१४ कार्तिक २०८३, शनिबार

यी हुन् एमालेका स्थानीय तह निर्वाचनमा पराजित, सांसदमा निर्वाचित नेता

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुमकोट, १० माघ । स्थानीय तह निर्वाचनमा रुकुम पूर्वस्थित भूमे गाउँपालिका अध्यक्षमा उम्मेदवार बनी पराजित भएकी आशा स्वर्णाकारलार्ई एमालेले समानुपातिक तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित गरेको छ ।

आइतबार सपथग्रहण गरेकी आशा एमाले तर्फबाट प्रदेश ५ मा समानुपातिक सांसद चुनिएकी हुन् । गाउँपालिका अध्यक्षमा पराजित भए पनि समानुपातिकबाट प्रदेशसभा सदस्यमा चुनिएपछि रुकुममा उनको चर्चा सुरु भएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

स्थानीय तह निर्वाचनमा भूमे गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रामसुर बुढा विजयी भएका थिए । उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका गञ्जसिंह बुढा थिए । आशाले तेस्रो स्थान प्राप्त गरेकी थिइन् ।

०४६ सालमा साविक महत गाविसमा एमालेबाट गाउँ कमिटी सदस्य बनी राजनीति यात्रा आरम्भ गरेकी स्वर्णाकारले यसबीच धेरै अनुभव सँगालेको बताइन् । ‘युवावस्थादेखि एमाले राजनीतिमा जोडिएँ । हिजो पनि म जनताकै काममा थिएँ । अब झन् ठूलो जिम्मेवारी थपिएको छ’, उनले भनिन् ‘मेरो कामको मूल्यांकन भएको छ । पार्टी स्वार्थभन्दा माथि उठेर जनातको सेवामा समर्पित हुने अवसर प्राप्त भएको छ ।’

एमालेको जिल्ला तह र पार्टीका विभिन्न भ्रातृ संगठनमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेकी स्वर्णाकार हाल एमाले रुकुम पूर्वजिल्ला कमिटी उपसंयोजक छिन् । ०७० सालको संविधानसभा निर्वाचनमा पनि एमालेले रुकुमबाट समानुपातिक उम्मेदवार बनाएको थियो ।

वडा सदस्य बनिन् सांसद

स्थानीय तह निर्वाचनमा रुकुम पूर्वस्थित सिस्ने गाउँपालिका वडा नं. ५ मा महिला सदस्यका रूपमा निर्वाचित देवी ओली पनि समानुपातिकबाट प्रदेशसभा सदस्य बनेकी छन् । एमाले रुकुम पूर्वउपाध्यक्ष देवीलाई एमालेले समानुपातिकतर्फ प्रदेश ६ का लागि प्रदेशसभा सदस्य निर्वाचित गरेको हो ।

शिक्षाशास्त्र र कानुनमा स्नातकोत्तर अध्ययनरत ओलीले ०४७ सालमा अखिल नेपाल महिला संघको साविक जाङ गाविस अध्यक्ष भएर राजनीति यात्रा सुरु गरेकी हुन् । ओलीले यस बीचमा धेरै उतारचढाव व्यहोर्नुपरेको बताइन् ।

आफू प्रदेशसभा सदस्यमा निर्वाचित भएकोमा रुकुमका सबै मतदाता एवं पार्टीप्रति आभार प्रकट गरेकी छन् । ‘यो मेरो मात्र नभई सिंगो रुकुमको जित हो । म सबै मतदाताप्रति कृतज्ञता व्यक्त गर्दछु’, ओलीले भनिन्, ‘अब म थिचोमिचोमा परेका महिलाका पक्षमा लड्नेछु । रुकुमको विकाससका लागि लाग्नेछु ।’

१८ वर्षपछि रुकुममा एमाले सांसद

संसदीय राजनीति सुरु भएको लगभग १८ वर्षपछि रुकुममा एमालेले सांसद पाएको छ । ०५६ सालको आमनिर्वाचनमा साविक रुकुम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट तीर्था गौतम निर्वाचित भएयता एमालेले निर्वाचित सांसद पाउन सकेको थिएन । यसपटक समानुपातिकबाट रुकुम पूर्वबाट एक र पश्चिमबाट एक जना गरी प्रदेशसभामा दुई जना सांसद पाएको छ ।

एमालेले प्रदेशसभा सदस्यका लागि समानुपातिकबाट प्रदेश ५ मा रुकुम पूर्वबाट आशा स्वर्णाकार र पश्चिमबाट प्रदेश ६ का लागि देवी ओली निर्वाचित भएका हुन् । रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक तर्फबाट पूर्वसांसद तीर्था गौतमको नाम पनि यतिबेला चर्चामा छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिक अन्तिम मतपरिणाम सार्वजनिक गरिनसकेका कारण यस विषयमा टुंगो लाग्न बाँकी छ ।

विगतमा साविक रुकुम जिल्लामा माओवादी केन्द्र पहिलो, कांग्रेस दोस्रो र एमाले तस्रो स्थानमा थिए । यसपटक वाम गठबन्धनका कारण एमालेले रुकुम पूर्व र पश्चिममा प्रत्यक्षतर्फ माओवादी केन्द्रमा उम्मेदवारलाई सघाएको थियो । समानुपातिकतर्फ एमालेले रुकुम पूर्वमा ३ हजार मत ल्याएको थियो भने पश्चिममा ७ हजार मत पाएको थियो ।