काठमाडौं । अग्रज संगीतकार विजयसिंह मुनालको आइतबार राति कैलालीको टीकापुरमा सुतेको अवस्थामै निधन भएको छ । पारिवारिक घुमघामको सिलसिलामा टीकापुर पुगेका मुनाल आइतबार राति आफन्तकोमा सुतेकोमा सोमबार बिहान ९ बजे ओछ्यानमै मृत भेटिएका छन् ।
उनको शवलाई धनगडीबाट सोमबार राति काठमाडौं ल्याएर मंगलबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने मुनाल परिवारले जनाएका छन् । मंगलबार बिहान ७ बजे आर्यघाटमै उनको अन्तिम श्रद्धाञ्जली कार्यक्रम तय गरिएको छ । काठमाडौं नयाँ बानेश्वरमा बस्दै आएकी मुनालकी छोरी बृन्दा युवा पुस्तामा चर्चित गायिका हुन् ।
२००७ सालमा विराटनगरमा जन्मिएका मुनालले वाद्यवादकका रूपमा २०३५ सालबाट सांगीतिक यात्रा सुरु गरेका थिए । उनका ५ दर्जनभन्दा बढी गीत रेडियो नेपालमा रेकर्ड भएका छन् । एक समय संगीतमा उदितनारायण, मधु क्षेत्री र विजयसिंह मुनालको सहयात्रा निकै जमेको थियो । उदितनारायण झालाई मुम्बईमा स्थापित गराउनसमेत उनको महत्वपूर्ण भूमिका रहेको सहकर्मीहरू बताउँछन् ।
उनी कुनै समय रेडियो नेपालका धेरैजसो गीत रेकर्डहरूमा कंगो वादन गर्थे, स्टेज कार्यक्रममा समेत कंगो मास्टरका रूपमा उनी परिचित थिए । उनले सयौं गीतमा कंगो वादनमा साथ दिएका थिए । २०४४ सालमा मुनालकै संगीत तथा तारा देवीको स्वरमा तिमी मेरी छोरी हौ…गीतबाट उनले आधुनिक संगीत सिर्जना सुरु गरेका थिए ।
उनको संगीतमा तारादेवीसहित, प्रेमध्वज प्रधान, उदितनारायण झा, मीरा राणा, मुरलीधर, स्वयम्भूराज शाक्य, ज्ञानु राणा, कुन्ती मोक्तान, प्रदीपराज पाण्डे, मधु क्षेत्री, प्रकाश श्रेष्ठ, रचना जीसी, प्रकाश श्रेष्ठ, गोपाल श्रेष्ठदेखि नयाँ पुस्ताका कलाकारले समेत गीत गाइसकेका छन् । उनले एक सयभन्दा बढी आधुनिक गीतमा संगीत दिएका थिए ।















प्रतिक्रिया