टोकियो । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले दोस्रो विश्वयुद्धको समयमा जापानले यौनदासीका रूपमा पीडित बनाएका दक्षिण कोरियाली महिलालाई राष्ट्रपतीय कार्यालयमा निमन्त्रण गरेका छन् ।
जापानी सेनाले यौनदासीका रूपमा राखेर पीडित बनाएका ती दक्षिण कोरियन महिलासँग माफी माग्न राष्ट्रपति इनले निमन्त्रण गरेको एजेन्सीहरूले जनाएका छन् ।
दक्षिण कोरियाली यौनदासी महिलाहरूको समस्या समाधान गर्न सन् २०१५ मा जापान र दक्षिण कोरियाबीच सम्झौता भएको थियो । तर, पीडित महिलाहरूले सम्झौताबाट आफूहरूको मानमर्दन भएको भनी विरोध गरेका थिए ।
राष्ट्रपति इनले सम्झौतापछि पनि पीडित महिलाहरूको समस्या समाधान नहुने बताउँदै आएका छन् । दक्षिण कोरिया र जापानबीच सम्झौता त्रुटिपूर्ण भएको इनले स्वीकारेका छन् । त्यसैकारण आफूले पीडित महिलासँग माफी माग्न र गल्ती सच्याउन चाहेको उनको भनाइ छ ।
जापानी सेनाले दोस्रो विश्वयुद्धताका कोरियाली महिलालाई यौनदासी राखेको विषयमा दक्षिण कोरिया र जापानबीच लामो समयदेखि विवाद उत्पन्न भइरेको छ । सम्झौताअनुसार पीडित महिलालाई क्षतिपूर्तिस्वरूप रकम दिने उल्लेख गरिएको छ । सम्झौतालाई दक्षिण कोरियाली सरकारले सहमति जनाएको थियो ।
पीडित महिलाहरूले विरोध जनाएपछि सम्झौता विवादित बन्यो । राष्ट्रपति इनले पछिल्लो सरकारले कोरियन नागरिककै प्रतिष्ठामा आँच आउने सम्झौता गरेको दाबी गरेका छन् ।
‘सम्झौता दुवै राष्ट्रका नेताहरूले गरेका थिए, त्यसबाट समस्या समाधान हुँदैन, त्यो सम्झौता कोरियाली नागरिकको प्रतिष्ठामै आँच आउने किसिमको छ,’ राष्ट्रपति इनको भनाइ उद्धृत गर्दै प्रवक्ताले भने, ‘त्यसैको भूल सच्याउन म पीडित महिलासँग माफी माग्न चाहन्छु र उनीहरूलाई राष्ट्रपति कार्यालयमा आउन निमन्त्रणा दिएको हुँ ।’ – एजेन्सी















प्रतिक्रिया