
– माधव ढुंगेल
चीनमा माओले क्रान्ति गर्न सफल हुनु भयो, माओवाद सकिएन वरु यसले पनि विश्वव्यापी रुप लियो ।
जनताको वहुदलीय जनावाद एउटा विचार व्राण्ड हो । समाजको चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशीक भनि परिभाषित भएको र पुँजीवादी क्रान्ति आन्दोलनको मुख्य कार्यभार ठानिएको र सेना नभएको पार्टी कम्युनिष्ट पार्टी हुँदैन, राज्य सत्ता बन्दुकको नालवाट प्राप्त हुन्छ भन्ने मान्यता कम्युनिष्टप्रति स्थापित भएको वेला सिंगो कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको सिद्धान्तको रुपमा परिभाषित गर्न आम जनता, साधारण कार्यकर्ता र बुझ्नुपर्ने अन्य समुदायले समेत बुझिने भाषामा अभिव्यक्त गर्न हाइलाइट गर्ने विचार शिर्षकको रुपमा जनताको वहुदलीय जनवाद नामाकरण गरिएको हो ।
सत्रुको गतिविधिलाई नियालेर या दमनको रुपलाई हेरेर प्रतिवादको योजना वनाइन्छ । निरंकुश पञ्चायति व्यवस्था समाप्त पार्न हामी कम्युनिष्टहरुको ठूलो योगदान छ । यो राजनीतिक परिवर्तनको आन्दोलनमा एउटा महत्वपूर्ण परिवर्तन मान्नु पर्दछ भन्ने आत्मसात गरी आफ्नो योगदानलाई पुँजीकृत गरिएको विचार हो, जनताको बहुदलीय जनवाद ।
आफ्नै योगदान र बलिदानवाट प्राप्त परिवर्तनको सानो फुलवारी भित्र बसेर कम विनाश र सानो क्षतिमै ठूलो बगैचाको परिकल्पना होइन प्राप्ति नै सम्भव छ भन्ने विश्वासको मार्गदर्शन हो, जनताको बहुदलीय जनवाद ।
शान्तिपूर्ण आन्दोलनवाट एउटा सामान्य परिवर्तन मात्र होइन्, आमुल परिवर्तन सम्भव छ र हामी कम्युनिष्टहरु त्यो योग्यता राख्न सक्छौं भन्ने आत्मविश्वासको एउटा गतिशील दर्शन हो, जनताको बहुदलीय जनवाद ।
सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुन पर्दछ । जुन गतिशील र समय सापेक्ष हुन्छ भन्ने मर्मलाई बोकेको नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ प्राण र एकाइसौं शताव्दीको मार्क्सवाद हो, जनताको बहुदलीय जनवाद ।
जनताको बहुदलीय जनवाद मार्क्सवाद लेनिनवादको लोकतान्त्रीकरणको सिद्धान्त हो । अझ यसको मुलसार शान्तिपूण आन्दोलनबाट आमुल परिवर्तनको दिशा हो । आजको विशाल एमाले र आजको वाम एकताको मुलकारक जवजको सफलता हो भनेर मुक्त कण्ठले भन्न सक्नुपर्दछ । सफल भएको विचार विज्ञान पनि हो । यो समय सापेक्ष परिस्कृत हुन सक्छ तर यसको औचित्य समाप्त हुँदैन ।
कृपया जवजलाई गरुंगो भारी बोके जस्तो नठानियोस्, जसले हामीलाई एउटा जिउँदो पार्टी जीवन र विशाल घर दिएको छ । कुनै ठाउँ र सन्दर्भमा उल्लेख गरिएका शव्द र सन्दर्भको शाव्दिक व्याख्या मात्र गरेर यसको मर्मको सही व्याख्या हुन सक्दैन यसलार्ई एउटा गतिशील विज्ञानको रुपमा हेरिनु र व्याख्या गरिनु पर्दछ ।
आँगनमा आफ्नै मिहिनेतले हुर्काएको विरुवालाई फुल फलेपछि टिपेर मिल्काउने हो कि महंगो मूल्य पाउने अन्तराष्ट्रिय वजार खोज्ने हो ? हेक्का रहोस्, जनताको बहुदलीय जनवाद आफ्नै बारीमा फलेको फल हो ।
संसारमा कुनै पनि विचार सफल भएर समाप्त भएको छैन र हुँदैन पनि । मार्क्सवादको पहिलो प्रयोग गर्न लेनिनले क्रान्ति गर्नु भो, सफल हुनु भो । सफल भएर मार्क्सवाद सकिएन बरु अझै त्यसले विश्वव्यापी रुप लिन पुग्यो र मार्क्सवाद एउटा परिस्कृत विज्ञानको रुपमा व्याख्या र विश्लेषण गर्दै लगियो । चीनमा माओले क्रान्ति गर्न सफल हुनु भयो, माओवाद सकिएन वरु यसले पनि विश्वव्यापी रुप लियो ।
विचारको सफलता भनेको समाप्ति होइन बरु विश्वव्यापी रुपको आवश्यकता महसुस गरेको अर्थमा बुझ्नु पर्दछ । फेरि आफ्नै आँगनमा आफ्नै मिहिनेतले हुर्काएको विरुवालाई फुल फलेपछि टिपेर मिल्काउने हो कि महंगो मूल्य पाउने अन्तराष्ट्रिय वजार खोज्ने हो ? हेक्का रहोस्, जनताको बहुदलीय जनवाद आफ्नै बारीमा फलेको फल हो । सफलताको मुल कडिका रुपमा ग्रहण गरी विचार व्राण्ड वनाएर संसारका सामु नमुनाको रुपमा पस्किन सक्नुपर्दछ । यतिबेला जवजको औचित्य र उपादायता सकियो भनेर परिभाषित गर्नु आजको उपलव्धि र कम्युनिष्ट आन्दोलनकै अवमूल्यन गरेको ठहरिने छ र यस्तो प्रवृत्तिले हामीलाई सही मार्गमा पुर्याउन पनि सक्दैन ।
२०६२/६३ को परिवर्तन पछि लगत्तै दश वर्ष युद्धमा होमिएर आएका माओवादीका अध्यक्ष कमरेड प्रचण्डवाट जवजप्रतिको विचार भावको विश्लेषण गर्दा २०६३ जेष्ठमा एकजना पत्रकार विनोद ढुंगेलसँगको साप्ताहिक पत्रिकाको अन्तवार्तामा कमरेड प्रचण्डले घुमाउरो भाषामा शान्तिपूर्ण बाटोबाट एमालेहरु आए, हामी सात डिभिजन जनसेना निर्माण गरेर ससस्त्र जनयुद्ध गरेर आयौैं तर आउने ठाउँ चाहि एउटै हो भन्ने स्वीकार गरेका थिए ।
२०६३ साल आषाढमा प्रकाशित नेपाल पत्रिकाका सम्पादक किशोर नेपालसँग दिएको अन्तर्वार्तामा प्रचण्डले मदन भण्डारीप्रति सकारात्मक भाव प्रकट गरेका छन् । २०६३ साल आषाढको दोश्रो साता प्रकाशित कान्तिपुर पत्रिकामा कमरेड प्रचण्डले मदन भण्डारी ठीकै हुन, जवज पनि ठीक थियो तर एमालेका नेताहरु ठीक भएनन् भन्ने अभिव्यक्ति दिएका थिए । यो सन्दर्भ वास्तवमा जनयुद्धमा सफल भएर आएको आफ्नो हात माथि पारेर उच्च मनोबलका साथ अद्वितिय शक्तिको महसुस गरेको माओवादी आन्दोलनका कमाण्डरको विचार र भावको चर्चा गरिएको हो । यसै भावको वरिपरि तत्कालीन माओवादीले एकाइसौं शताव्दीको जनवादको परिकल्पना गरेको थियो भनेर सहज अनुमान गर्न सकिन्छ ।
आज एमाले र माओवादी केन्द्र वीच पार्टी एकताको सन्दर्भ छ । विचारको पनि बहस होला ! नामाकरण के दिने छलफल होला ! त्यो अर्कै विषय हो तर एउटा सत्य चाँहि के हो भने जनताको बहुदलीय जनवाद सफल भएको विचार हो र शान्तिपूर्ण आन्दोलनवाट आमूल परिवर्तन सम्भव छ भन्ने मान्यता स्थापित गराएको जबजको भाव र मर्मलाई जोगाउनु पर्छ तर खेर फाल्नु हुँदैन । आज पार्टी एकताभित्र पनि जबजको भाव छोड्नुपर्ने परिस्थिति हुन्थ्यो भने वामगठवन्धनको आवश्यकता बनेर उपस्थित हुने बेला नभैसकेको हुने थियो यो चाँहि सबैले बुझ्नु पर्दछ । आजको पार्टी एकता कमरेड प्रचण्डको मनोभूति र अनुभूतिको परिणाम पनि हो भन्न सक्नु पर्दछ ।
जनताको बहुदलीय जनवाद सफल भएको विचार हो र शान्तिपूर्ण आन्दोलनवाट आमूल परिवर्तन सम्भव छ भन्ने मान्यता स्थापित गराएको जबजको भाव र मर्मलाई जोगाउनु पर्छ तर खेर फाल्नु हुँदैन ।
हामी भित्रकै दृष्टिमा यो दक्षप्रजापतिको टाउको देखिन्छ त कहिले सिद्धान्त बन्न नसकेको कच्चा पदार्थ देखिन्छ त कहिले औचित्य सकिएको चुहिने भाँडो देखिन्छ । यो दृष्टि दोषबाट मुक्त भएर जवजको रक्षा र विकासले सहि दिशा पाउनुपर्दछ ।
कसैलाई भ्रम नहोस्, एमाले पंक्ति जवजको रक्षा र विकास चाहन्छ । परिस्कृत बनाएर संसारका सामु गौरवका साथ आफ्नो विचारका रुपमा पस्किन चाहन्छ । सफल विचारको रुपमा यसलाई गतीशील वनाउँदै समयको गतिसँगै हिडाउन चाहन्छ तर यसको मूल मर्म र भाव जिवन्त छ भन्ने स्थापित गर्न चाहन्छ ।
अन्त्यमा, चेतनाले समृद्ध भएको मानवलाई निरंकुशता र अधिनायकवादले होइन समृद्ध र परिस्कृत लोकतन्त्रले मात्रै नेतृत्व गर्न र अविभावकत्व दिन सक्दछ भन्ने मान्यता जवजको भाव र मर्म हो कि होइन ? के यो भाव र मर्मको औचित्य सकियो त !
शान्तिपूर्ण आन्दोलनको माध्यमबाट समाजवादको यात्रा तय गर्न सकिन्छ कि सकिँदैन ? यो शान्तिपूर्ण आन्दोलनले राजतन्त्र मात्रै फाल्न सक्ने हो, आर्थिक समृद्धिको गति र समाजवाद निर्माणको आधार तयार गर्न बाटो बदल्नु पर्ने हो ? होइन भने किन गरुंगो भारी बोके जस्तो गरी बिसाउन खोजिन्छ जवजलाई !
सफलता प्राप्त गरेको, जित हासिल गरेको, जिउँदो प्राण बनाएको, विशाल आकार ग्रहण गरेको, आममा आकर्षण भाव प्रकट गराएको विचार जवजलाई विचार व्राण्ड वनाउन नसकिने हो !
हामीले पार्टी भित्र अपनाएको लोकतान्त्रिक पद्धति र पार्टी बाहिर अपनाएको लोकतन्त्रको निष्ठाले हाम्रो भविष्य उज्यालो बनायो र जनता र अन्तराष्ट्रिय समुदायप्रतिको विश्वास कमायो, यो जबजको स्पिरिट होइन !
अनि कसरी भयो जवजको औचित्यको समाप्त …….!!!















प्रतिक्रिया