३० आश्विन २०८३, शुक्रबार

राप्रपालाई ‘प्रजाति’ बनाउने दोषी को ?

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– किरण गिरी

नेपालमा बहुदलीय प्रजातन्त्रको पुनः स्थापनासंगै २०४७ साल जेष्ठ १५ गते स्थापना भएको राप्रपा अनेक आरोह र अवरोहहरू पार गर्दै २०७४ साल मंसिर २१ गते राष्ट्रिय राजनीतिबाट अस्तित्व बिहीन हुनु पुगेको छ ।

राप्रपा थापा र राप्रपा चन्द नामक २ राजनीतिक दल इतिहासको अनेक आरोह अबरोहहरू पार गर्दै सबभन्दा बढी टुटफुट र विभाजनको मारमा प¥यो । सायद राप्रपा नामक दल नेपालको राजनीतिक इतिहासमा सबभन्दा बढी विभाजन र एकताको रंगमञ्चमा नाटकीय पात्र बन्दै आइरह्यो । नेपाली जनमतमा १७ प्रतिशत स्थान ओगटन सफल राप्रपाले मुलुकलाई २–२ ओटा प्रधानमन्त्री १ उपप्रधानमन्त्री र दर्जनौं मन्त्रीहरू दिन सफल भयो , तर, अफू भने कहिल्यै सग्लो र डल्लो रहिरहन सकेन । आखिर यो सबको कारण के हो ? दोषी को हो त ? यसको लेखा जोखा र विश्लेषण यतिबेला नगरौं किन भने संभावना र भविषय अझै बाँकी छ ।

सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दद्वारा प्रारम्भ गरिएको राजनीतिक यात्रा कमल थापा, पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीसम्म आईपुग्दा राप्रपा लगभग विर्सजनको विन्दुमा आईपुगेको छ । यसपटक तीन वटै दल राष्ट्रिय दल बन्न सफल रहेनन् । यसको लामो सृंखला बद्ध इतिहास केलाईरहनु अब समयको बर्वादी मात्र हुनेछ ।

इतिहास र अनुभवले खारिएका यस पार्टीका नेताहरू सबल र सक्षम रहँदा रहँदै पनि आफूबीच मिलेर बस्न सक्ने दलीय संस्कार र पद्धतिको कमी रहेको देखिएको छ । एउटै राजनीतिक पृष्ठभूमि, एउटै राजनीतिक संस्कार भएका यो पार्टीका नेताहरूमा दलीय संस्कार र चरित्रको भने अभाव देखिएको छ ।

यतिबेला कसैको पनि नाम उल्लेख नगरौं । आफ्नै अहंता, दम्भ, घमण्ड र विभाजनको संस्कारका कारण आज नेपाली जनताले राप्रपा प्रजातिका ३ वटै राजनीतिक दल राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी)लाई नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संघीय संसदमा प्रतिनिधिसभामा प्रतिनिधित्व बिहीन बनाइदिएका छन् । ३ वटै राप्रपा राष्ट्रिय मान्यता प्राप्त दल बन्न सफल रहेनन् । यसको २७ वर्षीय इतिहासमा झण्डै २७ पटक टुटफुट र विभाजन अनि एकता अनि फेरि टुटफुट र फेरि पनि टुटफुट विभाजन अनि एकताको गोल चकरमा फसिनै रह्यो । व्यक्तिगतरुपमा कसैलाई पनि दोष नदिउ । दोषीलाई समय र जनताले प्रयाप्त परीक्षण गरिसकेका छन् । समझदारलाई संकेत नै काफी हुन्छ भने झै आम चुनावको जनमतले राप्रपा प्रजातिका सबै नेता र कार्यकर्ताहरूलाई उपयुक्त स्थान र हैसियतमा राखिदिएको छ ।

लेखक

यतिबेला राप्रपा (प्रजातान्त्रिक)का सबै नेता कार्यकर्ताहरूसंग ३ वटा विकल्प मात्र देखा परको छ । आफूलाई इमान्दार पूर्वक, बिना आग्रह पूर्वाग्रह अगाडि बढाउन सकियो भने नेपाली कांग्रेसको एउटा भरपर्दो सहयात्रीको रुपमा अगाडि उभिन सक्ने राजनीतिक दलको रुपमा राप्रपा प्रजाति देखा पर्न सक्दछ । यसो भनिराख्दा कसैलाई तितो लाग्न सक्दछ तर, अथार्थ यही हो ।

बिकल्प १

राप्रपा प्रजातिका ३ वटै राजनीतिक दल राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) बीच सार्थक र बस्तुगत एकता र मेलमिलाप गरेर अगाडि बढ्ने । भर्खरै निवार्चन हारेको मनस्थितिमा कसैले यो बिकल्प अगाडि सार्न अफ्ठ्यारो पर्न सक्दछ । सबै खाले आग्रह, पूर्वाग्रह, अहंता र घमण्डलाई तिलाञ्जलि दिएर एकै ठाउँमा बसेर राजनीतिक यात्रा गर्ने हिम्मत र साहस गर्न सक्नु पर्दछ । यसले अझै एक चोटी राष्ट्रिय राजनीतिमा राप्रपाको स्थान र भूमिकालाई स्थपित गर्न सक्दछ । मेहनत, इमान्दारिता र लगनशीलताको खाँचो भने प्रयाप्त रुपमा आवश्यक पर्दछ ।

बिकल्प २

तत्काल एकता र मेलमिलापको संभावना देखिदैन । किनभने उही पात्र, उही प्रकृति र उही शैलीका बीच मेलमिलाप र एकता हुनुको कुनै अर्थ रहँदैन भने तर्क बजारमा बलियो रुपमा स्थापित छ । यो अथार्थ भन्दा बाहिर होइन तर, राजनीतिमा असम्भव भन्ने केही हुँदैन । झन नेपालको राजनीतिमा हरेक संभावना खुल्ला रहेको देखिन्छ । त्यसका लागि आँट र हिम्मतका साथ राप्रपा प्रजातिका सबै नेता कार्यकर्ताहरूले तीन वटै आफ्ना राजनीतिक दलहरूलाई छुटाछुटै संगठनको रुपमा सशक्त र प्रभावकारी रुपमा अगाडि बढाउने समयले एक दिन कुनै पनि अवसर र संभावनाको ढोका अफै खोल्ने छ । त्यसको प्रतिक्षामा बस्ने ।

बिकल्प ३

देश अब दुई दलीय राजनीतिक ध्रुवमा प्रवेश गरेको छ । गत आम निर्वाचनले एमाले र नेपाली कांग्रेसलाई प्रमुख राजनीतिक शक्तिको रुपमा स्थापित गरिदिएको छ । माओवादी केन्द्रलाई मुलुकको तेस्रो राजनीतिक शक्तिको रुपमा स्थापित गर्दै राजपा नेपाल र संघीया समाजवादी फोरम नेपाललाई राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको रुपमा स्थापित गरिदिएको छ । नेपालको यो भू–धरातलीय अथार्थतालाई स्वीकार गरेर आ–आफ्नो भावना र चाहना अनुसार संस्थागत र संगठित रुपमा निर्णय गरेर नेपाली कांग्रेस र एमाले वा अन्य राजनीतिक दलहरूमा आवद्ध रहेर अगाडि बढने । ७ मध्ये ६ प्रदेश ७७ जिल्ला र सिंगो मुलुकमा लामो समयसम्म बामपन्थीको स्थिर सरकार बन्ने संभावना टड्कारोरुपमा देखा परेको छ । यो अवस्थामा संविधान र जनताको विकाससंग सहकार्य गर्नको लागि सत्ता पक्ष वा प्रमुख प्रतिपक्ष दलको छाताभित्र रहेर संगठन परिचालन गर्न सहज हुने भएकाले २ मध्ये १ गठवन्धनको नेतृत्वमा आवद्ध भएर अगाडि बढन सकेपनि राजनीतिक भविषय र अस्तित्वको बचाउ गर्न सजिल्लो हुने देखिन्छ ।

यो वास्तविक यथार्थ रुपमा आत्मसाथ गरेर आफनो राजनीतिक भाग्य र भविषय चयन गर्नु यति बेला राप्रपा प्रजातिका सबै नेता र कार्यकर्ताहरूको पहिलो र अनिवार्य दायित्व देखिन्छ । अन्यथा भावि पुस्तालाई धोका बाहेक केही हुने छैन । राप्रपा स्थापनाकालदेखि आजसम्मको यो स्तम्भकार पनि एउटा सहयात्री भएकोले यो वास्तविकतालाई उजागर गर्ने प्रयास गरेको हो । मैले बारम्बार लेख्दै र बोल्दै आएको छु । यो जहाँ पनि लागू हुन्छ र संसार भरिको राजनीतिक सत्य पनि यही हो । फुटको भविष्य हुँदैन, एकता र मेलमिलापको विकल्प हुदैन । अबको राजनीतिक यात्रा संघीया लोकतान्त्रिक गणतन्त्र नेपालको संसथागत विकासमा नै केन्द्रित हुनुपर्दछ । आधुनिक र समुन्नत नेपाल निमार्णको सहयात्री बन्न राप्रपाफेरि पनि सबल र सक्षम हुनेछ । मात्र आवश्यकता इमान्दारिता, लचक्ता र उदारता देखिन्छ । यो प्रयासको थालनी आजैबाट जरुरी देखिन्छ ।

(लेखक राप्रपा (प्रजातान्त्रिक)मा आस्था राख्छन्)