सिरहा, ९ मंसिर । सिरहाको निर्वाचन क्षेत्र नंं ४ को मिर्चैया चौकमा रहेको वाम गठबन्धनको संयुक्त कार्यालयमा वम विस्फोट भएको छ । दुईतले कार्यालय भवनको छतमाथि शुक्रबार विस्फोट भएकोले खासै क्षति भने हुन पाएन ।
वाम गठबन्धनका प्रतिनिधी सभाका उम्मेदवार पूर्व कानून मन्त्री तथा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य अजय शंकर नायक र प्रदेश सभा ख का उम्मेदवार तथा माओवादी केन्द्र कै पोलिटव्युरो सदस्य दिलीप साहको चुनावी अभियान यसै कार्यालयवाट संचालित छ ।
विस्फोटन भएको स्थानवाट जयकृष्ण गोइतद्वारा नेतृत्व गरिएको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ ।
धनगढीमाई नगरपालिका ७ फूलकाहाकट्टी गाउँमा घरदैलो गर्न गएका संघीय समाजवादी फोरमका कार्यकर्ताहरु चढेको बा ३ च ७६६१ नं. को जीपमा कुकर वम फेला परेको छ ।
गाडीवाट ओर्लेर घरदैलो गर्न गएका कार्यकर्ताहरु फर्केर गाडी चढ्न आउँदा पछाडीको सिटमा शंकास्पद व्याग राखिएको देखिएको र खोलेर हेर्दा कुकर देखे पछि प्रहरीलाई खवर गरिएको थियो ।
ईलाका प्रहरी कार्यालय गोलवजारका प्रहरी निरीक्षक राजेश सुवेदीले कुकर वम भएको र निष्कृय पार्न नेपाली सेनाको टोली बोलाईएको जानकारी दिए ।
विस्फोटन वम फेला परेको घटनाले र आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जाँदा सिरहामा पनि सुरक्षा चुनौति थपिएको छ । उम्मेदवार तथा निर्वाचन प्रचार अभियन्ताहरुको सुरक्षा गर्न सुरक्षा निकायलाई फलामे च्यूरा हुँदै गएको छ ।











प्रतिक्रिया