१२ मंसिर २०८३, शनिबार

दिलबहादुरलाई मिश्र तथा कोइरालालाई आफ्नैको डर, फाइदा वाम गठबन्धनलाई

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, ७ मंसिर । लमजुङबाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा रहेका कांग्रेस नेता दिलबहादुर घर्तीलाई बागी उम्मेदवारको दौडधुपले तनाव दिएको छ ।

लमजुङको सुन्दरबजार नगरपालिका स्थायी घर भएका द्वारिकाप्रसाद मिश्र पार्टीसँग बार्गेनिङ गर्ने नियतले मात्रै हैन, चुनाव जित्नकै लागि बागी उठेपछि घर्तीलाई मिश्रको उम्मेदवारी महँगो पर्ने देखिएको हो ।

द्वारीका आफू मात्रै चुनावी मैदानमा छैनन्, तरुण दलको पूर्व जिल्ला सचिव उत्तम गुरुङलाई प्रदेशसभा ‘ख’ बाट साथै लिएर चुनाव लडेका छन् । सुन्दरबजार नगरपालिका–९ स्थित सिउँडीबारमा मिश्रले निर्वाचन परिचालन समितिको कार्यालय खोलेका छन् ।
दुई चारवटा गाडी लिएर हरेक दिन चुनाव प्रचारमा हिँड्ने मिश्रले लमजुङका आधाजसो भू–भागमा चुनाव प्रचार गरिसकेका छन् ।

गएको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले टिकट बेचेको आरोप लगाउँदै मिश्रले बागी उम्मेदवारी दिएका थिए । ‘स्वतन्त्र उम्मेदवार’ को ब्यानरमा ठेकी चिन्ह लिएर सुन्दरबजार नगरपालिकाको मेयर लडेका मिश्रले दुई हजार ७६७ मत पाएका थिए ।

नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार बद्रीमान श्रेष्ठले भने तीन हजार २ सय मात्र मत ल्याएका थिए । मिश्रले कांग्रेसको भोट काटेपछि एमालेका जनकराज मिश्र मेयरमा निर्वाचित भएका थिए ।

‘कांग्रेसभित्र भएको आपराधिक, अलोकप्रियता, कमिसन र दलालीको विरुद्ध हाम्रो उम्मेदवारी हो’, मिश्रले भने, ‘हाम्रो जित सुनिश्चित छ ।’ दिलबहादुरका विरुद्ध बागी उम्मेदवारी दिएसँगै जिल्ला कार्यसमिति लमजुङले उनलाई पार्टीबाट निष्काशन गरिसकेको छ । तर, मिश्रले काग्रेसले गर्ने कारवाही आफूलाई मतलव नभएको बताएका छन् ।

मिश्रले भने, ‘हामी बीपीको चिन्तनसँग आबद्ध छौँ, हरिबोल भट्टराईहरूसँग कुरा भइरहेको छ, कारवाही गरे पनि बीपीकै अनुयायी हौँ, कांग्रेसले हाम्रो लेकप्रियतामाथि अपमान गरेको छ, बलिको बोका बनाएर छिनाउने काम गरेको छ ।’ प्रतिनिधिसभामा टेबुल चिह्न लिएर चुनाव लड्नुभएका मिश्रले कसैलाई हराउन नभएर आफैंले जित्नका लागि चुनाव लडेको दाबी गरे ।

मिश्रले स्थानीय तहको जत्ति मत ल्याउलान या नल्याउलान, विश्लेषकहरुकाअनुसार पाँचसय मात्र मत ल्याउँदापनि दिलबहादुरलाई निकै महङ्गो पर्नेछ । यद्यपी नेपाली कांग्रेसका कार्यकर्ताहरु भने मिश्रको पकड सुन्दरबजार क्षेत्रमा मात्रै भएको भन्दै उनको उम्मेदवारीले दिलबहादुरलाई कुनै धक्का नलाग्ने दाबी गरेका छन् ।

कोइरालालाई बागिसँगै आफ्नैको डर

कांग्रेसबाट प्रदेश सभा ‘ख’ का उम्मेद्वार रहनुभएका कृष्णप्रसाद कोइरालालाई पनि तरुण दलका पूर्व सचिव उत्तम गुरुङ बागिका रुपमा खडा भएका छन् । गुरुङ कोइरालालाई ‘काउण्टर’ दिँदै मिश्रसँगै प्रचारमा खटिएका छन् ।

उनले आफू चुनाव जित्ने मुडमा प्रचारमा लागेको बताए । गुरुङले ल्याउने मतले कोइलालाई ठूलै धक्का लाग्ने त छँदैछ, त्यसमा आफ्नै टिमबाट पनि असहयोग हुने खतरा बढी छ ।

स्थानीय तह निर्वाचनमा सुन्दरबजारमा बागी उम्मेदवारी दिएका मिश्रलाई उचालेको आरोप कोइरालामाथी छ । कांग्रेस कार्यकर्ताहरु मिश्रलाई बोकेको भन्दै कोइरालाप्रति असन्तुष्ट छन् । सुन्दरबजारको एक कार्यक्रममा कार्यकर्ताहरुले स्थानीय तहको निर्वाचनमा उम्मेदवार कि कांग्रेसलाई हराउन लाग्नुभएको थियो ? भनेर प्रश्न गरेपछि कोइराला अप्ठेरोमा परेका छन् ।

ती कार्यकर्ताको यस्तो प्रश्नले कांग्रेसको केही समूह कोइरालाप्रति असन्तुष्टी रहेको देखाउँछ । त्यसैले कोइराललाई यसपटक बागी मात्र हैन आफ्नै टिमबाट पनि डरको सामना गर्नुपर्ने विश्लेषकहरु बताउँछन् ।