
– नारायण अधिकारी
लाखौं रुपैँया खर्च गरेर युरोप नआएको नै राम्रो हुन्छ । नत्र दुःख कष्ट पाउनु त छँदैछ, तपाईंको लाखौं रुपैंया पनि स्वाहा हुनसक्छ
पछिल्लो समय नेपाली विद्यार्थीहरु उच्च शिक्षा अध्ययनको लागि विदेश जाने चलन निकै बढेको छ । प्लसटू सम्मको शिक्षा नेपालमा हासिल गरिसकेपछि २० देखि ३० प्रतिशत विद्यार्थीहरु आयल्स कक्षा लिने गर्दछन् । यसरी अध्ययनको लागि विदेश जाने नेपाली विद्यार्थीहरु माझ अष्ट्रेलिया र युरोपका विश्वविद्यायलयहरु निकै लोकप्रिय छन् । तर उपयुक्त परामर्श नहुँदा विद्यार्थीहरुको समय र पैसा मात्रै खर्च हुने तर विदेशको कलेजमा भर्ना स्वीकृत नहुन सक्ने सम्भावना हुन्छ ।
विदेश पढन् जान चाहने विद्यार्थीहरुमध्ये केही युरोपको बेल्जियम पनि जाने इच्छा गरेको पाइन्छ । तर अध्ययनको लागि बेल्जियम जान निकै कठिन छ । त्यसकारण पनि अध्ययनको लागि युरोप जान चाहनेहरुले सबै कानुनी प्रकृयाहरु सही तरिकाबाट पुरा गरेर मात्रै जान उपयुक्त हुन्छ । १४ वर्ष अघि अध्ययनको लागि बेल्जियम जाँदाको मेरो अनुभवले यहि भन्छ ।
म सर्वप्रथम २००३ मा अध्ययनको लागि बेल्जियम पुगेका थिएँ । त्रिभुवन विश्वविद्यायलबाट बीएस्सी सकेर नपालमै एमपीए गरेपछि नेपालमै एक अन्तर्राष्ट्रिय संस्थामा आबद्ध रहेर विकाससँग सम्बन्धित क्षेत्रमा काम गरिरहेको थिएँ । थप उच्च शिक्षा लिनको लागि म बेल्जियमको सरकारी युनिभर्सिटी पुगेँ । बेल्जियममा मैले दुई विषयमा माष्टर्स डिग्री पनि गरिसकेको छु । मैले नेपालको दिगो विकास सम्बन्धी थेसिसमा डिग्री गरेको छु । नेपालमै बसेर १०/१२ वर्ष विकास सम्बन्धी काम गरेपछि बेल्जियमको शिक्षाले अझै दक्ष बनाएको मलाई महशुस भएको छ । मैले नेपालमा हुँदा दैविक प्रकोप तथा पुनर्स्थापनासँग सम्बन्धित कामहरु गरेँ । त्यसैसँग सम्बन्धीत विषयमा अध्ययन गर्न पाउने अवसर मिलेपछि नै म बेल्जियम आएको थिएँ । सो समयमा सशस्त्र द्वन्द्व चलिरहेको अवस्था भएको हुनाले नेपालमा विकासका कामहरु ठप्प जस्तै थिए । त्यसकारण पनि म नेपाल फर्कनुको कुनै औचित्य थिएन । जसले गर्दा मैले बेल्जियमा नै बसेर नेपालको विकासमा थोरै भएपनि विभिन्न संघसंस्थाहरुमार्फत काम गर्न थालेका थिएँ ।
बेल्जियममा बसेर पढ्दै गर्दा त्यहाँ स्थायी रुपमा बस्न चाहनेहरुको लागि सरकारले अवसर दियो । सोमार्फत म हाल बेल्जियममा कानुनी रुपमा नै स्थायी बासिन्दा भएको छु । हाल मेरो परिवार पनि बेल्जियमा नै छ ।
बेल्जियमा हाल ५/७ हजारको संख्यामा नेपालीहरु कानुनी रुपमा बसोवास गरिरहेका छन् । बेल्जियमको छिमेकी देशहरु जर्मनी, नेदरल्याण्ड्स, फ्रान्स, लक्जमबर्ग, पोल्याण्डलगायतका देशहरुमा पनि नेपालीहरु पुगेका छन् । त्यहाँ अधिकांश नेपालीहरु व्यापार व्यावसायमा लागेको पाइन्छ ।
बेल्जियममा कतिपय मानिसहरु वर्क परमिट अर्थात कानुनी अनुमति लिएर नै रोजगारको लागि पनि आएका छन् । हाल विभिन्न एजेण्टहरुले बेल्जियममा वर्क परमिट लिएर नै काम गर्न जाने सकिने लोभ देखाउने गरेको पाइन्छ । तर यहाँ रोजगारको लागि आउन त्यति सजिलो छैन । त्यसकारण पनि बेल्जियमा रोजगारको लागि आउन चाहने जोकोहीले पनि सम्पूर्ण कानुनी प्रकृया पु-याएर मात्रै आउदा उपयुक्त हुन्छ । अन्य विभिन्न प्रलोभनमा परि आएमा बसोवासको लागि बैधानिक अधिकार नहुने हुनाले समस्या आउन सक्छ । सरकारी तहमा रोजगारको लागि स्वीकृत भएपछि मात्रै काम गर्न जानु जरुरी छ । बेल्जियममा रोजगारको लागि निकै दक्ष कामदारले मात्रै अवसर पाउने सम्भावना हुन्छ । आफू दक्ष भएपछि मात्रै बेल्जियम अथवा युरोपका अन्य कुनै पनि देशमा रोजगार पाउन सकिन्छ ।
बेल्जियममा पढाईको गुणस्तर पनि निकै राम्रो भएको मेरो अनुभव छ । बेल्जियममा ३ वटा मात्रै सरकारी विश्वविद्यालयहरु छन् । निजी विश्वविद्यालयको तुलनामा सरकारी विश्वविद्यालयमा भर्ना हुन सके नेपाली विद्यार्थीहरुको लागि निकै राम्रो हुन्छ । निजी विश्वविद्यालयहरुमा ट्युसन शुल्क निकै धेरै हुने भएकाले नेपाली विद्यार्थीहरुलाई भिसाको समस्या हुनसक्ने मैले देखेको छु । बेल्जियमका सरकारी विश्वविद्यालयमा सरकारले नै हेर्ने भएकाले ट्युसन शुल्क कम हुन्छ । त्यसकारण पनि नेपाली विद्यार्थीहरुको लागि बेल्जियममा निजी भन्दा सरकारी विश्वविद्यालयमा अध्ययन गर्न जान म अनुरोध गर्न चाहन्छु । बेल्जियममा पढ्न जान चाहने विद्यार्थीहरुले बेल्जियमको कलेजमा भर्ना लिइसकेपछि भिसाको प्रक्रिया मिलाएर मात्रै जानुपर्छ । बेल्जियमलगायत युरोपका विभिन्न देशहरुमा पढ्न पठाउने बहानामा ठगी गर्ने मानिसहरु प्रशस्त छन् । लाखौं रुपैँया खर्च गरेर युरोप नआएको नै राम्रो हुन्छ । किनकी त्यो रकम सजिलै उठाउन अप्ठेरो छ । कतिपय देशमा अहिले अनेक प्रलोभन देखाएर नेपालीलाई काममा लगाइदिने खालका आश्वासनहरु पनि देखिएका छन् । तर, लाखौं रुपैँया खर्च गर्नुभन्दा पहिला त्यो देशको आर्थिक एवं औद्योगिक अबस्था, वर्क परमिट, भाषा आदि विषयमा बुझ्न जरुरी हुन्छ । नत्र दुःख कष्ट पाउनु त छँदैछ, तपाईंको लाखौं रुपैंया पनि स्वाहा हुनसक्छ ।
(बेल्जियमका नेपाली अगुवा अधिकारीसँग दैनिक नेपालका हेम रोकाहाले गरेको कुराकानीमा आधारित)















प्रतिक्रिया