३० आश्विन २०८३, शुक्रबार

दिपायललाई मार्मिक पत्र

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रिय दिपायल !

तिमीले विगत ३/४ वर्ष देखि नै प्रादेशिक राजधानी यहीँ हुनुपर्छ भन्ने अभिमत जाहेर गरिरह्यौ । १५० अघिको डोटी गौडाको इतिहास र ३८ वर्ष अघिको क्षेत्रीय सदरमुकाम को इतिहास धुलिसात पार्न खोजिएकोमा तिम्रो मन नराम्ररी भाँचिएको हुनुपर्छ । यसरी आफ्नो इतिहास, पहिचान र विरासत को बलि चढाउनु पर्छ भनी जानेको भए तिमी अखन्ड आन्दोलन मा बिर्सिएर पनि लाग्ने थिएनौँ ।

अहिले पनि विगत २०/२५ दिन देखि जीवन मरणको लडाइँमा छौ तिमी । तर अस्थाई राजधानी तोकिदा देखिने कारण भन्दा नदेखिने कारण हावि रह्यो सायद । अस्थाई राजधानी त्यहाँ तोकियो जहाँ पहिले देखि नै सेवा, सुविधा र आकर्षण मौजुद छ ।

प्रिय दिपायल ! तिमीले सोचेको हुनपर्छ । दुर्गम र विकटलाई प्राथमिकता दिन कै निम्ति, त्यहाँ सेवा सुविधा पुराउन कै निम्ति संघीयता ल्याइएको हुँदा हाम्रो इच्छा विपरीत निर्णय हुने छैन ।

तर त्यसो भएन, किन थाहा छ ? प्रदेश स्तरको राजनीति गर्ने अलि उपल्लो स्तरका हुन्छन् । ती पहाडको दुःख र असुविधा खेप्न सक्दैनन् । तिनलाई रिलेक्स गर्न तारे होटेलको सुविधा चाहिन्छ । मार्केटिङ गर्न लखनउ, बरेली, लखिमपुर नजिक पर्छन् । प्रदेश स्तरको राजनीति गरिसके पछि पहाड बस्न पनि भएन । तराईमा घर घडेरी जोडेर बस्न परो । यसो गर्न तराईमा राजधानी राखे पछि मात्रै सजिलो हुने भो ।

सभासदहरू बुझक्की रहेछन्, दुरदर्शी रहेछन् भने केही फरक निर्णय आउला भन्ने आश गरौँ । त्यसो नभए पनि एउटो असफलता बाटै जीवनको गति रोकिन्न । रोक्न हुन्न । अन्य विकल्पको खोजी गर्न पर्छ र त्यसका लागि तयार रहन पर्छ ।

प्रदेशसभामा पहाडका ७ जिल्लाको प्रतिनिधित्व तराइका २ जिल्ला बराबर होस् । मध्य पहाडी लोकमार्ग शिघ्र बनोस् । पश्चिम सेती शिघ्र निर्माण होस् । खुटिया–दिपायल फास्ट ट्रयाक शिघ्र बनोस् । दिपायल-बझाङ हुदै मानसरोवर जाने मार्ग शिघ्र निर्माण होस् । बडी मालिका-खप्तड-तपोवन पर्यटनलाई अझै गति दिन सकियोस् । डडेलधुरा, दार्चुला, बाजुरा, बझाङमा जडिबुटी तथा फलफुल प्रशोधन केन्द्र खोलियोस् । अबका हाम्रा प्रयास यतातर्फ लक्षित गराउन सकियो भने पहाडको कायापलट गर्न सकिनेछ ।

प्रिय दिपायल ! अब हामी सकियौँ भन्ने ढंगले आत्मघाती बाटो अख्तियार गर्न हुन्न । निरन्तरको बन्दबाट आफ्नै सहकर्मी, आफ्नै सहयात्री बझाङ, बाजुरा र अछामलाई अप्ठेरोमा पार्न हुन्न, उनीहरूलाई आफु प्रति नकारात्मक बनाउन हुन्न । दिपायल अथवा डोटी बन्दले तराईलाई केही पनि असर गर्दैन, असर गर्ने पहाडलाई नै हो । यस सच्चाइलाई महसुस गर ।

दिपायलमै अस्थाई मुकाम तोकिएको भए तिमी कति खुशी हुन्थ्यौ होला ? सायद ३ दिनसम्म त दिपावली नै हुन्थ्यो होला । नाच, गान, बजान त कति हुन्थ्यो कति । ड्यौडा, हुड्केलीमार्फत् कति खुशी जाहेर गथ्र्यौ कति । जसलाई खुशी बनाउन पथ्र्यो, जो हर्षित हुन्थ्यो, उसलाई खुशी बनाइएन, उसलाई हर्षमा पारिएन । बिडम्बना जसले खुशी प्रकट गरेन, गर्न जानेन । जसले दिल खोलेर स्वागत गरेन, गर्न जानेन । सर्वथा उदासिन रह्यो, उसैलाई खुशी बनाउने प्रयत्न गरियो ।

समाजसेवी,
गडसेरी माइला
धनगढी