ पर्न थालेपछि जिल्लावासी सशंकित भएका छन् । चितवन अपराधीहरू लुक्ने स्थानको रूपमा परिणत हुन थालेपछि जिल्लावासी सशंकित भएका हुन् ।
अपराधपछि प्रहरीको आँखा छल्न अभियुक्तहरूले चितवनलाई सुरक्षित ठाउँका रूपमा लिने गरेको माथिका तीन घटनाबाट पुष्टि हुन्छ । तर, चितवन प्रहरी भने अपराधपछि लुक्ने भाग्ने क्रममा अपराधीले चितवनलाई केही दिनका लागि बसाइ क्षेत्र बनाई परिस्थिति अनुकूल भएपछि यहाँबाट यताउता लाग्ने गरेको बताउँछ । ‘अरू आरोपित पनि चितवनमै लुकेर बसेको भनी विभिन्न टोली बनाएर खोजी भइरहेको छ,’ एक प्रहरी अधिकृतले भने ।
चितवनबाट भारत जान पनि सहज भएकाले घटना गराएर अभियुक्तहरू चितवन आई लुकिछिपी बस्ने गरेको प्रहरीको भनाइ छ । ‘एक साताअघि मात्रै गुम्बे चितवन छिरेको भन्ने सूचनाका आधारमा खोजी भइरहेको थियो,’ प्रहरीका एक उच्च अधिकृतले भने, ‘खोज्दै जाँदा सोमबार भरतपुर–१३ चम्पानगरबाट पक्राउ परे ।’
प्रहरीलाई छक्याउन अभियुक्तहरूले रातारात वास सार्ने गरेका छन् । सिआइबीले सबै घटनाको गम्भीरताका साथ सूक्ष्म अनुसन्धान गरिरहेकाले यस विषयमा खासै जानकारी नभएको चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले बताए ।
अभियुक्तहरू कहाँ–कहाँ
बलु पौडेल हत्याकाण्डका अभियुक्त पदम चौधरी चितवनको विकट मानिने राप्ती नगरपालिका द्यौरालीटारबाट पक्राउ परे । चितवनको भण्डाराबाट धादिङ मलेखु निस्कने चेपाङ मार्ग भएर जाँदै गर्दा चौधरी एक्लै पक्राउ परे । समीरमान सिंहलाई यसअघि नै चितवनको सौराहा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको जनाएको थियो । त्यस्तै गम्बेलाई भरतपुरबाट जम्मा ८ किमि पश्चिम चम्पानगरमा आफन्तको घरमा बस्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पर्यटकीय क्षेत्र सौराहा, मेघौली, राप्ती नदीआसपासका ठूला–साना होटेल तथा रिसोर्टमा अभियुक्तहरूको वास हुने गरेको छ । चितवनमा देशका ७६ वटै जिल्लाका मान्छे बसोवास गर्ने र अभियुक्तहरूको कहीँ न कहीँबाट सम्बन्ध हुने हुँदा पनि आफन्तको घरमा आएर बस्ने गरेको प्रहरीको भनाइ छ ।
अपराध गरेर चितवन
चितवन भौगोलिक हिसाबले देशको मध्य भागमा रहेको र यहाँ देशका सबै खाले मानिस बसोवास गर्ने हुनाले पनि गाउँघरमा कहाँ के–कस्ता मान्छे आउजाउ गर्छन् भनी सधैँ सोधीखोजी र निगरानी गर्न असमर्थ रहेको एसपी थापाले बताए । शंका लागेको अवस्थामा भने प्रहरीले निरन्तर खोजी गर्ने उनको भनाइ छ ।चितवन नारायणगढ पुल्चोकबाट भैरहवा सुनौली हुँदै भारत जान तथा वीरगन्ज रक्सोल हुँदै भारत जान बराबरी दूरी छ । त्यस्तै अभियुक्तहरू चितवनकै माडीबाट पर्सा ठोरी हुँदै पनि भारत नरकटियागन्ज पुग्ने गरेका छन् ।
गौचन र बलुको हत्या
निर्माण व्यवसायी महासंघका अध्यक्ष व्यवसायी शरद गौचनको २३ असोजमा काठमाडौंको शान्तिनगरमा दिउँसै गोली हानी हत्या भएको थियो । उनलाई मोटरसाइकलमा आएका व्यक्तिले गाडीमा गोली प्रहार गरेका थिए । त्यस्तै बुटवलका व्यवसायी बलु पौडेलको २१ पुसमा गोली हानी हत्या भएको थियो ।












प्रतिक्रिया