शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

‘बलु’को हत्या गर्न साढे ३ लाखको सुपारी, योजनाकार र सुटर अझै फरार

दैनिक नेपाल २०७४ माघ ७ गते २०:०४

बसन्त पौडेल । फाइल तस्विर ।

काठमाडौँ, ७ माघ । रुपन्देही देवदहका सःमिल व्यवसायी बसन्त पौडेल (बलु)को हत्यामा संलग्न रहेका दुई जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

पौडेलको हत्या भएको दुई सातापछि नवलपरासीको सुनवल नगरपालिका–७, अस्नौयाका ३६ वर्षीय पदम चौधरी र सोही जिल्लाको डुमरहा–५ का महेन्द्र भनिने महिनारायण चौधरीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । पदमलाई प्रहरीले पोखरा र महिनानारायणणलाई चितवनबाट पक्राउ गरेको थियो ।

गत पुस २१ गते आफ्नै सःमिलमा आगो तापेर बसिरहेका पौडेललाई ‘काठको अर्डर गर्नु छ’ भन्दै बाइकमा आएका दुई जनाले गोली हानी फरार भएका थिए । पक्राउ परेका महिनारायणले मोटरसाइकल चलाएका थिए । मोटरसाइकलको पछाडी बसेका थर नखुलेका विवेक भन्ने गोली चलाएको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका दुवै जना हत्याका मुख्य योजनाकार मनोज पुनका सहयोगीको रुपमा काम गरेका व्यक्ति हुन् । योजनाकार पुन र सुटर विवेक भने फरार छन् ।

पक्राउ परेका दुवैजना यसअघि विभिन्न आपराधिक गतिविधिमा सम्लग्न भई कैद सजाय समेत भोगिसकेको प्रहरीले जनाएको छ । महिनारायण ७ महिना अगाडि मात्र कारागारबाट निस्किएका थिए भने पदम गत वैशाखमा अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भुक्तान गरी छुटेका थिए । दुवै जना पाल्पा कारागारमा सँगै कैद भुक्तान गरेका हुन् ।

बलुको हत्या गर्नको लागि ३ लाख ५० हजारको सुपारी दिइएको थियो । उनीहरुको साथबाट लु ४ प १४ नम्बरको मोटरसाइकल, ९ एमएमको एउटा इटालियन पेस्तोल, दुई वटा कटुवा पेस्तोल र नगद ९९ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

बलुको हत्या हुनु अघि २०७३ पुस ४ गते युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको पनि हत्या भएको थियो । बलु र तिवारी दुबैको हत्यामा मनोज पुन समूह संलग्नता रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित