– ददि सापकोटा
नेपाली टोपी दिवस भर्खरै सकिएको छ । नेपाली युवाहरुले भने विश्व नेपाली पोशाक दिवस मनाउने तयारी गरेका छन् । नेपाली पोशाक दिवश मनाउनुको औचित्य बारे सामाजिक सञ्जालमा बहस र प्रतिक्रिया पनि शुरु भएको छ । नेपाल विविध भाषा, संस्कृति, भिन्न सामाजिक वनावट, भौगोलिक विभिन्नता बोकेको देश हुनाले त्यो विविधतालाई समेट्न सक्नेगरि साझा दिवसका रुपमा मनाउनुपर्छ भन्ने युवाहरुको पहलमा पुष २७ (जनवरी ११) का दिन हरेक वर्ष विश्व पोशाक दिवस मनाउन खोजिएको हो ।
नेपाल एक सयभन्दा बढि भाषा र त्यो भन्दा बढि जातजातिको साझा देश हो । एक सयभन्दा बढि जातजाति अनुसार तिनको संस्कृति, भाषा, धार्मिक आस्था, प्रचलन र सामाजिक जिवनपनि धेरैको अलग छ । ति फरक समुदायको पोशाक पनि फरक छ । भौगोलिक भिन्नता र मौसमको फरकले पनि फरक ठाउँमा बस्ने समुदायले फरक पोशाक लगाउने गर्छन् । नेपालमा देखिने पोशाकले सामाजिक, आर्थिक, भौगोलिक, धार्मिक, साँस्कृतिक भिन्नताको रहस्य बोकेका छन् । तिनका बारेमा आजसम्म पनि गहिरो अध्ययन हुन सकेको छैन । भएका जानकारी र तिनको महत्वका बारेमा पनि यथेष्ट मात्रामा सार्वजनिक गरेको पाइन्न ।
आफ्नै देशभित्र के कति पोशाक छन् । कुन जाति, कुन समुदाय, समुहका मानिसले कस्तो पोशाक लगाउँछन् भन्ने प्रचार गरिएको पनि छैन । एउटै समूदायभित्र पनि लिंग र उमेर अनुसार फरक खालको पोशाक लगाउने प्रचलन पाइन्छ । सामाजिक रितिथिति अनुसारका पोशाक पनि मनग्गे छन् । तिमध्ये केहि पोशाकहरु लोप हुने खतरामा पनि छन् । त्यस्ता पोशाकको संरक्षण हुनु जरुरी छ । त्यसैले यस्ता विविध जातजाति र समूदायको पोशाकका बारेमा सार्वजनिक हुनु जरुरी छ । यस्ता पोशाकहरुलाई राष्ट्रिय पोशाक दिवशका रुपमा विश्वभरि प्रचार गरिनुपनि उत्तिकै महत्वपूर्ण छ ।
त्यति मात्रै होइन, अहिले विश्वभरि प्रतिलिपी अधिकार (पेटेन्ट राईट) लिने होडपनि उत्तिकै चलेको छ । नेपालमा वर्षौंदेखि चलेको हुक्का पिउने चलन र त्यो हुक्कालाई परिमार्जित गरेर पश्चिमेलीहरुले आफ्नो भएको दाबी गरिसकेका छन् । हाम्रा कतिपय हिमाली जडिबुटी अरु देशले आफ्ना नाममा दर्ता गरिसके । काठमाडौँका सडकमा टुकटुक नाममा चल्ने ग्याँसवाला टेम्पो अहिले स्विजरल्याण्ड र फ्रान्सका सडकमा त्यहि नाममा गुडेको देख्न पाइन्छ । बास्मति चामललाई अमेरिकाले आफ्नो पेटेन्ट राईटमा दर्ता गरेको समाचार धेरै पहिलेनै सार्वजनिक भएकै हो । अझ हाम्रा केकति सम्पदा हामीले थाहै नपाइ अरुले आफ्ना नाममा दर्ता गरिसके हामी नै अनभिज्ञ छौं । हामीले बेवास्ता गरेका हाम्रा मूल्यवान वस्तु अरुले आफ्नो बनाइसकेका पनि हुन सक्छन् । त्यसको खोजि पनि हामीले गरेका छैनौँ । अहिलेको फेशनको युगमा हाम्रा कति पोशाकहरु अन्य देशका फेशन व्यापारीले परिमार्जित गरेर मालामाल दाम कमाइरहेका पनि हुन सक्छन् । त्यसको हेक्कापनि हामीलाई छैन ।
विविध जातजाति, भाषा भाषी र संस्कृति बोकेको देशमा कुनै एक जाति, भाषा भाषी, समुदाय र सस्कृतिको पहिचान झल्काउने पोशाकले राष्ट्रिय एकता, समान विचार, राष्ट्रिय गौरव र अपनत्वको महसुस गराउन सक्दैन । सबैको साँस्कृतिक पहिचान झल्किनु पर्छ । त्यसले मात्रै कम्तिमा साँस्कृतिक एकता कायम गराउन सक्छ । सबैलाई अपनत्वको महसुस गराउन सक्छ । त्यसैले, पुष २७ लाई राष्ट्रिय पोशाक दिवशका रुपमा मनाउन खोजिएको हो । यो दिन मुलुकभरका सबै समूदायले आआफ्ना पोशाक वा आफूलाई मन परेको समुदायको पोशाकको प्रवर्धन गर्न सक्छन् । यस्ता पोशाकहरुलाई विश्वभरि फैलाउन सके विश्वभरिका पोशाकका पारखी, डिजाईनकर्ता, फरक खाले पोशाकका व्यापारी र साँस्तृतिक विविधताको अध्ययन अनुसन्धन गर्न चाहनेका लागि पनि यो सुनौलो अवसर बन्न सक्छ । यस्ता पोशाकहरुका बारेमा सकेसम्म धेरै जानकारी खोजेर सार्वजनिक गरिनुपर्छ ।
एउटै मौषम, एकै याम र समयमा पनि हाम्रो देशमा मौसम र भौगोलिक विभिन्नताका कारणले फरक फरक पोशाक लगाउनुपर्ने अवस्था छ । हाम्रा विविध समूदायले तराईको गर्मीका याममा लगाउने पातला लुगा र हिमाली क्षेत्रका विविध समूदायले लगाउने बाक्ला लुगाहरु अन्य हिमाली र गर्मी याममा बस्ने देशका नागरिकका लागि महत्वपूर्ण पहिरन बन्न सक्छन् । ति पोशाकहरुलाई विश्वभरि सार्वजनिक गरिदिने हो भने हाम्रा विविध पोशाकहरुको विश्व बजारमा माग बढ्न सक्छ । ति पोशाकहरु नयाँ फेसन र आधुनिक चाहना अनुसार परिस्क्रित वा परिमार्जन गरेर बैदेशिक मुद्रा कमाउन सक्ने माध्यम बन्न सक्छ । हाम्रा हिमाली क्षेत्रमा जादो याममा लगाउने न्याना पोशाक युरोपको कठ्यांग्रिँदो जाडोमा बस्नेहरुका लागि महत्वपूर्ण बन्न सक्ने संभावना छ । विश्वभरि मानव सभ्यता र संस्कृतिको अध्ययन अनुसन्धान गर्नेहरुका लागि आकर्षण बन्न सक्छन् । यस्ता पोशाकहरुको महत्व ति पोशाक लगाउने समुदायसित जोडिएकाले साँस्कृतिक पर्यटनको विकासका लागि पनि महत्वपूर्ण बन्न सक्छन् ।
यस्ता पोशाक लगाउँदा अझ हरेक नागरिकले आफ्नो समूदायको भन्दा फरक समूदायका पोशाक लगाइदिने हो भने भातृत्व, भाईचारा, सहनशिलता र अरुको संस्कृतिप्रति आदर र सम्मान बढ्छ । ति पोशाकका धार्मिक, सामाजिक, भौगोलिक, साँस्कृतिक पाटाका बारेमा सार्वजनिक गर्न सके आफ्नै देश र बाहिरी मुलुकका नागरिकका लागि पनि आकर्षणको विषय बन्छ ।
विश्व बजारमा नयाँ साजसज्जाका वस्त्रहरुको माग वर्षेनी बढ्दो छ । नयाँ डिजाईनका वस्त्रहरुको आविष्कार गर्न करोडौँ खर्च गरिन्छ । ईटालीको मिलान, अमेरिकाको न्युयोर्क, फ्रान्सको पेरिस लगायतका शहरमा वर्षै पिच्छे फेशन सोहरु आयोजना गरिन्छन् । तिनले आफ्ना शहरलाई फेशन सिटीका रुपमा विकास गर्न करोडौँ रकम खर्चिरहेका छन् । नयाँ डिजाईनका वस्त्रहरुलाई विश्व बजारमा लैजाने उद्देश्य तिनको हुन्छ । हामीले हाम्रा विविध खाले पोशाकहरुलाई ति फेशनपारखीहरुका आँखामा पार्न सके आम्दानीको स्रोत बन्न सक्ने संभावना छ । त्यसका लागि हाम्रा पोशाकहरुको प्रचारप्रसार हुनुपर्छ । विश्वभरिका नागरिकलाई हाम्रो पोशाक चिनाउने महत्वपूर्ण पाटो अन्तर्राष्ट्रिय पोशाक दिवस पनि हो । हाम्रो पोशाकको प्रचारप्रसार सँगसँगै हाम्रो देशमा भएका पर्यटकीय आकर्षण, हाम्रो विविध संस्कृति र समुदायका बारेमापनि विश्वभरि प्रचार हुन्छ ।
त्यसैले, पुष २७ लाई अन्तर्राष्ट्रिय नेपाली पोशाक दिवसका रुपमा मनाउँ । यस दिन हामीले आफ्नो देशमा पाएसम्मका हाम्रा विविध जातजति, भाषा भाषी र संस्कृति बोकेका विविध खाले पोशाकहरुको प्रचारप्रसार गरौँ ।















प्रतिक्रिया