नेपालको राजनीतिमा नैतिकताको खडेरी लागिरहेको सन्दर्भमा पुनः शेरवहादुर देउवाको सत्तालिप्तताले झन् नेपाली कांग्रेसको ईज्जतमाथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ ।
२०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनको परिणामपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सत्ता हस्तान्तरणमा अलमल गरिदिदा लामो समयसम्म देश अनिर्णयको बन्दी बनिदियो । सत्ता र सरकारमा रहँदा संविधान र कानूनको बर्खिलाप गर्दै हिँड्ने संविधानमा भएको समस्या समाधानभन्दा शक्तिमा केन्द्रित रहने र जनादेश प्राप्त भएर सत्ता र शक्तिवाट वाहिरिन पर्दा संविधान, नियम कानूनले सरकार छाड्न मिल्दैन भन्ने रोग अहिलेको होइन पुरानै हो भन्ने ईतिहासले पनि प्रमाणित गरिदिइसकेको छ ।
त्यहि सन्दर्भमा अहिलेको विकसित घटनाक्रम हो, जुन व्यक्तिको नियत, ईमान्दारिता र नैतिकतामाथिको खडेरी हो । अहिले भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भएको पनि १ महिना वितिसक्दा पनि विभिन्न निर्वाचन आयोग र कानूनलाई देखाएर सरकारको आयु लम्वाउनु खोज्नु भनेको सत्ता लिप्सा र कमजोर ‘कु’ दृष्टि शिवाय अन्य केही हुँदैन । यसले केवल लोकतन्त्रको दुहाई दिने राजनीतिक दलको उपहास शिवाय अन्य चित्रित गर्दैन । हरकेतामा आफू अनुकूलतामा नै व्याख्या र विश्लेषण गर्न माहिर नेपालका राजनैतिक दलका नेताहरू मात्र होइन, कानून व्यवसायी, वौद्धिक वर्ग समेत यसबाट अछुतो रहन सकेन ।
नेपालको राजनीतिमा पटक–पटक प्रधानमन्त्री वनेर सधै सरकार र शक्तिको केन्द्रभागमा रहेको नेपाली कांग्रेसका सभापति एवं प्रधानन्त्री शेरवहादुर देउवा निर्वाचनको सम्मुखमा ज्योतिषीले ७ पटक प्रधानमन्त्री बन्छस् भन्ने अभिव्यक्ति दिएर मिडियामा छाउनुभयो । त्यसको त प्रधानमन्त्रीको भनाई स्वतः विकाउ हुन्छन् ।
यस्तो अभिव्यक्ति दिएर ज्योतिषीको भनाईलाई आधार मानेर पुनः आफै प्रधानमन्त्री बन्ने ठोकुवा गरेका देउवाको त्यो अभिव्यक्ति कति उचित कति अनुचित ? देशको आवश्यकताभन्दा पनि अन्धविश्वासमा विश्वास गर्ने कस्तो लोकतन्त्र ? जनताको अभिमतलाई स्वीकार गर्ने र जनमतको भावनामा सहयोगी बन्नेभन्दा पनि जनउपेक्षित व्यवहारमा रमाउने कस्तो प्रधानमन्त्री ? पटक–पटक सरकारको नेतृत्वमा रहेर देश र जनताका लागि गरेको क्रिया र भोलिको योजना निर्माणबाट जनतालाई आश्वस्त बनाउन लाग्नु पर्नेमा जनविरोधी अभिव्यक्तिले देउवाको मात्र होइन नेपाली कांग्रेस पार्टी, कार्यकर्ता र आमजनतालाई नै निशासा बनाएको थियो ।
जसको फलस्वरुप प्रतिनिधिसभा तथा प्रदेशसभामा कांग्रेसको भूमिका धुमिल बनिदियो । समानुपातिक मतलाई आधार नमान्ने हो भने तेश्रो दल बन्यो । राजनेता हुनु समान्य कर्म होइन, नेपालको सन्दर्भमा राजनेता कम भएको अवस्थामा नेता मात्र भएर देशको आमूल परिवर्तन गर्न सकिदैन । यसको लागि स्पष्ट दृष्टिकोण सहित साहस र हिम्मतको आवश्यकता पर्दछ । देश र जनताप्रति पूर्ण बफादारिता हुनु नै नेताको गुण हो । योभन्दा वाहिर गरिने कर्म त केवल सत्ता, सरकार र शक्ति केन्द्रित फगत केही दिनको रुझान शिवाय केही हुन सक्दैन ।
यहि प्रयोगशालाको अविरल अवस्थामा वगिरहेको नेपाल अmभै लामो समय यसको अनुयायी रहिरहने कुरामा कुनै सन्देह छैन ।
राणाशासनको अन्त्यपछि सवैभन्दा लामो समयसम्म सरकार र शक्तिमा रहेको नेपाली कांग्रेस यो समयसम्म आईपुग्दा के कति जनताको लागि काम भए, देश विकास निर्माणमा कति अगाडि बढ्यो ? देशको अन्तर्राष्ट्रिय जगतमा छवि कहाँ पुग्यो ? छिमेकीको हस्तक्षेपले कति प्रश्रय पायो ? देशमा सुशासन, भष्ट्राचारले कति स्थान पायो ? लोकतन्त्र र गणतन्त्रसम्म आईपुग्दा देशमा औधोगिककरण, आर्थिक अवस्था, वैदेशिक रोजगारी, युवा रोजगारी, कृषीको समग्र अवस्था, शिक्षा, स्वास्थ्य, रोजगारको अवस्था के हो ? यो सवैको लेखाजोखा आफूलाई लोकतन्त्रको जननी सम्झने नेपाली कांग्रेस र त्यसको नेतृत्वकर्ताले सोच्नु पर्दैन ? देश र जनताप्रतिको उत्तरदायित्व यो अवधिमा
कति भयो ? संचार र विज्ञानको यो चामत्किारिक समयमा पनि अन्धविश्वासमा रम्ने नेतृत्वको अकर्मण्यताले देशको अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा गरिदियो । राम भरोशामा मात्र लोकतन्त्रको मूलभुत मान्यता स्थापित हुन सक्दैन । जनताको इच्छा, चाहना र आवश्यकता पूरा हुन सक्दैन । यसका लागि योजना, दुरदृष्टिता र जवाफदेहिताको आवश्यकता पर्दछ भन्ने बुझन जरुरी छ ।
जनतालाई सधै भोट बैंक र स्वार्थता पूर्तिका लागि मात्र ठान्ने सोँच भएका नेताहरू सधै यहि चिन्तनमा नै अभ्यस्त रहनु भनेको अदुरदृष्टिताको पराकाष्ट शिवाय केही हुन सक्दैन । समानता र न्यायमा विश्वास गर्नु नै अहिलेको मुख्य आवश्यकता हो । जनताको मौलिक अधिकारको प्रत्याभूति नै देशको आवश्यकता हो । समयको परिवर्तित सन्दर्भ सहित जनतामा आएको सोचलाई आत्मासात गर्न नसक्ने हो भने अवको समयमा कोही कसैको दास र भोट बैकमात्र बन्न सक्दैन भन्ने कुरा नेपाली कांग्रेस लगायत अन्य राजनैतिक दलहरुले वुझन जरुरी छ ।
जनता के चाहन्छन भन्ने समान्य ख्याल समेत गर्न नसक्ने दल र त्यसका मतियाराहरु नेपाली कांग्रेस पार्टीलाई जोगाउनका लागि सत्ता र शक्ति मात्र राजनिती हो भन्ने भ्रम त्यागेर अगाडि वढ्नुको आवश्यकता छैन । हिजोको गतिविधिलाई नेपाली जनताले हेक्का राखिरहेका छन् । आफूले जे गरिन्छ, त्यो नै लोकतन्त्र हो, जो वोलिन्छ, त्यो नै सत्य हो र जे गरिन्छ, त्यो नै न्याय र कानून हो भन्ने जवसम्म अभिष्ट राखिन्छ, तवसम्म नेपाली कांग्रेस पार्टीको दुर्दशा परिवर्तन हुन सक्दैन ।
पटक–पटक देउवावाट पार्टीको नेतृत्व र सरकारको नेतृत्व हेरिसकेका नेपाली जनता अव पुनः देउवाको नेतृत्वमा पार्टी पुनःगठन हुने कुरामा शंकालु छन् । जनमतको नतिजा सार्वजनिक भईसकेको सन्दर्भमा पनि रुञ्चे पारामा निर्वाचन आयोग र कानूनलाई देखाएर सत्तामा लिप्त रहने हो भने नेपाली कांग्रेस र देउवाको लोकप्रियता थप खस्किने कुरामा कुनै शंका छैन । लोभ र स्वार्थताको जगमा उभिएको नेपाली कांग्रेस स्वस्थ्य लोकतन्त्रको मूल्य र मान्यता के हो भन्ने कुरामा यथार्थवोधमा जानैपर्दछ ।
लोकतन्त्रको मूल मर्म र मान्यता भनेको जनमतको कदर गरि अगाडि वढ्नु हो । जनमत विरोधी गतिविधी गर्ने नेपाली कांगे्रसको लोकतन्त्र कस्तो लोकतन्त्र हो ? कि जनताले बुझेको लोकतन्त्र र नेपाली कांगे्रसले भन्ने गरेको लोकतन्त्रको परिभाषा अलग–अलग हुन् ? निर्वाचन आयोगलाई दवाव दिएर केही दिन र महिना कुर्सी को आयु लम्वाउन सकेता पनि नेपाली कांगे्रस र स्वंय देउवाको आयु घट्ने कुरामा सोच्ने कसले ? सवैलाई सरकार र शक्तिमा नै रम्नु छ ।
संविधान र कानुनमा भएका कमी कमजोरी सच्चाउने भनेको सर्वपक्षीय छलफल र नयाँ जनादेश लिने पार्टीलाई हो भन्ने समान्य हेक्का पनि राख्न नसक्ने नेपाली कांगे्रसले देश र जनताको परिवर्तन गर्ला भन्ने अभिष्ट छाडे भयो । निर्लज्जतापूर्वक सत्तामोहले अन्ततः नेपाली कांगे्रस मात्र होइन देश र जनतालाई नै वन्धक वनाउने कुरामा कुनै शंका छैन ।
















प्रतिक्रिया