१ कार्तिक २०८३, आइतबार

लमजुङमा सुन्तला उत्पादन घट्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेसिशहर, ३० पुस । लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको जिल्ला कृषि कार्यालय लमजुङले जनाएको छ । गत वर्ष ५ हजार २ सय ७४ मेट्रिन टन सुन्तला उत्पादन भएको थियो ।

तस्बिरमा लमजुङको नमुना पकेट क्षेत्र चिती स्थित स्याउतमा लगाइएको सुन्तलाको बोट । तस्बिर जनक श्रेष्ठ
सुन्तलाको बोट पुरानो हुँदै जानुका साथै रोग, किरा लागेका कारण सुन्तलाको बगैँचाहरु मासिदैँ गएकाले कमी भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बरिष्ठ कृषि अधिकृत कृष्णभद्र अधिकारीले बताए ।

जिल्लाका किसानहरुका अनुसार टुप्पो मर्ने रोगका कारण विस्तारै सुन्तालको बोट मासिदैँ गएको छ । विगतका बर्षहरुमा राम्रो उत्पादन दिदै आएकोे सुन्तलाको बोटहरुले समेत उत्पादन दिन नसक्दा किसानहरु चिन्तित बनेका छन् ।

जिल्लाका भोर्लेटार, कुन्छा, दुराडाँडा, राईनास, सिम्पानी, गाउँशहर, भोजे, चिती, उदिपुर लगायतका ठाउँहरूमा बढि सुन्तला खेती गरिदै आएको बताइएको छ ।

जसमा चिती र उदिपुरलाई कृषि विकास कार्यालयले नमुना पकेट क्षेत्र घोषणा समेत गरेको छ । यी ठाउँहरुमा समेत यस वर्ष सुन्तला राम्रो उत्पादन हुन सकेन ।

सुन्तलाको बोटमा ग्रिनिङ भाइरसका कारण विभिन्न ठाउँका बोटहरु मरेको कार्यलय प्रमुख वरिष्ठ कृषि अधिकृत अधिकारीको भनाई छ । चितीका स्थानिय सुन्तला किसान रमेशराज पन्तले उत्पादन घद्दैँ गएकाले किसानहरु मारमा परेको बताए ।

लमजुङमा उत्पादन भएका सुन्तला काठमाडौं, पोखरा, चितवन लगायतका शहरमा राम्रो खपत हुने गरेको किसानहरू बताउँछन् । लमजुङमा १ हजार २ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएपनि ६ सय हेक्टर क्षेत्रफलमा मात्र सुन्तला उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी हुँदा बाहिरी ठाउँमा उत्पादन भएको सुन्तला खान उपभोत्ता तथा स्थानीयहरू बाध्य भएका छन् ।