प्रिय कमरेडहरु घनश्याम भुसाल र शंकर पोखरेल,
दुवैमा लाल सलाम !
मैले मात्र होइन्, नेकपा एमालेका हरेक कार्यकर्ता शंकर-घनश्यामलाई यही किसिमको उच्च योगदान भएका नेताका रुपमा चिन्दछ । र, ठान्दछ, एकको अभावमा एमाले अपूरो जस्तो हुन्छ ।
तपाईंहरु दुवै नेपालको बामआन्दोलनका लागि सिद्धान्तनिष्ट नेताका रुपमा परिचित हुनुहुन्छ । एमालेबृत्तका लागि त दुवैजना अपरिहार्य आवश्यकता जस्ता देखिनुहुन्छ । दुवैले जनताबाट अनुमोदित भएर प्रतिनिधि सभा र प्रदेश सभाको प्रतिनिधित्व गर्दै हुनुहुन्छ । सिद्धान्त, इमान, नैतिकताको राजनीतिले हार्ने कि जित्ने भन्ने प्रश्नसँग हामीले तपाईंहरुको चुनावी प्रतिष्पर्धालाई लिएका थियौं । यो मुल्यमा एउटा नाम लालबाबु पण्डितलाई थप्ने हो भने तपाईंहरुको जित निष्ठा, सिद्धान्त र नैतिकताको समेत जित हो ।
तर कहिलेकाँही घनश्याम – शंकर एक नदीका दुई किनारा जस्ता देखिनु हुन्छ । तपाईहरुका विचारहरुले सिद्धान्तकै तर्क गरिरहे पनि कतै पुरातन आग्रहहरुले नै तपाईंहरुलाई दुई किनारा बनाएको हो कि सिद्धान्तकै लडाईँ हो ? सामान्य कार्यकर्ताले भेउ पाउँदैनन् ।
माओवादी केन्द्र र एमालेबीचको एकता प्रसंगले फेरि तपाईं दुबै दुई किनारामा जस्तो देखिनु भएकोले दुबैप्रति केही नलेखी धरै पाइएन । यसबाट अलि चिन्ता पनि लागेर यो पत्र लेख्दैछु, सार्वजनिक रुपमा । केही प्रस्तावहरु पनि अघि सारेको छु ।
मेरै घटना स्मरण गराएर म प्रसंग उठाउँछु । ०५९ देखि ०६५ सम्म म एमालेमा रहन पाइन । माओवादी जनयुद्धका क्रममा दुनै सदरमुकाम आक्रमण भएपछि जनसेना फौजिशक्तिको रुपमा उदायो । मैले ०५९ देखि नै संंसदबाहिरको क्रान्तिकारी बामपन्थी शक्ति र संसदभित्रको बामपन्थी शक्तिको तालमेल गरी आमजनतालाई शान्तिपूर्ण बिद्रोहतर्फ अग्रसर गराउँदै जनबिद्रोहको रुप दिएर जनवादी गणतन्त्र स्थापना गर्न सकिने कुरा उठाएर लेख सार्वजनिक गरेँ ।
संविधानसभाबाट संविधान निर्माणको बाटो भएर अगाडि बढदा जबजको साँचो कार्यान्वयन हुने विचार प्रकट गरि दर्जनौ लेख लेखेँ । यहीकारण म तत्कालिन लुम्बिनी अञ्चल इन्चार्ज बिष्णु पौडेल हुँदा पार्टी सदस्यबाट निकालिएको एउटा कार्यकर्ता हुँ । पार्टीभित्र नै अन्तरपार्टी लोकतन्त्र र अन्तरपार्टी विचार विनिमयको कति डरलाग्दो खाडल थियो भन्नेकुराको म एक उदाहरण पनि हुँ ।
जनकपुर महाधिवेशनको सम्झना
०६१ मा जनकपुर महाधिवेशनमा यहीकारण ‘अग्रगमनका लागि संविधान सभा’ भन्ने शंकर पोखरेल कमरेडको लाइनसँग मेरा विचार मिलेकोले ‘संविधान सभा किन र कसरी ?’ भन्ने रचना संग्रहसहितको मेरो पुस्तक लिएर म होमिएको थिएँ । महाधिवेशनको पुस्तक स्टलमा सर्वाधिक विक्री पनि भएको थियो त्यो पुस्तक । तर, जसले मलाई रुपन्देहीमा पार्टीबाट निष्कासित गरे उनीहरुले नै महाधिवेसन शुरु भएको २ दिनपछि महाधिवेशनस्थलमा पुस्तक बिक्रीमा प्रतिबन्ध लगाए । त्यतिखेर मेरो अभियानलाई नैतिक समर्थन गर्न आउने नेता कमरेड शंकर पोखरेल भएकोले उहाँप्रतिको गहिरो छाप ममा छ । मलाई लाग्छ, एमालेले सातौं महाधिवेशनमै संविधानसभाको लाइन पास गरेको भए मुलुकले अझ छिटो अग्रगामी बाटो पक्रन्थ्यो, मुलुकले ठूलो क्षति व्यहोर्थेन । पार्टीलाई जबज लागू गरी जनवादी क्रान्ति पूरा गर्ने मुल ढोकामा उभ्याउने कार्यको मुख्य वैचारिक श्रेय कमरेड शंकरलाई जान्छ भन्नेमा म स्पष्ट छु ।
घनश्यामको लाइन र पुँजीवादको चरित्र
सातौँ महाधिवेशनमा कमरेड घनश्यामको लाइन के थियो ? मलाई याद छैन । तर, आठौँ महाधिवेशन अघि कमरेड घनश्यामको ‘संकटको पुर्नउत्पादन’ नामक पुस्तक बजारमा आयो । पछि ‘आजको मार्कसवाद‘ नामक पुस्तक पनि । उहाँले नेपाली समाजको वर्गिय चरित्र खोतलेर हामी कहाँ छौ ? र अब कता जाने भन्ने असाध्यै महत्वको पुस्तक प्रकाशन गर्नु भयो । यी कुराहरुले जबजको गिता गाइरहने तर व्यवहारमा लागू नगर्ने यथास्थितिवादी कथित क्रान्तिकारितामा दह्रो झापड हान्न शुरु गर्यो । यही बहसले गर्दा नै नवौ महाधिवेशनसम्म नेपाली समाजलाई अर्धसामन्ती र अर्धऔपनिवेशिक भन्ने हामीहरु ‘प्रारम्भिक पुँजीवादी’ समाजमा रहेको निष्कर्षमा पुग्यौं ।
हाम्रो वाम राजनीतिमा आलोचनात्मक चेतना बिस्तार भयो । समाजशास्त्रको बिद्यार्थी भएकोले पनि हुन सक्छ यी विचारहरुमा म घनश्यामसँग नजिक भएँ ।
मलाई लाग्छ, तपाईहरु दुवैमा सहकार्य र खुलस्त अन्तरक्रिया भएको भए हामी नेपालको पुँजीवादको चरित्र दलाल छ र हाम्रो संघर्षको मुख्य निशाना दलालपुँजीवाद हुनुपर्छ भन्ने सपाट निष्कर्षमा पुग्थ्यौं । त्यसले अझ यथार्थ धरातलमा उभिएर क्रान्तिको कार्यदिशा तय गर्थ्यौं । हामीले राज्य, पार्टी र सत्ताका अवयवहरुमा त्यसका बिरुद्ध राष्ट्रिय पुँजी निर्माणका लागि त्यही किसिमको संरचना खडा गर्ने हाम्रा स्पष्ट कार्यनिति बन्थे । यसो गर्दा हामी अझ राम्रो गरी जबजले भनेजस्तै मार्गचित्रमा देशलाई उभ्याईरहेका हुन्थ्यौँ । विडम्वना के छ भने नवौ महाधिवेशनको पारित विचारका प्रस्तावक समेत रहेका उपमहासचिवको जिम्मेवारी पाएका भुसाल पार्टीभित्रै ‘विना विभागिय’छन् । जिम्मेवारीविहिन छन् ।
मार्क्सवाद, लेनिनवाद र माओवाद, जनताको बहुदलीय जनवाद जस्ता मार्गदर्शक लाइन बोकेका पार्टीहरु अब के बोकेर अघि बढछन ? स्वभाविक बहस आरम्भ भएको ठान्छु म । एकतालाई सिद्धान्तले डोर्याएन भने त्यो एकता नै हुन सक्दैन ।
मैले मात्र होइन्, नेकपा एमालेका हरेक कार्यकर्ता शंकर-घनश्यामलाई यही किसिमको उच्च योगदान भएका नेताका रुपमा चिन्दछ । र, ठान्दछ, एकको अभावमा एमाले अपूरो जस्तो हुन्छ ।
एमाले माओवादी एकता प्रक्रिया प्रसंग चलिरहँदा अब एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त के हुने भन्ने बहस शुरु भएको छ । बहसलाई एमाले उपमहासचिव घनश्याम भुसालको एउटा अन्तरवार्ताले तीव्रता दिएको छ । ‘माओवाद र जबजको च्याप्टर क्लोज’ भएको भन्ने भुसालको तर्कमाथि अनलाइन र छापाहरुमा चर्काचर्की छ, कसै कसैले इतिहासका कतिपय घटनाबाट निहुँ खोतलेर घनश्याममाथि आक्रोश समेत पोख्दैछन् । पुरातन आग्रहको जगमा उभिएर भविश्यको बाटो तय हुन सक्दैन ।
मार्क्सवाद, लेनिनवाद र माओवाद, जनताको बहुदलीय जनवाद जस्ता मार्गदर्शक लाइन बोकेका पार्टीहरु अब के बोकेर अघि बढछन ? स्वभाविक बहस आरम्भ भएको ठान्छु म । एकतालाई सिद्धान्तले डोर्याएन भने त्यो एकता नै हुन सक्दैन ।
जबजको सन्दर्भ सकियो कि छँदैछ ? यसले नेपाली राजनीतिलाई मार्गदर्शन गर्न सक्छ कि सक्दैन ? स्वभाविक हो कि मार्गदर्शन गर्न सक्दैन भने यसको औचित्य सकियो, अझ पनि यसले मार्गदर्शन गरिरहनु पर्छ भने औचित्य जारी छ भन्ने सम्झनु पर्छ ।
एकताको सैद्धान्तिक आधार
दुई पार्टीबीचको एकताको आधारबिन्दू माओवादीको हेटौँडा महाधिवेशन र एमालेको नवौँ महाधिवेशनमा लिएको कार्यदिशा मात्र होइन् । यसको आधारबिन्दु ०६० सालमा माओवादीले एकाइसौं शताव्दीको जनवाद र ०४९ सालबाट एमालेले जनताको बहुदलीय जनवादको सैद्धान्तिक अन्तरवस्तु मिल्न जानु मुख्य कुरा हो । नेपाली जनवादी क्रान्तिमा दुवैको सैद्धान्तिक सारहरुको मिश्रण रहेको छ । त्यो संविधानमा समेत अधिकांशतः अभिव्यक्त भैसकेको छ । मलाई लाग्छ, संविधानमा अभिव्यक्त कुराहरुलाई साँचो अर्थमा जनताको जीवनमा रुपान्तरण गर्न सम्पूर्ण रुपान्तरणको चरणभरि यी दुवै लाइनहरुले मार्गदर्शन गर्छन र गर्न जरुरी छ । हामी मान्यताहरुलाई संविधानमा संस्थागत गर्ने चरणबाट रुपान्तरणको लामो चरणमा प्रवेश गरेका छौँ भनेर हामीले बुझने हो भने यी दुवै लाईनको सन्दर्भ अझै केही दशक रहिरहनेछ । यसलाई हटाएर, स्थगित गरेर अर्को लाइन जरुरी हैन कि आवश्यकता हो भने बरु अरु श्रृखलाहरु थपिन सक्छन ।
जवज र एशजका समानता र भिन्नता
जनताको बहुदलीय जनवाद (जबज) र एक्काइसौं शताब्दीको जनवाद (एशज) का साझा मान्यता भनेको पार्टी र सत्ताको निरन्तर जनवादीकरण र आवधिक निर्वाचनमार्फत जनअनुमोदनको मोडल हो । यसको दार्शनिक अन्तरवस्तु भनेको द्धन्द्धवादलाई राजनीतिमा प्रतिष्पर्धाको रुपमा स्थान दिनु हो । जातिय आत्मनिर्णयको अधिकार र जातिय स्वशासन हटाउने हो भने एकाइसौ शताब्दीको जनवाद तात्विक रुपमा जनताको बहुदलीय जनवाद नै हुन्छ । अरु प्रायः सबै कुरा मिल्छ । एशज भन्दा जबज शासन प्रणालीका धेरै कुरामा स्पष्ट अभिव्यक्त गर्दछ । शक्ति पृथकीकरणको शासन प्रणालीमा जबज स्पष्ट छ, एशज मौन, समानुपातिक र समावेशितामा स्पष्ट छ, जबज मौन । अहिलेको सम्बिधानमा हामी मिश्रित प्रणाली अपनाएका छौं, सबिधानको अभ्यास र पार्टीभित्रको बैचारिक बहसलाई निरन्तरता दिँदै जाँदा यी कुराहरु मिल्दै जानेछन् । यसका लागि पनि दुवै कार्यक्रमको सन्दर्भ बरकरार राखेरै जानु पर्छ ।

जबज कार्यक्रम मात्र थियो, यसलाई सिद्धान्त बनाइयो । कार्यक्रमबाट मार्गदर्शक सिद्धान्त बनाएको र मुलुक जबजको बाटोमा अघि बढेको निष्कर्ष निस्किसकेको सन्दर्भभा जनवादी क्रान्ति पूरा भएकोले यसको सैद्धान्तिक बहसको च्याप्टर क्लोज भएको होला तर सन्दर्भ झन मुखरित भएको छ । यी कुरामा घनश्यामका दुवै पुस्तकहरुले वकालत गर्छन् र शंकर पोखरेलका बारम्बारका अन्तवार्ताहरु साक्षी छन् । मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्ने सन्दर्भमा जबजको दर्शन वा द्धन्द्धवादका क्षेत्रमा र राजनीति अर्थशास्त्रको क्षेत्रमा योगदान रहेको पार्टीका दस्तावेजहरुमा स्वीकार गरिएको छ ।
प्रचण्ड र जबज
एकताका जबजलाई संसोधनवादको डंगुर भन्ने प्रचण्डले एशजको लाइन लिएपछि ०६३ जेष्ठ ५ को तिनाउँ एफएमको अन्तर्वार्तामा ‘मदन भण्डारीको स्प्रीट मलाई मन पर्थ्यो, जवजलाई संसदवादमा फसाउने मदन भण्डारीको स्प्रीट थिएन’ भनेका थिए । अन्तर्वार्तामा उनले भनेका छन ‘मदन भण्डरीसंगै एक रात बसेर क्रान्तिलाई कसरी अगाडि बढाउने भन्ने विमर्श गर्ने योजना थियो’ ।
जबज र एकाइशौँ शताब्दीको जनवादका मान्यताहरु समेत संविधानमा प्रतिविम्बित भएको सन्दर्भमा ‘एकाइशौँ शताव्दीको जनताको बहुदलीय जनवाद’को रुपमा पुर्नपरिभाषित गरी एउटै सैद्धान्तिक दिशा तय गर्नु पर्दछ ।
सायद असमयमै मदनको हत्या नभएको भए, त्यो भेट भएको भए मुलुकले उग्रवामपन्थ कष्ट नभोगी क्रान्ति सम्पन्न हुन्थ्यो कि ! आफ्नै नाममा उद्घाटित प्रचण्डपथलाई स्थगित गरेर ‘एकता केन्द्र’ का नारायणकाजी श्रेष्ठहरुलाई पार्टीमा भित्राउँदै एउटै कम्युनिष्ट केन्द्र बनाउने कार्यगर्दै आएका नेता समेत हुन, प्रचण्ड । नेतृत्वमा हुनुपर्ने डाइनामिक्स उनीमा छ ।
एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्तको प्रस्ताव
हामीले हाम्रो विधानको प्रस्तावनामा मार्गदर्शक सिद्धान्तको रुपमा मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई लिएको सन्दर्भमा अव कसरी जाने ? भन्ने कुरालाई आगामी एकता महाधिवेशनसम्म बहसको रुपमा लैजान सकिन्छ । मलाई के लाग्छ भने अहिलेको संविधानलाई नेपाली जनवादी क्रान्तिको महत्वपूर्ण उपलब्धिको रुपमा स्वीकारी सकिएको र अझै परिष्कृत गर्ने काम समेत बाँकी रहेको, जबज र एकाइशौँ शताब्दीको जनवादका मान्यताहरु समेत संविधानमा प्रतिविम्बित भएको सन्दर्भमा ‘एकाइशौँ शताव्दीको जनताको बहुदलीय जनवाद’को रुपमा पुर्नपरिभाषित गरी एउटै सैद्धान्तिक दिशा तय गर्नु पर्दछ । मार्क्सवाद, लेनिनवादका अतिरिक्त एशजबज हाम्रो मौलिक सैद्धान्तिक दिशा हुनेछ । यसले अहिले बामगठबन्धन र एकताका लागि निर्वाचनमार्फत भएको जनअनुमोदनले समेत सम्मान पाउनेछ । यसतर्फ दुवै कमरेडहरु मार्फत छलफल अघि बढोस भन्ने कामना गर्दछु ।
कमरेडहरु,
माओवादी केन्द्र र एमाले अब दुई पार्टीको रुपमा रहन सैद्धान्तिक रुपमा सम्भव छैन् भनेर २०६३ लेखिएको र ०६४ मा एशिया पब्लीकेशनबाट प्रकाशित ‘जबज र प्रचण्डपथ’ भन्ने पुस्तकमा त्यसका सैद्धान्तिक आधारसहित उल्लेख गरेको छु । नेपाली कम्युनिष्ट आन्दोलनको एक शिखर पुरुष मोहनविक्रम सिंहले उक्त कितावमै आलोचनात्मक रुपमै भएपनि ‘कितावले सही समझदारी निर्माणमा ठूलो सहयोग पुग्ने’ बताउनु भएको थियो । त्यतिखेर सायद एमाले माओवादी एकताको कुरा देख्नु असम्भव नै थियो होला तर देखियो अनि लेखियो । आज त्यो प्रमाणित भइरहेको छ । यस मानेमा म व्यक्तिगत रुपमा खुशी छु । दुई पार्टीको एकता शत्रुको शत्रु मित्र भएजस्तै मात्र हुने छैन । त्यसलाई सैद्धान्तिक र भावनात्मक रुपमै एकताको जगमा उठाउन संगतिपूर्ण वैचारिक नेतृत्व लिनुहोस भन्ने कामना राख्दछु । तपाईँहरु दुई जनाको जुँगाको लडाईँले हाम्रो मौलिक विचारको धार दिशाहीन नहोस । अस्तु !
मिति २०७४/९/१८, देवदह
सिद्धिचरण भटराई
नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य रुपन्देही
















प्रतिक्रिया