
फराह (अफगानिस्तान), २३ पुस । अफगानिस्तानको पश्चिमी फराह प्रान्तमा अफगान सेनाको नेतृत्वमा रहेको यहाँको संयुक्त सुरक्षा फौजले गरेको हवाई कारबाहीमा परी स्थानीय कमाण्डरसहित २० जनाको ज्यान गएको छ ।
प्राप्त समाचारअनुसार संयुक्त सुरक्षा फौजको कारबाहीमा परी स्थनीय तीन जना कमाण्डरसहित २० जना इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । शनिबार अपरान्ह ती लडाकू मारिएका भए पनि अफगान रक्षा मन्त्रालयले सो कारबाहीको जानकारी आइतबार प्रकाशन गरेको विज्ञप्तिमार्फत दिएको छ ।
मारिएकाहरुमध्ये यहाँका स्थानीय स्तरका तीनजना आइएसका कमाण्डर नै रहेका रक्षा मन्त्रालयलाई उद्धृतगर्दै विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । पश्चिमी प्रान्त फराहमा लुकेर बसेका लडाकूहरुलाई लक्ष्यगरी शनिबार गरिएको कारबाहीका क्रममा उनीहरु मारिएको सो विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
सो कारबाहीका क्रममा त्यहाँका सशस्त्र हतियारधारीहरुले प्रयोग गरिरहेका केही सवारी साधन र हातहतियार पनि बरामद गरिएको सो समाचारमा जनाइएको छ ।
उता शुक्रबार अबेर राती भएको आक्रमणमा लघमान प्रान्तमा पनि स्थानीय स्तरका एकजना कमाण्डरसहित २० जना मारिएका अफगान सेनाको पुर्वी क्षेत्रका एकजना प्रवक्ता सिरिन अक्वा फाक्विरीले जानकारी दिएका छन् ।
उनका अनुसार आक्रमणमा परी मारिनेमा मावलावी तुराब र मुसा खान नामका दुई जना कमाण्डर लडाकू पनि रहेका छन् । उनीहरुले सो क्षेत्रमा आइएस संगठनको नेतृत्व गर्दै आएका बताइएको छ । –रासस/सिन्ह्वा















प्रतिक्रिया