१२ मंसिर २०८३, शनिबार

राजपाको घोषणापत्र: विवाहमा महिलालाई आधा तोला सुनको मंगलसुत्र

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोषणापत्र सार्वजनिक गर्दै राजपा नेपालका नेताहरु ।

महोत्तरी, ७ मंंसिर । राष्ट्रिय जनता पार्टी नेपाल राजपाले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि बिहीकार चुनावी घोषणापत्र सार्वजनीक गरेको छ । महोत्तरीको जलेश्वरमा एक कार्यक्रम गरी राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेता राजेन्द्र महतोको उपस्थितिमा ‘पहिचान, अधिकार र सम्मान, राजपा नेपालको दृढ अडान’ भन्ने चुनावी मुल नारासहित १५ बुँदे चुनावी प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनीक गरिएको हो ।

घोषणापत्रमा मधेस, थरुहट तथा पहिचान र अधिकारका लागि भएका हरेक विद्रोह र आन्दोलनका क्रममा शहादत दिएका र घाईते भएका हरेक जिवित र मृत शहिदहरुको सपना साकार पार्न, नेपालबाट सबैखाले विभेदको काुननी अन्त्य गर्दै सबै नेपालीको परिचयलाई सम्मान गर्ने, सबैको अधिकार सुरक्षित गर्ने, प्रदेशको सिमांकन सच्याउने, र राष्ट्र निर्माणको गहन अभिभारामा सबैलाई समावेश गराउने गरी संविधानलाई पूर्णता प्रदान गर्न र देशमा जारी दशकौँ लामो राजनीतिक अस्थिरता र अनिश्चिततालाई सधैँका लागि अन्त्य गर्दै मुलुकलाई शान्ति, समृद्धि र सफलताको पथमा डो¥याउने समावेशी र सक्षम राज्य व्यवस्थाको जग बसाल्न राजपा नेपालको चुनाव चिन्ह छातामा मत हाल्न आह्वान गरिएको छ ।

राजपा नेपालका चुनावी एजेण्डाहरु:

राजपाले आफ्नो घोषणापत्रमा अति आवश्यक विषयहरुलाई सर्वाधिक महत्वको सूचीमा राखेको छ । पहिचान, स्थान, अधिकार र स्वाभिमानको संघर्षलाई जारी राख्दै देशको चौतर्फि विकास द्रुत गतिमा हुनुपर्ने भन्दै राजपाले राज्यले होच्याएको, अलपत्र पारेको र पूर्ण रुपमा बेवास्ता गरेको मधेस र थरुहट क्षेत्रको विकासलाई अबको सर्वाधिक प्राथमिकताको विषय बनाउने जनाएको छ ।

बाढि पहिरोको स्थायी समाधान, हुलाकीमार्ग, थप सडक संजाल र रेल सेवाको विस्तार, काठमाण्डौं–निजगढ द्रुतमार्ग र निजगढ दोश्रो अन्तराष्ट्रिय विमानस्थल, जनकपुर–अन्तराष्ट्रिय पर्यटन स्थल एवम् विश्व हिन्दु केन्द्र, विरगन्ज–नेपालको आर्थिक कारोवार र व्यापारको प्रमुख केन्द्र, विराटनगर, भैरहवा र नेपालगंज नेपालको आर्थिक विकासको मेरुदण्ड, लुम्बिनी–अन्तराष्ट्रिय बुद्धिष्ट केन्द्र, सूचना प्रविधि र इन्टरनेट सेवाको विस्तार, युवामैत्री कार्यक्रम, महिलामैत्री कार्यक्रम, किसानमैत्री कार्यक्रम, गरिबमैत्री कार्यक्रम, वैदेशीक लगानी आकर्षण र निजीक्षेत्रलाई प्रोत्साहन, शहिद स्तम्भ एवम् स्मारक निर्माण र हरेक क्षेत्र, विकास क्षेत्र भन्ने प्रतिबद्धता जनाएको छ ।

राजपाले हरेक बर्ष तराई–मधेसको समथर मैदानमा आउने बाढीको स्थायी समाधानका लागि वैज्ञानिक योजना बनाएर बाँध र कल्भर्ट निर्माण, बर्षा यामको पानीको उचित निकास, चुरेभावरको प्रभावकारी संरक्षण एम्ं व्यापक वृक्षारोपणको कार्यक्रम सञ्चालन गर्ने र तराई मधेसको जनतालाई प्रकोपबाट सधैँका लागि मुक्त गर्न शसक्त कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

त्यस्तै, सहज आवागमन र सर सामानको ढुवानीका लागि हुलाकी मार्गलाई तराई–मधेस लोकमार्ग नामांकरण गर्दै यथाशीघ्र सम्पन्न गरी थप सडक सञ्जालको निर्माण गर्ने, पूर्व–पश्चिम राजमार्गको समानान्तर आधुनिक रेलमार्गको निर्माण गर्ने राजपाको प्रतिवद्धता छ ।

जनकपुर अन्तर्राष्ट्रिय पर्यटन स्थल एवं विश्व हिन्दू केन्द्रलाई प्राथमिकता दिंदै जनकपुरको बृहत र चौतर्फि विकासका लागि दक्ष र अनुभवी विशेषज्ञहरुको सहयोगमा आधुनिक गुरुयोजना तयार गरी जनकपुरलाई अन्तराष्ट्रिय पर्यटन र अध्यात्मिक केन्द्रको रुपमा विकास गर्ने, जनकपुर विमानस्थललाई सुरुमा क्षेत्रीय र पछि अन्तराष्ट्रिय आधुनिक विमानस्थलको रुपमा स्तरोन्नती गर्ने राजपाको घोषणापत्रमा उल्लेख छ ।

वीरगन्जलाई आधुनिक शहरको रुपमा विकास गर्दै यसलाई बैकिङ, विमा, सेयर कारोवार र अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बनाउने, नयाँ उद्योगहरु खोल्न निजी क्षेत्रलाई आकर्षित गर्ने सेवा, सुविधा र छुटको योजना बनाइने, वीरगञ्जलाई विश्वका अन्य व्यापारीक र आर्थिक कारोवार हुने सहरहरुसँग सरकारी स्तरमै जोडिने घोषणापत्रमा समावेश गरिएको छ ।

विराटनगर, भैरहवा र नेपालवगन्ज नेपालको आर्थिक विकासको मेरुदण्डका रहेको भन्दै राजपा नेपालले निर्वाध विद्युत आपूर्ति, औद्योगिक विकासको व्यवस्थापन, औद्योगिक सडकको निर्माण एवं स्तरोन्नती, श्रमिक विकास, प्राविधिक प्रशिक्षण र राजनीतिक हस्तक्षेपको समाप्ति लगातका दिशामा ठोस कार्य गर्दै उद्योगहरुको सम्बन्धन र थप विस्तारको कार्यक्रमहरु बनाउने जनाएको छ । राजविराज, सिराहा, जलेश्वर, मलङ्गवा, गौर, कलैया, नवलपरासी, तौलिहवा, नेपालगञ्ज, तुलसीपुर, गुलरीया र महेन्द्रनगरमा एकिकृत सहरी विकास कार्यक्रम लागु गरी आधुनिक सहरको निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।

लुम्बिनी विकास गुरुयोजनालाई तत्काल थप प्रभावकारी बनाउने, ढिलो भएमा योजना र निर्माण कार्यहरुलाई यथाशिघ्र सम्पन्न गर्ने, सुरु नभएका कार्यक्रमहरुलाई अविलम्ब प्रारम्भ गर्ने, राजनीतिक हस्पताक्षेपलाई निरुत्साहित गर्ने, सुस्त गतिमा निर्माण हुँदै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई शीघ्र सम्पन्न गरि सञ्चालनमा ल्याउने राजपाको प्रतिबद्धता छ ।

राजपाले सूचना प्रविधि र इन्टरनेटको सेवा उपलब्ध नभएका वा गुणस्तरीय नभएका ठाउँहरुमा सुलभ र सस्तो इन्टरनेट सेवा उपलब्ध गराउने, सरकारी र सार्वजनीक रुपमा सञ्चालित माध्यमिक, उच्च माध्यमिक एवम् व्यवासायीक शिक्षा केन्द्रहरुमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्ने जनाएको छ ।

उच्च शिक्षा र वैदेशिक रोजगारमा जान चाहने युवाहरुका लागि धरौटी सहित ऋण उपलब्ध गराउने, बैंक र वित्तिय संस्थाहरुलाई कुल ऋण प्रवाहको कम्तिमा १ प्रतिशत युवाहरुको नयाँ कारोवारमा लगानी गर्नुपर्ने व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ । विराटनगर, जनकपुर, वीरगञ्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा आधुनिक क्रिकेट मैदानको निर्माण गर्ने, त्यसमध्ये कुनै दुईलाई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने रंगशाला ९क्ष्लतभचलबतष्लब िक्तबमष्गm० को रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ ।

‘महिलाको लागि हरेक उच्च शिक्षा निशुल्क गर्ने, हरेक नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविष्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा १० हजार रुपैयाँ अनुदान दिर्घकालिन मुद्धती खाता खोलि बैंकमा जम्मा गरिनेछ, जुन बालिका १८ बर्ष पुगेपछि आवश्यकता अनुसार व्याजसहितको एक मुस्ट रकम प्रयोग गर्न सक्नेछन्’ घोषणापत्रमा भनिएको छ । कम्तिमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो वरावरको रकम प्रदान गर्ने समेत राजपाले प्रतिबद्धता जनाएको छ ।

किसानमैत्री कार्यक्रमलाई जोड दिँदै राजपालो कृषि क्षेत्रको आधुनिकीकरण, नयाँ प्रविधिको प्रयोग, पैदावारको औद्योगिकीकरण, मल खाद्यको सस्तो र सहज उपलब्धता, उत्पादन बृद्धि र विविधिकरण, सरलीकृत कृषि ऋण तथा नयाँ बजार विस्तार आदि उपायहरु अबलम्बन गर्दै किसानको जीवन सुखद बनाउनुको साथै देश विकासमा कृषि क्षेत्रको योगदानलाई बृद्धि गर्ने उल्लेख गरेको छ ।

नेपालको कुल जनसंख्याको लगभग एक चौथाई गरिबीको रेखामुनि रहेका अति बिपन्न नेपालीको जीवनलाई थप कस्टकर हुनबाट बचाउन त्यस्ता हरेक नेपालीको पहिचान गरी तिनलाई सहुलियत मूल्यमा चामल र अन्य दैनिक सामग्री सहज उपलब्ध गराउने व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ ।

वैदेशिक लागनी आकर्षण र निजीक्षेत्रलाई प्रोत्साहन दिन विधिको शासन, नीतिगत स्थिरता, प्रभावकारी अनुगमन, वैदेशिक लागनीको वातावरण निर्माण, राजनीतिक हस्तक्षेपबाट मुक्ति र यथेष्ट प्रोत्साहन प्रदान गर्दै निजी क्षेत्रको विकास, विस्तार र राष्ट्र निर्माणमा योगदान गर्ने सहज स्थितीको सिर्जना गर्ने प्रतिबद्धता पनि राजपाले जनाएको छ ।

मधेश आन्दोलन, थरुहट आन्दोलन र अन्य आन्दोलनहरुमा आफ्नो ज्यानको आहुति दिने अमर शहिदहरुलाई श्रदाञ्जली अर्पण गर्न, तिनको त्यागलाई प्रेरणाको श्रोतको रुपमा रुपान्तरण गर्न र तिनको योगदानलाई चिर स्मरणीय बनाउन शहादत दिएका हरेक ठाउँमा शहिद स्तम्भ र शहादत भएका हरेक जिल्लामा शहिद स्मारकको निर्माण गर्ने, शहिदको लागि गरिएको हरेक प्रतिबद्धता पुरा गर्ने, शहिद परिवारको उचित हेरचाह, घाइते र अंगभंग भएकाहरुको उपचार र रोजगारीको व्यवस्था गर्ने राजपा नेपालको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

हरेक क्षेत्र, विशेष क्षेत्र भन्दै राजपाले मिथिला, भोजपुरा, अवध र थारु समुदायको ईतिहास, भाषा, संस्कृति र कलालाई संरक्षण गर्ने उदेश्यले उपयुक्त स्थानहरुमा संग्रहालय र अनुसन्धान केन्द्रहरुको स्थापना गर्ने, प्रदेश नम्बर–२ मा निर्माण गरिने पहिलो दुईवटा पाँचतारे होटेललाई करमा पूर्ण छुट दिने, एक अर्ब भन्दा बढी लगानीको अन्य कुनैपनि उद्योगलाई करमा ५० प्रतिशत छुट दिने प्रतिबद्धता घोषणापत्रमा गरेको छ ।

तिन चरणका स्थानीय तह निर्वाचनमा पहिलो र दोस्रो चरणको निर्वाचनलाई बहिस्कार गरेको राजपाले संविधानमा केही संशोधन र काुननमा केही सुधारपश्चात काँग्रेस र माओवादी केन्द्रले संविधानको पूर्णताका लागि निर्वाचनपछि बन्ने प्रतिनिध सभामा दुई तिहाई मत पु¥याई आवश्यक संशोधनका लागि सघाउने प्रतिबद्धता व्यक्त गरेपछि राजपा नेपालले प्रदेश नम्बर २ मा भएको तेस्रो चरणको स्थानीय चुनावमा भाग लिएको थियो ।

घोषणासभामा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधानको पूर्णता, समावेशिताको व्यवहारिक सुनिश्चितता, नागरिकता र भाषिक अधिकारको प्राप्ति एवम् समग्र मधेस र थरुहटको द्रत विकासको चाहनासँग आफूहरुले कुनै सम्झौता नगरेको र कदापि नगर्ने स्पष्ट पारे । आफूहरुको संघर्ष जारी रहेको पनि उनले बताए ।

दोस्रो संविधानसभाको निर्वाचनपछि अनेकौँ अवसर, प्रलोभन र दबाबका बाबजुद राजपा नेपाल स्वयम् वा यसको गठन हुनुभन्दा पहिले यसको कुनैपनि घटक दल सरकारमा नगएको स्मरण गराउदै ठाकुरले त्यो आफूहरुका लागि सत्ताभन्दा माथि मुद्धा रहेको कुराको प्रमाण रहेको उनले बताए ।

आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचन पनि आफूहरुको जारी संघर्षको एउटा महत्वपूर्ण कडी रहेको उल्लेख गर्दै उनले पहिचान, सम्मान, स्थान र स्वाभिमान प्राप्तिको निर्वाचन रुपी लडाईमा मतदाताहरुको मत आफूहरुका लागि सबैभन्दा ठूलो हतियार हुने ठाकुरले बताए । त्यसैले छाता चिन्हमा भारी मतदान गरी राजपा नेपाललाई अत्यधिक मतले धेरै भन्दा धेरै स्थानमा विजयी गराउन उनले मतदाताहरुलाई अनुरोध गरेका छन् ।