काठमाडौं, ८ मंसिर । नेकपा एमाले अध्यक्ष केपी ओलीले एक झोला पैसाले घर किन्दैमा स्थानीय नहुने तर्क गरेका छन् ।
प्रधानमन्त्री पत्नी एवं कैलाली क्षेत्र नम्बर ५ की कांग्रेस उम्मेदवार आरजु राणा देउवातर्फ लक्षित गर्दै ओलीले एक झोला पैसाले घर किन्दैमा स्थानीय नहुने टिप्पणी गरेका हुन् ।
शुक्रबार संयुक्त वाम गठवन्धनद्वारा धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने– ‘केही मान्छेले काठमाडौंबाट पैसाको थैलो बोकेर मत यहीँको भएँ भन्नलाई घर घरेडी किनेका छन । एक झोला पैसाले घर किन्दैमा यहाँको भइन्छ र ?’
प्रधानमन्त्री देउवा पत्नी आरजुप्रति व्यंग्य गर्दै ओलीले अगाडि भने, ‘धन्न हो कांग्रेसको लोकतन्त्र ! माथितिर श्रीमान् अलि तल श्रीमती । छोरा अलि सानो छन्, नत्र उनीपनि उम्मेदवार हुन्थे ।’
कैलाली ५ का वाम गठवन्धनका उम्मेदवार नारदमुनी रानालाई जिताउन आह्वान गर्दै ओलीले भने– ‘१०४ वर्ष शासन गरेका राणाका सन्तानले भन्दा यहाँका थारुले जित्नु आवश्यक छ ।’
एमाले अध्यक्ष ओलीले श्रीमतीलाई जिताउनकै लागि प्रधानमन्त्री देउवाले प्रहरी अधिकारीदेखि सीडिओहरु फेरिरहेको आरोप पनि लगाए । ‘सरकारी कर्मचारी दुई दिने सरकारका नोकर होइनन्,’ ओलीले भने, ‘सबैको भूमिका निश्पक्ष हुनुपर्छ । एकाध मान्छेको सेवामा इमान छोड्न र कानुन तोड्न काम गर्नु हुँदैन ।’













प्रतिक्रिया