लण्डन, १८ मंसिर । गेटाफेले ला लिगामा दोस्रो स्थानको भ्यालेन्सियालाई १–० ले पराजित गरेको छ । भ्यालेन्सियाको यस सिजन अपराजित यात्रा समेत टुङ्गिएको छ । यसले शीर्ष स्थानको बार्सिलोनालाई भने फाइदा पुगेको छ ।
खेलको २५औँ मिनेटमा माउरो अरामबरी दोहोरो पहेँलो (रातो) कार्ड खाँदै मैदान बाहिरिएपछि गेटाफे दश खेलाडीमा झरेको थिए । उनले चार मिनेटको अन्तरमा दुई पहेँलो कार्ड खाए ।
त्यसका बावजुत पनि गेटाफेले घरेलु मैदानमा विपक्षीलाई गोल गर्न दिएन र दोस्रो हाफमा आफैँ गोल गर्न सफल भयो । ६६औँ मिनेटमा मार्केल बेरगाराले गरेको गोल नै गेटाफेलाई ३ अंक दिलाउन पर्याप्त बन्यो ।
सिजनको पहिलो हारपछि भ्यालेन्सियाले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी कम पार्ने मौका गुमायो । १४ खेलबाट अपराजित रहदै ३६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा आसिन छ भने भ्यालेन्सिया ३१ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।
सिजनको पाँचौ जितपछि गेटाफे १९ अंक जोडेर रियल सोसिडाडलाई गोल अन्तरमा पछि पार्दै आठौँ स्थानमा उक्लेको छ ।
ला लिगाकै अर्को खेलमा छैटौँ स्थानको भियारियाल लेगानेससँग ३–१ ले पराजित भएको छ । – एजेन्सी















प्रतिक्रिया