३० आश्विन २०८३, शुक्रबार

जनताले केपी ओलीबाहेक अरु प्रधानमन्त्री सोचेका छैनन्

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नगिन्द्र शाही

बाम गठबन्धनका निम्ति केपि ओली श्वासप्रश्वास हुन् भने प्रचण्ड रक्तसंचार हुन् । यी दुवै नेतालार्इ एकतापछिको संक्रमणकाल नटुंगिदासम्म सामूहिक कार्यकारी भूमिकामा राख्न जरुरी छ ।

हिजोआज देशमा जताततै आशा पलाएको छ । सबैको मुखमा सम्वृद्धिको शब्द झुन्डिएको छ । भन्छन् बल्ल देशको विकास हुने भो, सबै क्षेत्रमा सम्भावना र अवसरका ढोका खोलिने भए, देश अबदेखि विकास निर्माणको स्वर्णिम पथमा पाइला चाल्ने भो । यी र यस्तै सकारात्मक सोचहरुसहित सुन्दर भविष्य निर्माणका निम्ति सपनाका माला नेपाली जनताले मन मस्तिकषमा सजाइ राखेका छन् ।

वास्तवमै २०७२ असोज ३ गते मध्यरातमा नेपालको संविधान घोषणा हुन्छ कि हुँदैन भन्ने दोसाँधका बीच तत्कालिन संविधानसभाले उच्च जोखिम मोल्दै संघिय लोकतान्त्रि गणतान्त्रिक संविधान घोषणा गर्न सफल भएको थियो । तत्कालिन संविधानसभाले एक थान संविधान मात्र घोषणा गरेको थिएन । यो नेपाली जनताका निम्ति राजनीतिकप्रतिको विश्वास पनि घोषणा थियो ।

२०६२/६३ सालको जनक्रान्तिपछिका दिनहरुमा पार्टी र नेताहरुलाइ जनताले विस्तारै पत्याउन छाडेका थिए । त्यसमा त झनै ०६४ को संविधानसभाको असफलताले जनतामा राजनीति र नेताप्रतिको मोह नै भंग हुने खतरा बढदै गएको थियो । त्यसबीचमा जताततै जनताको गुनासो सुनिन्थ्यो, देश नेताले बिगार्ने भए, पार्टीहरुको काम छैन, यिनीहरु केही गर्न सक्दैनन्, नेपालमा केही हुँदैन जस्ता शब्दहरु । तर, संविधानको घोषणाले जनताको गुनासोको भारी बिस्याउने काम गर्यो ।

नेपालका सबै राजनीतिक उपलब्धिको ब्यवस्थापनमा दिल्लीको ट्याग सँधै लाग्ने तथाकथित परम्पराको अन्त्य संविधान घोषणासँगै भयो । यो ज्यादै ठूलो र नेपालका निम्ति एक अर्को महत्वपूर्ण उपलब्धि थियो । ०७२ असोज ३ गतेको दिनदेखि नेपालमा परनिर्भरताको राजनीतिको अन्त्य र आत्मर्निभर राजनीतिको शुभ आरम्भ भएको दिनको रुपमा जनताले महसुसीकरण गरेका छन् ।

संविधान घोषणापछि निर्माण भएको केपी ओलीको नेतृत्वको सरकारले जनतामा आशा जगाउँदै सपना बाँढ्दै केही महत्वपूर्ण कामहरुको थालनी गरेर जनतामा विश्वास पैदा गर्यो । झन्डै छ महिना लामो नाकाबन्दीको दृढतापूर्वक सामाना गर्दै एक देशीय सेन्डिकेटको च्रक्रव्यू तोडेको थियो ।

चीनसँगको पारवहन सम्झौता र लामो नाकाबन्दीको सम्मानका साथ समाधान तत्कालिन सरकारले गर्न सक्नु नै नेपालको विगतको राजनीतिक कोर्षमा फेरबदल हुन थियो । हिजो पार्टीमा मात्र विश्वास गर्ने जनताको मनोविज्ञान परिवर्तन भएर नेता र नेतृत्वमा केन्द्रीत भएको छ ।

केपी ओलीको अडान र योजनासहितका सपनाले नेपाली जनतामा विकासको भोक जागेको छ । सम्वृद्ध नेपाल निर्माण अभियानको अभियन्ता बन्ने नेपाली जनतामा इच्छा शक्ति जागेको छ ।

स्थानिय तह निर्वाचनको सफलताले आधारभूत तहका जनतामा लामो राजनीतिक रिक्तताको अन्त्यको महसुस भएको छ । आफ्नै भाइ छोरालाइ आफ्नै गाउँको भाषा बोली सेवा लिने अवसर जनताले प्राप्त गरेका छन् । सानातिना विकास निर्र्माणका काम लिन सदरमुकाम नगर्इ प्राप्त नहुने परम्पराको लामो श्रृंखला अन्त्य भएको छ ।

स्थानिय तहको निर्वाचनले जनतालाइ गाउँ केन्द्रीत मात्र होइन, छिमेकी केन्द्रीत विकासका योजना निर्माणमा साझेदार र नेतृत्वकर्ता बनाएको छ । लामो समयदेखि विकास निर्माणको किनारमा बसेको अनुभुति गरिराखेका स्थानिय जनता स्थानिय तहको निर्वाचनपश्चात केन्द्र भागमा बसी हेर्ने धरालो मात्र होइन, साझेदार र हिस्सेदार दुबै भएको अनुभुत गरिराखेका छन् । जनताको यो महसुसीकरणसंगै देशमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सानदार तरिकाले सम्पन्न भएको छ ।

निर्वाचनमा नेपाली जनताले उत्साहपूर्ण सहभागितासहित मतदान गर्दै मनले खाएको पार्टी र चाहेको नेतालाई मतदान गरी शासन ब्यवस्थामा आफ्नो सहभागिताका लागि दुवै निर्वाचनमा प्रतिनिधि पठाएका छन् । लोकतन्त्रका मात्र कुरा गर्ने पार्टी काँग्रेसलाई मतदान नगरी लोकका कुरा गर्ने बाम गठबन्धनका उम्मेदवारहरुलाई देशका अधिकाँश निर्वाचन क्षेत्रमा विजय गराइ संघ र प्रदेशमा पठाएका छन् ।

अहिलेको जनमतको भनेको केपी ओलीका लागि हो । केपी ओली बाहेक जनताले अरु प्रधानमन्त्री सोच्न सक्दैनन् ।

केपी ओलीको सुखी नेपाली र सम्वृद्ध नेपालको नारा यो चुनावमा रामवाँण साबित भएको छ । विकास निर्माण देखेका र सुनेका नेपाली जनता प्रत्यक्ष अनुभुति हुने खालको विकास निर्माणको कार्यन्वयनकर्ता र निर्णायककर्ता हुने अभिलासा राख्दै यो चुनावमा सहभागिता जनाएका छन् । विगतका निर्वाचनको तुलनामा यो निर्वाचनले आममतदातालाई फरक, विकास निर्माणका एजेण्डामा ध्यान केन्द्रित गर्न सफल भएको छ ।

वास्तवमै केपी ओली नेतृत्वमा निर्माण भएको तत्कालिन सरकारले गरेका काम र कोरेको नेपाल निर्माणको खाका पूरा गर्नका लागि बाम गठबन्धनलाई भारी मतदान गरी जनता समृद्ध हुने चाहना राखेका छन् । सपनाका स्रष्टा केपी ओली र बाम गठबन्धनलाई यो चुनावले अजम्बरी हुने अवसर प्रदान गरेको छ । तसर्थ, अहिलेको जनमतको भनेको केपी ओलीका लागि हो । केपी ओली बाहेक जनताले अरु प्रधानमन्त्री सोच्न सक्दैनन् ।

अस्थीर सरकार विवेकहीन नेतृत्वबाट त्रसित नेपाली जनतामा धेरै कालान्तरपछि स्थायी सरकार र गतिशिल नेतृत्वको अपेक्षा गरेका छन् । जसले देशलाई उन्नति र प्रगतिको पथमा निर्देशित गर्नेछ । जनता अब केही हुन्छ, केही गर्नपर्छ, केही गर्न सक्छौँ भन्ने उच्च मनोबलसहित निकट भविष्यमा निर्माण हुने सरकारको बाटो पर्खिबसेका छन् । तर, बाम गठबन्धन एकतामा परिणत हुँदा नेपाली काँग्रेसको पसल बन्द हुने डरले काँग्रेस नेताहरु सत्ताको आडमा निवार्चन आयोग लगायतका निकायलाई प्रभावित पार्ने र बाम गठबन्धनलाई तोड्ने खेलहरुमा तल्लीन भएका छन् ।

नेपालको राजनीतिक अस्थिरतामा रमाउने केही शक्तिहरु वाम गठबन्धनविरुद्ध तानावाना बुनिराखेकै छन् । बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिन सत्ता लम्ब्याएर भएपनि गठबन्धन तोड्ने खेलहरु शुरु गरेको देखिन्छ । नयाँ सरकार निर्माणको प्रक्रिया केही दिन लम्ब्याउने र गठबन्धनभित्रका केही लोभीपापीहरुको जमात तयार पार्ने र सिद्धान्तको नाममा कुखुरा पहिले कि कुखुराको अण्डा पहिला भने जस्तो बहस गराउने कार्यकर्तालाई विभाजित र विभक्त गराउने काम शुरु भएका छन् ।

यी चुनौतीहरु आउन नदिन गठबन्धनको नेतृत्व तह सचेत हुन जरुरी छ । छिटो भन्दा छिटो पार्टी एकताको कार्यतालिका जनता माझ पस्कन जरुरी छ । मुल नेतृत्वलाई कमजोर बनाउने र दाउ मार्ने अन्तर पार्टी चलखेलको अन्ययका लागि दुवै पार्टीको कडा निर्देशन आउन जरुरी छ ।

धेरै समयपछि जनताको मनमा विकास निर्माण हुन्छ भन्ने आशा जागृत भएको छ । वाम गठबन्धनको सरकार र केपी ओलीको नेतृत्वमा जनता सम्वृद्धिको यात्रा तय गर्न आतुर देखिएका छन् । जनताको विकासप्रतिको तीव्र चाहनाको परिपूर्ति हुने शुनिश्चता वाम गठबन्धनले छिटो सरकार निर्माण र पार्टी एकता गरेर उदाहरणीय बन्न जरुरी देखिएको छ ।

दुवै पार्टीको सांगठानिक संरचनाको ब्यवस्थापन र कार्यकर्ताको भावनात्मक एकता नै पार्टी एकताको दिर्घकालिन आधार बन्नेछ । पार्टीको एकतालाई दिगो र भरपर्दो बनाउन दुवै पार्टीको सामूहिक नेतृत्वको अनिवार्यता छ । बाम गठबन्धनका निम्ति केपि ओली श्वासप्रश्वास हुन् भने प्रचण्ड रक्तसंचार हुन् । यी दुवै नेतालार्इ एकतापछिको संक्रमणकाल नटुंगिदासम्म सामूहिक कार्यकारी भूमिकामा राख्न जरुरी छ । यो विषय यी दुई नेताको ब्यक्तिगत इच्छाको मात्र होइन्, यो सिंगो पार्टी पंक्ति र कार्यकर्ताको विषय हो ।

लेखक नेकपा एमाले कालिकोटका अध्यक्ष हुन् ।