१ कार्तिक २०८३, आइतबार

लक्ष्यभन्दा ११० प्रतिशत बढी राजस्व संकलन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १० माघ । आन्तरिक राजस्व कर्यालय भरतपुरले चालू आर्थिक वर्ष २०७४/७५ को छ महिनामा गत वर्षको सोही अवधिमा भन्दा दुई अर्ब ४१ करोड ७९ लाख चार हजार रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।

कार्यालयका प्रमुख थानप्रसाद पंज्ञेनीका अनुसार पुस मसान्तसम्ममा नौ अर्ब ३२ करोड ७४ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस अवधिमा आठ अर्ब ४५ करोड १२ लाख एक हजार रुपैयाँ लक्ष्य राखिएको थियो ।

‘लक्ष्यभन्दा ११०.३७ प्रतिशत बढी राजस्व संकलन भएको छ’, उनले भने । कार्यालयले गत आवको पुस मसान्तसम्ममा छ अर्ब ९० करोड ९५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

विगत छ महिनामा सबैभन्दा बढी अन्तःशुल्कबाट सात अर्ब ८८ करोड ३४ लाख नौ हजार रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले चितवन र नवलपुुर जिल्ला हेर्दै आएको छ । सो क्षेत्रमा मदिराजन्य उद्योग बढी भएकाले सबैभन्दा बढी राजस्व अन्तःशुल्कबाट उठ्ने गरेको पंज्ञेनीले बताए ।

बजार क्षेत्रमा कर प्रशासनको उपस्थिति, करदातामा कर तिर्नुपर्छ भन्ने भावनाको विकासलगायतका कारण पछिल्लो समय कर संकलन लक्ष्यभन्दा बढी हुँदै गएको उनले बताए । हाल कार्यालयको मातहतमा ७२ हजार करदाता रहेका छन् । चालू आवमा कार्यालयले १९ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । –रासस