क्वालालामपुर, २५ पुस । लामो समयसम्म शासन गरेका मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमद पुनः एकचोटि प्रधानमन्त्री पदको आकाङ्क्षा राख्दै निर्वाचनमा सहभागी हुने भएका छन्। अहिले उनी ९२ वर्षका छन्।
प्रतिपक्षी गठबन्धनले महाथिरलाई आइतवार प्रधानमन्त्रीको उम्मेदवारका रूपमा छानेको हो। मलेसियामा अगस्ट महिनासम्ममा आम निर्वाचन घोषणा गरिसक्नु पर्छ।
महाथिरले सन् २००३ मा प्रधानमन्त्रीको पद छोडेका थिए। प्रधानमन्त्रीका रूपमा उनले दुई दशकभन्दा बढी समय सत्ता चलाएका थिए।
सो पदमा निर्वाचित भए भने उनी नेतृत्व गर्न पाउने विश्वका वृद्धतम नेताहरूमध्ये एक हुनेछन्।
वर्तमान प्रधानमन्त्री नजिब रजाकविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै पछिल्लो समयमा उनी राजनीतिमा सक्रिय देखिएका हुन्।
राज्य विकास कोष संलग्न भएको अरबौँ डलरको एउटा आर्थिक काण्डमा रजाक मुछिएका छन्।
सत्तासीन युएम्एन्ओ दलसँगको सम्बन्ध तोड्दै महाथिरले २०१६ मा नयाँ दल बर्साटु घोषणा गरेका थिए। सो दलले विपक्षी गठबन्धन पाकाटान हारापानमा संलग्न भएको थियो।
सम्वाददाताहरूका अनुसार महाथिरले अवलम्वन गरेका अधिनायकवादी तर वस्तुतः व्यावहारिक नीतिहरूले उनको शासनकालमा मलेसियालाई एसियाको आर्थिक शक्तिका रूपमा स्थापित गर्न सहयोग पुर्याएका थिए।
तर आफ्नो विरोध गर्नेहरू र शक्तिलाई चुनौती दिनेहरूविरुद्ध भने महाथिरले कडा अडान लिन गर्थे। – बीबीसी















प्रतिक्रिया